‘चिउरा चपाउँदा बंगरा दुखिसक्यो सरकार’

प्रकाशित समय 7:40:00 PM
गोलबजार, ७ भदौ । ‘राहतमा पाएको च्यूरा चपाउँदा चपाउँदा बँगारा दुखिसक्यो सरकार । चामल र दाउराको बन्दोबस्त भइदिए चामलपानी उमालेर सास बचाउँथ्यौं,’ तिरहुत गाउँपालिका– ६ साविकको मैनाकडेरीस्थित चन्द्रनहरको पूर्वी बाँधमा आश्रय लिएर बसेका बाढी विस्थापितको गुनासो हो यो ।
बाढी विस्थापित कामेश्वर रामकी आमा ५५ वर्षीया खटरीदेवीलाई उच्च ज्वरोले थला परेको दुईदिन भयो । ‘पानीपट्टी र सिटामोलको सहारामा आमालाई बचाएको छु,’ कामेश्वर भन्छन, ‘यहाँबाट थप उपचारका लागि बाहिर लैजाने बाटो नै छैन ।’ यहाँबाट उत्तरतर्फबाट राजमार्ग पुग्ने बाटो महुली बाँध ठाउँठाउँमा बाढीले भत्काएको छ । दक्षिणतर्फबाट चन्द्र नहरको बाँध र पुल दुबै बाढीले भत्काएको छ । दुवैतर्फको बाटो बाढीले भत्किँदा यो गाउँको छिमेकी गाउसँग समेत सम्पर्क विच्छेद भएको छ ।
‘विस्थापितमा ज्वरो, खोकी, झाडापाखालालगायत संक्रमण फैलिँदै छ,’ कामेश्वरले भने, ‘यहाँबाट बाहिर उपचारका लागि लानुपर्ने बिरामीको ज्यान बचाउन मुस्किल छ ।’ गाउँमा एम्बुलेन्स आउने बाटो नभएकाले पैदलै अस्पतालसम्म पु¥याउन पनि घण्टौ समय लाग्छ । मनकारीबाट सहयोग पाएको त्रिपालमुनि कामेश्वरको आठजना परिवार कोचिएर बसेका छन् । आमा ज्वरोले ओच्छ्यान परेकी छिन् । बाँकी सदस्यमा रुघाखोकीको संक्रमण छ।
बाढीविस्थापित रुना खातुन एकल महिला हुन् । बालबच्चाको साथ बाँधमा आश्रय लिएर बस्न थालेको बाह्र दिए । सरकारबाट आइबार पाएको मुरही, च्यूरा, चाउचाउ र विस्कुट राहत बाहेक केही नपाएको उनको गुनासो छ । ‘हाम्रो नाममा सरकारलाई दुनियाँले राहत सहयोग गरेको सुन्छु,’ उनी भन्छिन, ‘हामीलाई परेवालाई चारा छरेजस्तै राहत छर्केर ऊ चुपचाप छ ।’
बाढी विस्थापित मोहम्मद सिद्धिको २५ जना परिवार शनिबारदेखि चन्द्रनहरको पूर्वी बाँधमा खुला आकाशमुनि बस्दै आएका छन् । आफन्तले ल्याइदिएको त्रिपालको ओत लागेर उनको जम्बो परिवार चिउरा र चाउचाउका भरमा प्राण धान्दै छन् । उनी भन्छन, ‘हामीले पाउने चिउरा चाउचाउ राहत परिवारका सदस्यमा बाँड्दा मुठ्ठीभर पनि भाग लाग्दैन ।’ कति दिन बच्चालाई खुवाएर आफूहरू पानीले पेट भरेर निदाउँछौं,’ उनले बाध्यता सुनाए ।
‘यहाँका विस्थापितसम्म सरकारी राहतले पुग्न नसक्नु बिडम्वना हो । तिरहुत गाउँपालिकाका बुद्धिजीवी देवनारायण यादव भन्छन, ‘वास्तविक बाढीपिडितसम्म पुग्नु पर्ने जती  सरकारी राहत पुग्न सकेको छैन ।’ उनले भने, ‘आफूलाई बाडीपिढित भनेर देखाएर हुनेखानेको सरकारी राहतमा राजाइँ छ ।’ बाढीबाट विस्थापित हुने अधिकांश जनता मुरही चाउचाउको सहारामा ज्यान बचाउँदै छन् । तर, घर फर्किसकेकाहरू सरकारी चामल थन्को लगाइरहेको विस्थापितको गुनासो छ ।
‘यहाँका बाढीपिडितको बेहाल हेर्न सरकारका प्रतिनिधि फर्केर पनि आउँदैनन् पीडित दानाबत्ती राम भन्छिन, ‘हामी गरिब मरे पनि सरकारलाई के फरक पर्छ ?,’ उनले थपिन, ‘गरिब भएर जन्मेपछि कष्ट सहनै पर्ने रहेछ ।’ पीडितलाई राहत बाँड्न प्रधानमन्त्री र मन्त्रीको लस्करै आए पनि विस्थापितको अनुहारमा उज्यालिन सकेको छैन । कारण सरकारी राहत यी विपन्न विस्थापितको हातमा आएन स्थानीय बुद्धिजीवी भाग्यनारायण झा भन्छन, ‘सरकारी राहत त विपन्न दलितको हात पर्नुपथ्र्यो, त्यो परेन ।’
मैनाकडेरी–६ हालको तिरहुत गाउँपालिका–२ की दानादेवी रामलाई पहिला आफ्नो छाप्रो रहेको ठाउँ पनि ठम्याउन मुस्किल छ । सुकुमबासी उनको परालले छाएको छाप्रो अवशेषसहित बाढीले बगादियो । घरमा भएको बाकससमेत उनले निकाल्न नपाएको दुःख पोखिन् । लत्ताकपडा, बचत गरेर राखेको मजदुरीको कमाइ, भाँडाकुँडा सबै बाढीले साहोरेर लगिदिएपछि उनको बिच्चली छ ।
साहुमहाजनको सहयोगले विस्थापित जिन्दगी धानिरहेकी उनी भन्छिन, ‘भएको छाप्रो पनि खोसियो । उनी थप्छिन, ‘घामपानीबाट जोगिने सहारा पनि बाढीले बगाइदियो, अब कसरी जोगिनु ?’ यो बाँधमा मैनाकडेरी र लोहरजाराका ९० परिवार विपन्न बस्दै आएका छन् । यहाँ आश्रय लिएर बस्ने मुस्लिम, राम, मुखिया छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »