
गाउँ तथा शहरहरुमा मनाइने दुर्गा पुजाको व्यवस्थापन एवं सहयोगका लागि एक महिना अगाडि नै विभिन्न समितिहरु बनाउने गरिन्छ । स्थानीय तह निर्वाचनमा युवाहरु आफै नगरपालिका तथा गाउँपालिकाको प्रमुख एवं वडाअध्यक्षहरुमा उम्मेदवार बन्ने घोषणा गरेका कारण नवयुवाहरुलाई जिम्मेवारी दिइएको राष्ट्रिय जनता पार्टीका जलेश्वर नगर अध्यक्ष मण्डलका नेता गजेन्द्र गुप्ताले बताए ।
जलेश्वर नगरपालिकाको दुर्गा चोकमा गत बर्षसम्म पुजा समितिका रहेका पदाधिकारीहरु यस पटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै पुजामा आर्थिक सहयोग गर्नेहरु स्वयं पनि उम्मेदवार बन्ने घोषणा गरेका कारण दुर्गा पुजा समान्य तरीकाले गरिने बाध्यता रहेको पुजा समितिका सदस्य मुरली चौधरीले बताए । जलेश्वर नगरपालिकाकै जलेश्वर महालिङ्क मन्दिर चोकमा समेत पुजा समितिको जिम्मेवारी नवयुवाहरुलाई दिइने रमण चौधरीले बताए । यस चोकमा ३५ बर्षदेखि माटाका प्रतिमा बनाई दुर्गा पुजा हुने गरेको छ ।
नगरपालिका र गाउँपालिकाहरुको अबस्थामा खासै फरक नरहेकोले दुर्गा पुजा केही हदसम्म प्रभावित हुने राकेश साहले बताए । स्थानीय तहको निर्वाचनमा जीत र हार हुने पक्षहरुको प्रभाव समेत दुर्गा पुजामा देखिने भएकोले स्थानीय सुरक्षा निकाय सचेत हुनुपर्ने देखिन्छ ।
