बलात्कार आरोपीले हिरासतमै गरे आत्महत्या

प्रकाशित समय 5:45:00 PM
धरान, ११ भदौ । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएका एक थुनुवाले आइतबार बिहान झुण्डिएर आत्महत्या गरेका छन् ।
खोटाङ दिप्सुङ स्थायी घर भई हाल धरान ५ देउरालीमा बस्दै आएका ३३ वर्षीय श्रीधन विश्वकर्माले बिहान करिब साव तीन बजे हिरासतमै आत्महत्या गरेको प्रहरीले जनाएको छ । विश्वकर्माले आफ्नो १२ वर्षीया छोरीलाई बलात्कार गरेपछि उनकै श्रीमती र छोरीले दिएको जाहेरीका आधारमा भदौ ४ गते पक्राउ परेका थिए । सुनसरी जिल्ला अदालतमा दुई पटक म्याद थप गरी उनलाई अनुसन्धानका लागि हिरासतमा लिइएको थियो ।
इलाका प्रहरी कार्यालयको हिरासतभित्रको सीसी क्यामेराको फुटेज हेर्दा बिहान ३ पटक शौचालय पस्दै, बाहिर निस्कँदै गरेको देखिएको डिएसपी ढकेन्द्र खतिवडाले बताए । हिरातमा हाल ५७ जना थुनुवा रहेका छन् ।
प्रहरीका अनुसार बिहान ३ बजेर २० मिनेटमा अर्का एकजना थुनुवा शौचालय जाँदा श्रीधन झुण्डिएको देखेर सेन्ट्री बसेका प्रहरीलाई खबर गरेका थिए । उनले आफूले लगाएको सर्ट फुकालेर त्यसको पासो बनाएर हिरासतभित्रै रहेको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । देउरालीस्थित घरमा श्रीमती नभएको र १२ वर्षीया छोरीमात्र रहेको बेला बलात्कार गरेको भनेर जाहेरी दिएका थिए । मृतक विश्वकर्माको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको छ ।
प्रहरीले आइतबार नै जिल्ला अदालतमा घटनाको जानकारी गराएर परिवारलाई शव जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमु्ख एसपी विद्यानन्द माझीले घटनाको अनुसन्धानका लागि डिएसपीको कमान्डमा टोली बनाउने बताएका छन् । इलाका प्रहरी कर्यालयले पनि आत्महत्या घटनाको विषयमा ड्युटीमा रहेका प्रहरीसँग आवश्यक सोधपुछ सुरु गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »