प्रदेश नं. २ को निर्वाचनमा उच्चस्तरको सुरक्षा आवश्यक ः प्रमुख आयुक्त

प्रकाशित समय 6:05:00 PM
काठमाडौं, १८ साउन । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा उच्चस्तरको सुरक्षा आवश्यक रहेको बताएका छन् ।
आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनका सम्पूर्ण क्रियाकलापहरूमा उच्च स्तरको सुरक्षा आवश्यक रहेको औँल्याउँदै सुरक्षाकर्मीहरूको मनोवल उच्च हुने किसिमले खटनपटनको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
सुरक्षाकर्मी खटाउँदा महिला सुरक्षाकर्मी समेत पर्याप्त मात्रामा खटाउन र निर्वाचन आचार संहिता पालना गर्ने गराउने कुरामा समेत ध्यान पु¥याउन निर्देशन दिए । साथै, उनले दुई चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सुरक्षा निकायबाट प्रदान गरिएको उच्च स्तरको सुरक्षा व्यवस्था प्रति धन्यवाद समेत दिए ।
आसन्न स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट सञ्चालन गर्नको लागि बुधबार उच्च स्तरीय सुरक्षा समितिको बैठक समितिका संयोजक आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा निर्वाचन आयोगमा बसेको थियो ।
सो बैठकमा आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादव, आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल तथा आयोगका सचिव महेश्वर न्यौपाने, गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी सहित चारवटै सुरक्षा निकायका प्रमुख तथा वरिष्ठ प्रतिनिधिको उपस्थिति रहेको थियो ।
उक्त बैठकमा भरतपुर महानगरपालिकाको वडा नंं १९ को पुनः मतदान र मतगणना लगायत २०७४ असोज २ गते सञ्चालन हुन गइरहेको प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्नका लागि आयोगको तर्फबाट सुरक्षा निकाय प्रमुखहरूसँग सरकारले गरेको तयारी बारेमा जिज्ञासा राख्ने तथा सुझाव दिने कार्य भएको थियो ।
सुरक्षा निकायको तर्पmबाट गृह सचिव लोकदर्शन रेग्मीले भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान कार्य लगायत निर्वाचनको कार्यमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको र प्रदेश नम्बर २ को निर्वाचनको लागि छिट्टै नै सुरक्षा योजना तयार गरी प्रस्तुत गरिने कुरा बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »