जनकपुर उपमहानगरपालिकाका कर्मचारी आन्दोलनमा, काम ठप्प

प्रकाशित समय 6:20:00 PM
जनकपुर, २५ साउन । जनकपुर उपमहानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । उपमहानगरपालिाकाका कार्यकारी अधिकृत एवं कार्यालय प्रमुख अर्जुनप्रसाद सुवेदीमाथि हातपात गर्नेलाई कारबाही नगरेको भन्दै कर्मचारीहरु मंगलबारदेखि आन्दोलनमा उत्रेका हुन् । जनकपुर उपमहानगरपालिका कर्मचारी युनियनले मंगलबारदेखि कार्यालयको कामकाज ठप्प गरेका छन् ।
गएको साउन १७ गते एशियन विकास बैंकको सहयोगमा सञ्चालित आयोजनाको सहरी विकास मन्त्री प्रभु साह निरीक्षण गर्न आएको बेला जनकपुरको मुरलीचोकमा मन्त्रीकै सामुन्ने कार्यकारी अधिकृत सुवेदीमाथि स्थानीय बासिन्दाद्वारा हातपात भएको थियो । मन्त्रीले सरोकारवाला निकायहरु एडिबी परियोजना, विद्युत, टेलीकम, खानेपानी तथा उपमहानगरपालिकाका कर्मचारीहरुलाई निर्देशन दिई रहेको बेला कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमै बसेर मोवाइल चलाई मन्त्रीको निर्देशनलाई अवज्ञा गरेको भन्दै स्थानीय बासिन्दाले कुटपीट गरेका थिए ।
कार्यालय प्रमुख सुवेदीमाथि हातपात गरेको घटनाको एक साताभन्दा बढी बितिसक्दा पनि पटक पटक लिखित तथा मौखिक रुपमा स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउँदा समेत दोषीलाई पक्राउ गरी कारबाही नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको कर्मचारी युनियनका अध्यक्ष कृष्णकुमार झाले बताए । उनले दोषीमाथि कारबाही नभएसम्म कडा संघर्षमा उत्रिने चेतावनी दिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »