जनकपुरमा एमाले नेता गोकर्ण विष्टलाई लक्षित गरी चप्पल प्रहार

प्रकाशित समय 4:20:00 PM
जनकपुर, १३ भदौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई जनकपुरमा राजपा नेपालका कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । उनलाई लक्षित गरी राजपा कार्यकर्ताले चप्पल प्रहार गरेका हुन् । तर चप्पल उनलाई लाग्न पाएन । चप्पल प्रहरी भ्यानको अगाडी खसेको थियो ।
जनकपुरको पिडारी चोक नजिक जानकी बाटिका होटेलमा मंगलबार भएको एमालेको प्रदेश नं. २ को चुनावी भेलामा सहभागी भएर प्रहरीको भ्यानमा बसेर निस्किने क्रममा नेता विष्टलाई लक्षित गर्दै प्रदर्शनमा रहेका राजपाका कार्यकर्ताले चप्पल प्रहार गरेका हुन् ।  एमाले मधेस विरोधी पार्टी भएको भन्दै एमालेले आयोजना गरेको भेला विथोल्न राजपा नेपालका नेता कार्यकर्ताले कार्यक्रमस्थल घेराउ गरि प्रदर्शन गरि रहेका थिए । यस क्रममा प्रहरी र राजपाका नेता कार्यकताबिच झडप समेत भएको छ ।त्यस्तै जनकपुरको पिडारीचोकमा नेकपा एमाले प्रदेश नम्बर २ को चुनावी भेला स्थल अगाडि राजपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ ।  एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा हुन लागेको भेला अगाडि राजपाले एमाले मधेश विरोधी पार्टी भएको भन्दै विरोधमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो । लाठी प्रहारबाट राजपा नेपालका केन्द्रीय प्रवक्ता लालकिशोर साह, केन्द्रीय सदस्य तथा धनुषा जिल्ला अध्यक्ष परमेश्वर साह, विन्दु ठाकुर, सरिता चौधरी, विभा पाण्डे, अमर पञ्जियार, रिता झा, ज्ञानेन्द्र झा (ज्ञानु) सहित ४७ जना घाइते भएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »