संसदको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले एमालेबाट वडाध्यक्षमा निर्वाचन जनप्रतिनिधिबाट भएको यस्तो खालको अपराधलाई ढाकटोप गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

नियन्त्रणमा लिएर निर्वाचन आयोगमा बुझाइएका कर्मचारीलाई आयोगले केही गर्न नसक्ने भनेर दिएको अभिव्यक्तिको पनि कांग्रेस सांसद थापाले आक्रोश व्यक्त गरे ।
‘एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भिड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने’, उनले भने, ‘निर्वाचन आयोगमाथि यस्ता कार्यले प्रश्न उब्जिएको छ । निर्वाचनलाई अपवित्र बनाउने आयोग र कर्मचारीमा प्रश्न उब्जिएको छ ।’
शनिबार राति बुढानीलकण्ठमा स्थानीयले एमालेबाट निर्वाचित वडाध्यक्ष र निर्वाचन कार्यालयका कर्मचारीलाई मतदाता परिचयपत्र धमाधम भरिरहेको अवस्थामा नियन्त्रणमा लिएर निर्वाचन आयोगमा बुझाएका थिए । उनीहरूलाई कारबाही गर्न सांसद थापाको माग थियो । थापा एमाले र निर्वाचन कार्यालयका कर्मचारीप्रति औँलो उठाउँदै गर्दा एमालेका सांसदहरू भने संसदमा अनौठो मानेर सुनिरहेका थिए ।
