मृत्यु हुनेको संख्या १२० पुग्यो

प्रकाशित समय 8:01:00 PM
काठमाडौं, ३१ साउन । अविरल बर्षापछि सुरु भएको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुको संख्या मंगलबार पनि रोकिएन् । गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १२० पुगेको छ । सोमबार रातिसम्म मृत्यु हुनेको संख्या ९१ थियो । त्यस्तै, घाइते हुनेको संख्या ३९ छ भने ३५ जना अहिलेसम्म बेपत्ता छन् ।
गृहमन्त्री जर्नादन शर्माले व्यवस्थापिका संसदमा सम्बोधन गर्दै बाढी पहिरो र डुबानबाट प्रभावित जिल्लाका ८० प्रतिशत भुभागका साथै हजारौं घर डुबानमा परेको बताए । शर्माले बाढीबाट मृत्यु भएका परिवारका प्रत्येक सदस्यलाई दुई लाखका दरले र घर मर्मत गर्न दस हजार रुपैयाँ वितरण समेत सुरु गरिसकिएको जानकारी दिए ।
उनले क्षतिको विस्तृत विवरण संकलन भइरहेको जानकारी पनि संसदमा गराए । गृह प्रवक्ता रामकृष्ण घिमिरेले मृतकहरुको सनाखत हुने बित्तिकै जिल्ला दैवी प्रकोप समन्वय समीतिमार्फत राहत रकम वितरण प्रक्रिया थालिसकिएको बताए । सरकारले उद्दार तथा राहत सामाग्री वितरणमा सम्पूर्ण स्रोत, साधन र जनशक्ति परिचालन गरेको बताउँदै शर्माले भने, ‘बाढीपीडित क्षेत्रमा संक्रमण नफैलियोस भनेर जनसंख्याका आधारमा चिकित्सक परिचालन गरिएको छ ।’ मंगलबार दिनभर गृह मन्त्रालयले नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत मधेसका जिल्लालाई केन्द्रित गरी राहत सामाग्री पु¥याएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »