आँप उत्पादन क्षेत्रमा अनुदानको ट्याक्टरसहित कृषि उपकरण हस्तान्तरण

प्रकाशित समय 6:17:00 PM
गोलबजार, १९ साउन ।  व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम अन्तर्गत सप्तरीको आँप जोन सञ्चालक समितिलाई बुधबार तीन थान ट्रयाक्टरसहित कृषि उपकरण र मेसिनरी सामग्री हस्तान्तरण गरिएको छ ।
सप्तरीको सुरुङ्का नगरपालिका ४ कदमाहास्थित जोन इकाई कार्यालयमा राम्रो आँप उत्पादन हुने मधुपट्टि, मलहनिया र हरिहरपुरका किसानहरुका लागि ट्याक्टरसहितका सामग्री हस्तान्तरण गरिएको हो । जोन इकाई कार्यालयका प्रमुख रामप्रकाश सिंह र सुरुङ्का नगरपालिकाका कार्यकारी अधिकृत दीपक दाहालले संयुक्त रुपमा तीन वटा ट्याक्टरको साँचोसहितका सामग्री सञ्चालक समितिका अध्यक्ष लक्ष्मी चौधरीलाई हस्तान्तण गरे ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मातहतको यस कार्यक्रममा समितिलाई ३७ लाख २३ हजार ८ सय ७५ रुपैयाँ बराबरको ट्याक्टरसहित सात किसिमका कृषि उपकरणहरु हस्तान्तरण गरिएको छ । सञ्चालक समितिको निर्णय अनुसार स्थानीय किसानहरुले प्रयोग गर्न पाउने गरी तीन थान सोनालिका ट्याक्टर, १५ थान गटर स्पेयर, ३० थान सिकेचर, ३० थान आरी, १० थान पेट्रोल स्प्रेयर, १५ थान ड्रम र एक सय थान क्रेटसहितका उपकरण हस्तान्तरण गरिएको प्रमुख सिंहले बताए ।
ट्याक्टरसहितका उपकरणहरुमा कार्यक्रममार्फत् ५० प्रतिशत अनुदान दिने नीति अनुरुप १७ लाख ३६ हजार नौ सय ३२ रुपैयाँ ५० पैसा अनुदान दिइएको छ भने सम्बन्धित सञ्चालक समितिले पनि त्यति नै रकम बेहोरेको छ । कार्यक्रम अन्तर्गत जोन क्षेत्रमा ५० हजार हेक्टर नयाँ बगैंचा स्थापना गर्ने लक्ष्य रहेको भए पनि परियोजना ढिलो गरी सञ्चालन भएकाले ३७. ७५ हेक्टर जग्गामा मात्र आँपको बगैंचा स्थापना गरिएको कृषि अधिकृत विद्यासागर यादवले जानकारी दिए । कृषि अधिकृत यादवका अनुसार साना सिञ्चाई प्रणाली मर्मत तथा सुधार अन्तर्गत ८ लाख ५४ हजार नौ सय ४९ रुपैयाँ बराबरको १३ वटा ट्युबेल, सिडी पम्प तथा विद्युतीय मोटर जडान गरी सञ्चालक समितिलाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »