
पछिल्लो तीन दिनयता मात्र यस बस्तीका ८ जना सर्पको टोकाईबाट घाइते भएका छन् । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका वडा नम्वर–३ मा पर्ने सकरपुरा बस्तीका सुदनी देवी मण्डल, वैजु राय, कन्हैया झा, हेल्दी देवी खंग, परमेश्वर मण्डल, राजा मुखिया, सुमित्रा मालीलगायतलाई सर्पले टोकेको छ ।
उनीहरुलाई उपचारार्थ राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकाहरुमध्ये केही उपचार गराएर घर फर्किसकेका छन् । पछिल्लो पटक शनिबार राति सुदनी देवी मण्डललाई आफ्नै घरको ढोकामा करेत सर्पले टोकेको स्थानीय बासिन्दाले बताएका छन् । मण्डललाई अञ्चल अस्पतालमा भर्ना गरिए पनि चिन्ताजनक रहेकोले थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दिनको समयमा सर्प त्यति नदेखिए पनि रातको समयमा खरको झुप्रो भएको घरहरुमा दिनहुँ जसो सर्प आउने गरेको स्थानीय स्वास्थ्यकर्मी दीपक कुमार देवले बताउनुभयो । बस्तीमा राति विद्युत समेत नहुँदा त्रासैत्रासमा रात काट्नु पर्ने बाध्यता रहेको उनले बताए ।
सकरपुरा बस्तीका बासिन्दाहरु त्रासदीपूर्ण अवस्थामा बस्नुपर्ने बाध्यता रहेको बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सक्रिय युवा समाजसेवी निरज कुमार झाले बताए । ‘सकरपुरा बस्तीमा अविलम्ब झुल, टर्चलाइट र आवतजावत गर्न बुटको व्यवस्था हुनु जरुरी छ‘ उनले भने ।
सकरपुरासहित जिल्लाभर नै सर्पको बिगबिगी बढेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका आकस्मिक शाखाका डाक्टर रामकुमार दियालीले जानकारी दिए । बाढीका कारण एक सातायता दैनिकजसो अस्पतालमा १५ जनासम्म सर्पको टोकाईबाट घाइते भएर अस्पताल आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट दयाशंकरलाल कर्णले जानकारी दिए ।
