बाढी पहिरोले विभिन्न जिल्लाको जनजीवन अस्तव्यस्त, हजारौं बस्ती डुवानमा

प्रकाशित समय 7:13:00 PM
गोलबजार, २८ साउन । अबिरल बर्षासंगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लाको जनजीवन अस्तब्यस्त बनेको छ । तराईका अधिकांश जिल्लामा सड

क बगाउँदा यातायात अवरुद्ध भएको छ भने खानेपानी, बिजुली, टेलिफोन सेवाहरु अवरुद्ध भएका छन् । बाढीका कारण पुर्वका सिरहा, सप्तरी, झापा, मोरङ, सुनसरी, रौतहट, धनुषा, बारा, नवलपरासी, दाङ लगायत जिल्लाका हजारौं घर डुबानमा परेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
बाढीका कारण सप्तरीमा १५ हजार घर डुबानमा परेका छन् । एक हजार परिवार बिस्थापित भएका छन् । खाँडो, कोसी, जिता, महुली, बलान, खडग, सुन्दरी, भलुवाही, त्रियुगा लगायतका नदीमा आएको बाढीका कारण सदरमुकाम राजविराज सहित जिल्लाका २ दर्जन बढी गाउँ डुबानमा परेका छन् । तिलाठी, सकरपुरा, मल्हनिया, कोईलाडी, वनरझुला, टिकुलिया, वरसाइन, तोपा, मौवाहा, बेल्ही, देउरी भरुवा, भेडिया, मधवापुर, लगायत २ दर्जन बढी नगर तथा गाउँपालिकाका सबै घर पानीमा डुबेको छ ।
जिल्ला प्रशासन कार्यालय, अञ्चल प्रहरी कार्यालय, जिल्ला अदालत, कृषि बिकास बैंक सुपरिबेक्षण कार्यालय, जिल्ला कृषि विकास कार्यालय लगायतका कार्यालय पनि डुबानमा परेका छन् । भारतीय पक्षले दसगजासंग जोडेर निर्माण गरेको पक्की बाँधका कारण बिभिन्न नदीमा पानी निकास हुन नसक्दा सप्तरीको मल्हनिया गाँउ तिनदिनदेखी टापुमा परिणत भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका अन्तरगत बीच कोसीमै रहेको गोबरगाढा गाउँ शुक्रबार बिहानबाट सम्पर्क बिच्छेद छ भने अधिकांशले घर छाडेका छन् । बाढीमा फसेका ५० परिवारका २ सय भन्दा बढी अझै उद्धारको पर्खाईमा छन् ।
तीन दिनदेखि भइरहेको वर्षाका कारण सिरहाका दर्जन बढी गाउँ डुवानमा परेका छन् । डिमा खोलाको पानी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका–६ गौताडीका दर्जनौं बढी घरहरु डुवानमा परेका हुन् । लगातारको वर्षाका कारण बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका–४ मा रहेका घरमा पसेको छ ।
वर्षा नरोकिएका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । वर्षाले सिरहा जिल्लाका मिर्चैया, गोलबजार, लहान, सुखिपुरका घर डुवानमा परेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । कमला नदीले कटान सुरु गरेकाले बाँध बनाउने काम भैरहेको छ ।
नवलपरासीको दक्षिणी प्रतापपुर गाउँपालिका वडा नम्बर ३ का एक एक सय घरपरिवार डुवानमा परेका छन् । भित्रि कच्ची सडक जलमग्न भएर आवगमन अवरुद्ध भएको छ । पुर्वपश्चिम राजमार्गको बर्दघाट चिसापानी सडक खण्ड बाढिले जलमग्न भएर हिडन नमिल्ने भएको छ । दाउन्नेमा गएको पहिरोका कारण रोकिन बाध्य गाडी चिसापानी खण्डमा डुबेको सडकमा अलपत्र परेका छन् ।
लगातारको बर्षाले झापाका हजारौं घर डुबानमा परेका छन् । रतुवा, कमल, बनियानी, झिलझिले, सतासी, कनकाई, विरिङ, अन्धुवा, देउनिया, निन्दा, मेचीलगायतका नदी र खोलामा आएको बाढीले जिल्लाका दर्जनौं गाउँ डुबानमा परेका छन् । सयौं घरपरिवार विस्थापित भएका छन् । जिल्लाको दक्षिणी ग्रामिण क्षेत्रका दर्जन बढी बाटोमा क्षति पुगेको छ ।
कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिकाको वडा नं. ६ र ७, विरिङ खोलाको बाढीले सोही गाउँपालिकाको १ देखि ५ नम्बर वडाका हजारौं घर, कनकाईकै बाढीले गौरीगञ्ज गाउँपालिका वडा नं. १ का ६ सय घर, कमल खोलाको बाढी गाउँ पस्दा शिवसताक्षी नगरपालिका २ धरमपुरको माझी बस्ती, शिवसताक्षीकै माइधारबाट १० घर डुवानमा परेका छन् । कनकाई नदीमा आएको बाढीले नदीको पश्चिमपट्टी यसै बर्ष बनाइएको बाँध भत्काउँदा नदी किनारका १ सय ५० परिवार कटानको उच्च जोखिममा परेका छन् ।
सुनसरीका विभिन्न स्थान डुबानमा परेका छन् । नदीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत रातो झण्डा देखाईको छ भने ३५ वटा ढोका खोलिएका छन् । स्थानीय बुढी खोला, टेंग्रा खोला, सेरा खोला बस्तीमा पस्दा ईटहरी बजार डुबानमा परेको छ । बाढीले मोरङ्क र सुनसरी जोड्ने बुढी खोलाको झोलुङ्के पुल पनि बगाएको छ ।
विराटनगर महानगरपालिका पनि जलमग्न बनेको छ । महानगरको ४, ५, ६, ११ र १२ नम्बर बडामा भल पसेर सयौं घर डुबानमा परेका छन् । ती स्थानका करिब ६ सय परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
महोत्तरीको मलिवारी स्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गुल्मको भवन डुवानमा पर्दा भन्सार नाका बन्द भएको छ । भवन डुबानका कारण त्यहाँ रहेको सशस्त्र प्रहरीका कर्मचारीलाई स्थानान्तरण गरिएको भन्सार प्रमुख केशव भण्डारीले जानकारी दिए ।
उता दाङमा रातभर भएको अविरल बर्षाका कारण बिभिन्न बस्ती डुवानमा परेका छन् । बाढीका कारण लमही–घोराही–तुलसीपुर सडकखण्ड अबरुद्ध भएको छ ।  चितवनको रियू र चितै खोलामा आएको बाढीले माडी नगरपालिको १६ घरमा क्षति पुगेको छ । त्यहाका १० वटा पुल बगाएकाले यातायात बन्द  भएकाले आवागमनमा कठिनाई भएको छ । बाढीबाट जोगाउन लगाईएको १२ वडा ड्याममा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । प्रजिअ भट्टका अनुसार ३ सय घरमा आशिंक क्षति पुगेर बस्न नहुने भएको छ ।
रौतहटकोको चन्द्रनिगाहापुर, गरुडा, शिवनगर, महम्मपुर, हर्साहा, रमौली बैरिया, जिंगडिया, ब्रम्हपुरी, लगायतका बस्तीहरु डुबानमा परेका छन् । बिभिन्न नदी खोलामा आएको बाढीका कारण जिल्लाको आधा भन्दा बढी क्षेत्र डुवानमा परेको छ ।
धनुषा सदरमुकाम जनकपुरसहित विभिन्न स्थानको जनजीवन कष्टकर बनेको छ । पूर्वी धनुषाको कमला नदीमा आएको बाढीबाट आधा दर्जन बढी गाउँ डुवानमा परेका छन् । बाँकेको डडुवा गाउँपालिका र राप्तिसोनारी गाउँपालिकाका दुई दर्जन बस्ती डुबानमा परेको हाम्रा सहकर्मीले जनाएका छन् ।
बर्दियाको बबई र मानखोलामा आएको बाढीले दुई सय १३ घर डुवानमा परेको छ । १ हजार ५ सय बिस्थापित भएका छन् । बाढीले सबैभन्दा बढी बारबर्दिया बारबर्दियामा ७१, वनगौढीमा २५, बासगढी–८ मा १५, बासगढी–४ मा २५ घर गरी १ सय १८ घर डुवानमा परेको छ । बासगढी–१ चेपाङ्गमा तुल बहादुर विकको घर बाढीले क्षती हु‘दा भाडामा बस्ने तीन जना घाईते भएका छन् । ती मध्ये नमकली विकको अवस्था गम्भिर छ । बाढीले बगाउँदा बारबर्दिया–१० का २९ वर्षीय राजेन्द्र चौधरी वेपत्ता भएको प्रहरी उपरिक्षक भरत बहादुर बोहोराले बताए ।
अविरल बर्षाले बाराको जमुनी, तियर, थलही, दुधौरा, बंगरी, पसाहा, अडुवा, लालबकैया लगायतका खहरे खोलाबाट बाढी पसेर जिल्लाको अधिकांस ठाउँ डुबानमा परेको हाम्रा सहकर्मीले जनाएका छन् । सोनाभार, जुगवा, थस्कौल, धोधड्पा, प्रगतिनगरमा रहेको आधा दर्जन पुल बगाएपछि अन्य गाउँसँगको सम्पर्क विच्छेद भएको छ ।  लगातारको बर्षाका दाङका विभिन्न क्षेत्र डुबानमा परेका छन् । तुलसीपुर–घोराही सडक खण्डको हातीखौवामा बाढीले करिव १० मीटर सडक बगाउँदा यातायात बन्द भएको छ । यसैगरी दंगिशरण–५ स्तिथ भमके खोलामा ३५ घरमा बाढी पसेको छ ।
धादिङको विकट वस्ती रुवीभ्याली–४ हिन्दुङको पुरै वस्ती जोखिममा परेको छ । गत आईतवार राती वाट वग्दै गरेको पहिरो नरोकिए पछि हिन्दुङ्क का पुरै ९६ घरपरिवारले थातथलो छाडेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »