रौतहटमा वन्यजन्तु आतंक

प्रकाशित समय 5:59:00 PM

हात्तीको छुट्टाछुट्टै दुई हुलसंगै एक गैंडा राजमार्ग र वस्तीमा छिरे

रौतहट, १८ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–३ स्थित लमहा क्षेत्र र लमहा भन्दा पूर्व गैंडाटार क्षेत्रको जंगलमा २ हुल हात्ती डेढ सातादेखि देखा पर्न थालेका छन् । दुई छुट्टाछुट्टै समूहमा बस्दै आएको जंगली हात्तीको समूहमध्ये एकले राजमार्गमा आतंक मच्चाउन थालेको छ भने एकले गैंडाटार क्षेत्रको बस्तीमा आतंक मच्चाउन थालेका छन् ।
मंगलबार राति चन्द्रपुर–३ चिसापानी वन क्षेत्र अतिक्रमण गरी बनाइएका ३ वटा घरमा जंगली हात्तीले तोडफोड गरेको जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दिर्घनारायण कोइरालाले बताए । जंगली हात्तीको एउटा समूहले लमहामा राजमार्गमै १५ मिनेट बसेर सवारीसाधन आवत जावतमा अवरोध समेत पुर्रुयाएको उनले जनाए ।
‘जंगली हात्ती राजमार्गभन्दा तलतिर (दक्षिण) झरेका छैनन,’ उनले भने, ‘राजमार्ग उत्तरतिरै बासस्थान बनाएका छन् ।’ करिव १४ वटाको संख्यामा जंगली हात्ती र एउटा गैंडा रौतहटको वन क्षेत्रमा अहिले देखा परेको उनले बताए । चिसापानी बस्तीमा छिरेको हात्तीलाई सशस्त्र वन रक्षकको सहयोगमा जंगलतिर धपाइएको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्ज हुँदै रौतहटको गैंडाटार क्षेत्रमा आई पुगेको एकसिंगे गैंडा मंगलबार दिउँसो लामो समयसम्म बागमती नदीमा नुहाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले बताए । जिल्ला वन कार्यालयमा कार्यरत वन कर्मचारी, स्थानीय लगायतले गैंडालाई नुहाउँदै गरेको दृश्य अभिरुची पूर्वक अवलोकन गरेका थिए ।
राजमार्गभन्दा उत्तरमा रहेको रामलालघाटस्थित खनिएको पोखरीमा जंगली हात्तीको समूहले दिनभरी आहाल खेल्ने र राति आहाराको खोजीमा उत्तरतिरको वस्तीमा छिर्ने गरेको पाइएको वन कर्मचारीहरुको भनाइ छ । रामलालघाटमा वन कार्यालयले यस वर्ष वन्यजन्तुलाई पानी खान र डढेले नियन्त्रण गर्ने उद्देश्यले नयाँ पोखरी समेत खनेको जिल्ला वन कार्यालय रौतहट गैंडाटार वन सेक्टर प्रमुख अरुण कर्णले बताए ।
‘जंगलभित्र पोखरी खनिएपछि वन्यजन्तुलाई फाइदा पुगेको छ,’ उनले भने, ‘उनीहरुलाई पानीको लागी अन्यत्र भौतारिनु परेको छैन ।’ रामलालघाटमा पानीको सुविधा र शान्त वातावरण भएकोले जंगली हात्ती त्यसलाई दिउँसोको वासस्थानको रुपमा प्रयोग गर्दै आएका छन् । उत्तरतिरको बस्तीमा घरेलु मदिरा तयार गर्न जाडको घैंटो राखिएको हुन्छ । त्यसको गन्ध पाउने बितिकै भाले हात्ती त्यतातिर लम्किन्छन । भाले हात्तीले जाड खान मन पराउने भएकोले त्यसको लागी बस्ती पुगेर उत्पात मचाउने गरेको वन कर्मचारीको ठम्याई छ ।
राजमार्ग उत्तर तिरको सबै बस्ती वन क्षेत्र अतिक्रमण गरी बसेको बस्ती भएको जिल्ला वन कार्यालयले जनाएको छ । ‘वन क्षत्र अतिक्रमण गरेर बसेको बस्तीलाई हटाउन वन कार्यालयले योजना बनाएको छ,’ एक वन कर्मचारीले भने, ‘अतिक्रमित वन क्षेत्र खाली गराउन हात्तीले नै सक्रियता देखाएका छन् ।’
हात्तीले बस्तीमा घर भत्काउन जाँदैन । जाड खान मात्र जान्छन् । तर बस्तीका मानिसले राको लिएर हात्तीलाई धपाउन खोज्दा उसले त्यसको प्रतिवाद गर्दै घर भत्काईदिने, मान्छे मारिदिने गरेको ती कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । जंगली हात्ती बाटोमा निस्कन थालेपछि गैंडाटार तर्फ आवत जावत गर्ने मानिस तथा त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । साँझ परेपछि राजमार्ग पर्ने जंगलको बाटोमा गुडने मोटरसाईकल यात्रीलाई आवत जावत गर्नमा केही दिनको लागी स्थानीय प्रशासनले रोक लगाउनु पर्ने सचेत नागरिकहरुले जोड दिएका छन् । हात्तीको मुभमेट कम नहुन्जेलसम्म रातिमा राजमार्गमा हिँडने मोटरसाईकल यात्री हात्तीको आक्रममा पर्ने सम्भावना बढेको सरोकारवालाको भनाइ छ । रातिमा वन्यजन्तुहरु राजमार्गमा निस्केर बसिदिने क्रियाकलाप अहिले बढेकोले यसमा स्थानीय प्रशासनले ध्यान दिनु जरुरी रहेको सचेत नागरिकहरुको भनाई छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »