छिप्पिएको बीउ रोप्दै सिरहाका किसान

प्रकाशित समय 5:13:00 PM

सिरहामा ३९ प्रतिशत मात्र रोपाइँ

गोलबजार, २१ साउन । दुई दिन यता पानी पर्न थालेपछि सिरहा किसानहरुले छिप्पिएकै बेर्नाबाट धान रोपाइँ सुरु गरेका छन् । खेत त्यसै बाँझो राख्नुभन्दा गाईवस्तुलाई घाँसकै लागि पनि कतिपय किसानले रोपाइँ गरेका बताएका छन् । साउन महिना बित्न लागिसक्दा बल्ल मनसुन सक्रिय भई दुई दिन यता वर्षाभएपछि सिरहाको उतरवर्ती चुरे क्षेत्र लगायतमा धान रोपाइँ सुरु भएको हो । तर, अहिले गरिएको रोपाइँबाट उत्पादन नहुने कृषि प्राविधीकहरुको भनाइ छ । 
आकाशे पानीको भरमा खेती गर्दै आएका सिरहा धनगढीमाई–१४, सर्रेका किसान शंकर राईले जग्गा बाँझो राख्नुभन्दा उत्पादन नभएपनि गाईवस्तुलाई आहारकै लागि भएपनि रोपाइँ सुरु गरेको सुनाए । ‘सामान्यतया २० देखि २५ दिनमा तयार भएको धानको बेर्ना रोपिसक्नुपर्छ,’ कृषि विकास कार्यालय सिरहाका सूचना अधिकारी हरिषचन्द्र पण्डितले भने, ‘त्यो भन्दा बढी दिन भएको बेर्ना रोप्दा उत्पादनमा ह्रास हुने सम्भावना बढी हुन्छ ।’ वर्षापछि अहिले रोपिएको धानले उत्पादन नदिने भएकाले रोपाइँको अर्थ नभएको उनले बताए ।
समयमा पानी नपर्दा सिरहामा यसवर्ष अहिलेसम्म ३९ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको छ ।  तराइमा धानवालीलाई अन्न भण्डारको रुपमा लिइन्छ ।  सिरहामा कृषकहरुले मूख्यवालीका रुपमा धान बाली लगाउँछन् । कृषि विकास सिरहाको तथ्यांक अनुसार कुल खेतीयोग्य ७३ हजार ९ सय १३ हेक्टर जग्गामध्ये ३९ हजार ८ सय ७१ हेक्टर जग्गा सिंचित क्षेत्र थिए । तर, खोलानामा पानीको स्रोत सुकेपछि सिंचित क्षेत्रमा समेत कृषकहरुले धान रोपाइँ गर्न नपाएको कृषि विकास कार्यालय सिरहाले जनाएको छ । कमला सिंचाई पूर्वी नहरप्रणालीबाट सिरहाका ४० गाविसका १५ हजार ५ सय हेक्टर जग्गा सिंचित हुन्छ ।
सिरहामा धान खेतीका लागि  ६० हजार ६ सय ७७ हेक्टर खेतीयोग्य जग्गामा वर्षेनी १ लाख ९७ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । ‘यसवर्ष मनसुनले धान रोपाइँका लागि साथ दिएन,’ वरिष्ठ कृषि विकास अधिकृत डा. रामचन्द्र यादवले भने, ‘न्यून मात्रा ३९ प्रतिशत मात्र सिरहामा रोपाइँ हुन सकेको छ, मुख्य बाली नै नसप्रेपछि यसबाट किसान मर्कामा परेका छन् ।’

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »