सुनसहित सात जना पक्राउ

प्रकाशित समय 6:12:00 PM
काठमाडौं, १५ भदौ । १४ किलो सुनसहित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले सात जनालाई पक्राउ गरेको छ । चीनबाट रसुवाको केरुङ तथा सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल भित्र्याई भारत लैजान लागेको भन्ने गोप्य सूचनाको आधारमा सिआइबीले १४ किलो सुनसहित सात जनालाई बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का  पेम्बा दार्जे शेर्पा, भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का दीपेन्द्र थापा, काठमाडौंको बानेश्वरका सरोज थापा, काभ्रेको पाँचखाल नगरपालिका–१ का बिष्णु गौतम, भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का राजेन्द्र खत्री र रबिन खत्री र जनकपुर उपमहानगरपालिका–७ का दीपककुमार शाह छन् ।
त्यस्तै प्रहरीले जनकपुरबाट एक किलो सुनसहित चारजनालाई पक्राउ गरेको छ । बुधबार राति ९ बजे जनकपुरको रामानन्दचोकमा बसबाट ओर्लेका चारजनालाई सुराकीको आधारमा प्रहरीको टोलीले जाँच गर्दा एक किलो अवैद्य सुन फेला परेको हो ।
पक्राउ परेका चारजनाको नाम खुलाइएको छैन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी अनुसन्धान थालिएको छ । बरामद सुन केन्द्रीय अनुसन्धान व्युरो काठमाडौं पठाइएको छ ।  

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »