बाढीले पूर्वी तराईका पाच जिल्लामा झण्डै ४ अर्बको कृषि उपज नष्ट

प्रकाशित समय 7:28:00 PM
विराटनगर, ३२ साउन । अविरल वर्षा र बाढीले पूर्वी तराईका पाँच जिल्लामा करिव ४ अर्ब मूल्य बराबरको कृषि उपजमा क्षति पुगेको छ । क्षेत्रीय कृषि निर्देशनालयको प्रारम्भीक तथ्याङक अनुसार बाढीका कारण मोरङ, सुनसरी, झापा, सप्तरी र सिरहामा ३ अर्ब ९८ करोड ८१ लाख मूल्य बराबरको कृषि उपज नष्ट भएको हो ।
निर्देशनालयका प्रवक्ता राजेन्द्र उप्रेतीका अनुसार त्यसमध्ये २ अर्ब ५५ करोड मूल्यको धान, ९७ करोड बराबरको माछा र ३१ करोड ६० लाख मूल्य बराबरको तरकारी नष्ट भएको तथ्याङक उपलब्ध भएको छ । उनका अनुसार ३२ हजार ९ सय ९० हेक्टरमा रोपिएको धान, ३ हजार ६ सय ५० हेक्टरको तरकारी र १ हजार १ सय ५० हेक्टर पोखरीमा भएका माछा नष्ट भएको छ । यो निर्देशनालयको प्रारम्भीका तथ्याङक हो । उप्रेतीले भने क्षतिको विवरण अझ बढ्न पनि सक्छ । बाढीले सबै भन्दा बढी सिरहामा १ अर्ब १५ करोड मूल्य बराबरको कृषि उपज क्षति भएको प्रवक्ता  उप्रेतीले बताए । उनका अनुसार सिरहामा १० हजार ८ सय हेक्टरमा लगाएको धान, ५ सय २० हेक्टर पोखरीका माछा, ५ सय ९० हेक्टरको तरकारी खेती, ५ सय ४० हेक्टरको रहर दाल र ४० हेक्टरमा लगाएको मकै खेती नष्ट भएको छ ।
मोरङमा ६७ करोडभन्दा बढीको कृषि उपज क्षति भएको छ । प्रवक्ता उप्रतीका अनुसार विराटनगर महानगरपालिका, कटहरी, जहदा, रंगेली, रतुवामाई, सुनवर्षी, पथरी शनिश्चरे, सुन्दरहरैचा, कानेपोखरी र बुढी गंगा गाउँपालिकामा गरेर ७ हजार ५ सय हेक्टरमा लगाएको धान, १ हजार ५० हेक्टरको तरकारी र १ सय ९५ हेक्टर माछा पोखरी क्षतिग्रस्त भएको छ ।
सुनसरीको इनरुवा, वराहा, रामधुनी, दुहवी, भोक्राहा, गढीमाई, बरजुताल, देवानगञ्ज, हरीनगरा लगायतका स्थानमा रोपिएको ७ हजार १ सय हेक्टरको धान, १ सय ३५ हेक्टरको केरा, २ सय २० हेक्टरको माछा पोखरी र ९ सय ४५ हेक्टरको तरकारी खेती नष्ट हुँदा ६९ करोड ६० लाख बराबरको क्षति पुगेको तथ्याङक छ ।
सप्तरीका साविक ३४ गाविसमा बाढीले कृषि उपजलाई नष्ट गर्दा ५२ करोड ३५ लाख बराबरको क्षति पुगेको प्रबक्ता उप्रेतीले बताए । उनका अनुसार सप्तरीमा ५ सय ९० हेक्टरको धान, १ सय ५० हेक्टरको माछा पोखरी, र ५ सय ५ हेक्टरमा लगाएको तरकारी खेती नष्ट भएको छ ।
निर्देशनालयको तथ्याङक अनुसार झापामा झण्डै एक अर्ब मूल्य बरावरको कृषि उपजलाई क्षति पुगेको छ । त्यहाँ ७ हजार हेक्टरमा लगाएको धान, २ सय हेक्टरको तरकारी खेती, ६५ हेक्टरको माछा पोखरी र एक हेक्टरमा लगाएको रबर खेतीलाई बाढीले क्षति पु¥याएको प्रबक्ता उप्रेतीले जानकारी दिए ।
पूर्वी तराईका पाँच जिल्ला वाहेक अन्य जिल्लामा बाढीले कृषि उपजमा खासै प्रभाव पारेको छैन । उप्रेतीका अनुसार एकाध पहाडी जिल्लामा पहिरो जाने र तरकारी खेतीलाई सामान्य असर मात्र गरेको पाइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »