बाढी पहिरोमा परी ३० जनाको मृत्यु, साउनमा मात्र ५५ को मृत्यु

प्रकाशित समय 7:06:00 PM
गोलबजार, २८ साउन । निरन्तर बर्षापछि उत्पन्न बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा ३० जनाको मृत्यु भएको छ । योसँगै साउन महिनामा मात्र बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
गृह मन्त्रालयका अनुसार सुनसरीमा ७, झापा र सिन्धुलीमा ४–४, मोरङ, बाँके र पाँचथरमा ३–३ तथा बारा, सर्लाही, दाङ, पाल्पा, बर्दिया र मकवानपुरमा एक–एक गरी ३० जनाको मृत्यु भएको छ । त्यस्तै कयौं वेपत्ता छन् ।  गृहमन्त्री जर्नादन शर्माले बाढी पहिरोको प्रकोपमा परेकाहरुको उद्दार कार्य तीव्र पार्न निर्देशन दिएको छ ।
शनिबार बिहान गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी गृहमन्त्रीले जनधनको क्षतिबारे जानकारी गराएको हो । गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा जानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखिएको भएपनि प्रतिकुल मौसमका कारण ती सामाग्री पु¥याउन नसकिएको बताए ।  गृहमन्त्रीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्दारमा खटिन पनि निर्देशन दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न तथा राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।  सैनिक निर्देशनालयले समेत शनिबार एक विज्ञप्ति निकाली प्रभावित क्षेत्रहरुमा उद्धारका लागि सेनाको टोली खटाएको जनाएको छ । गृह प्रवक्ता दीपक काफ्लेका अनुसार अधिक बर्षा भएका जिल्लाका प्रशासन कार्यालयहरुलाई हाई अलर्टमा राखिएको छ ।
गृह मन्त्रालयले मानवीय उद्धारको लागि झापा, मोरङ र सुनसरी जिल्ला पठाउनका लागि शनिबार दिनभर नेपाली सेनाका दुई हेलिकप्टर तयारी अवस्थामा राखेको थियो । तर, प्रतिकुल मौसमका कारण दुवै हेलिकप्टर उड्न सकेका छैनन् ।  त्यस्तै गृहले ईटहरी र सुर्खेत स्थित पृतना कार्यालयमा रहेका एक–एक हेलिकप्टरलाई मानवीय उद्धारका निम्ती परिचालन गरिरहेको छ ।
गृहमन्त्री शर्माले समेत निजी क्षेत्रका हेलिकप्टरहरुलाई उद्दारका निम्ती परिचालन गर्नका निम्ती पर्यटन मन्त्रीमार्फत पहल चालेका छन् । गृहका अनुसार आपतकालीन अवस्थामा निजी कम्पनीका हेलिकप्टर पनि परिचालन गर्नुपर्ने देखिएकाले तयारी थालिएको हो ।  साउन महिनाको २७ गते अर्थात शुक्रबारसम्मको अवधीमा मात्रै बाढी र पहिरोमा परी २५ जनाको मत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार हिजोसम्म पहिरोमा परी १४, बाढीका कारण १० र अत्याधिक बर्ष पछि उत्पन्न परिस्थितिका कारण एक जनाको मृत्यु भएको जनाएको हो । अधिक बर्षापछि उत्पन्न प्राकृतिक प्रकोपमा परी आज मात्र थप ३० जनाको मृत्यु भएपछि यो संख्या ५५ पुगेको छ । सिन्धुलीमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका ६ स्थित पत्रकार महासंघ जिल्ला समितिको जग्गामा टहरोमा बस्दै आएका स्थानीय दुर्गा कुमारी खड्का, शोभा खड्का, अनिस खड्का र मनिष खड्काको पहिरोमा परी विहान मृत्यु भएको हो ।  बाँकेको राप्तिसोनारी गाउँपालिकामा बाढीले घर भत्काउँदा पुरिएर एकै घरका ३ दिदिबहिनी सहित ४ जनाको मृत्यु भएको छ । घर पुरिंदा १२ बर्षीय अन्जु थारु, ९ बर्षीय सरिता थारु, ५ बर्षीय सुस्मिता थारु र नाम नखुलेका अन्य एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका ९ का मीनबहादुर थापाको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिकामा पहिरोले घर पुर्दा स्थानीय गोपीमाया तामाङको मृत्यु भएको छ ।  सुनसरीको गैरागाउँस्थित बुढीखोलाले बगाएर चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बगेर मृत अवस्थामा भेटिएका उनीहरुको पहिचान खुल्न सकेको छैन ।
झापामा कनकाई नदीमा आएको बाढीले बगाउँदा झापा गाउँपालिका २ की कमला घोर्साने र झिलझिले खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका १ का २८ बर्षीय लेखनाथ पाण्डेको मृत्यु भएको छ । कमलाकी आमा धनमाया घोर्साने बेपत्ता छन् । कनकाई नदीको बाढीले बगाउँदा झापा गाउँपालिका २ कै कालिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवार बेपत्ता छ । दमकस्थित दीपिनी खोलाले बगाउँदा भारत बिहार घर भई हाल दमकमा ज्याला मजदुरी गर्ने २५ बर्षीय कपोस मण्डल बेपत्ता छन् ।
बाराको सिम्रौनगढमा निरन्तरको बर्षाले घर भत्काउँदा कचोर्वाकी ४५ बर्षीया गहनी देवी पासवानको मृत्यु भएको छ । बाराकै आदर्श कोतवाल गाउँपालिका ९ स्थित एक बृद्धाश्रम भत्किदा स्थानिय ७० बर्षीय ब्रहमदेव महतोको चेपिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।  घर भत्किएर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ सिमलखुट्टीकी ४५ बर्षीया भगवती सुनारको मृत्यु भएको हो । बेतनी खोलाले बगाउदा तुलसीपुरकै ५८ बर्षिय नरबहादुर राउतको मृत्यु भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा पहिरोले पुरिएर ५० वर्षीय मिठु दानीको मृत्यु भएको छ । पहिरोमा परि १८ वर्षीय सरु खड्का घाईते भएकी छन् ।  पाल्पाको दोभान २ सिद्धबाबा सडकखण्डमा पहिरोले लु १३ प १३६५ नम्बरको मोटरसाइल पुरिँदा चालक तानसेन ३ का ३५ वर्षिय गृहपति शाक्यको उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाईकल पछाडी सवार अर्का एकजना घाइते भएका छन् ।













सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »