
केहिबर्ष अगाडीसम्म मधेसमा तीजको रौनक हुदैन थियो । तर अब मधेसका जिल्लाहरुमा पनि तीजको रौनक देखिन थालेको छ । कौशिका अर्थात कोशी नदीकी बहिनी भनेर चिनिने कमला नदी किनार तीजको अवसरमा राताम्मे देखियो । रातो पहिरनमा नदी स्नान गर्न गएका महिला दिदी बहिनीको रातो पहिरनले कमला नदी किनारले गुँरास फुलेको राताम्मे डाडाको भान गरायो ।
पहाडे र मधेसी मिसिएर बसेका गाउँहरुवाट मात्र होईन, मधेसीहरुको मात्र बसोवास रहेको भारतिय सिमासंग जोडिएको मधेसी गाउँ वस्तिहरुवाट पनि उल्लेख्य मधेसी महिलाहरुले तीजको व्रत लिएको देखियो । भारतमा विवाह गरी गएका मधेसी मूलका नेपाली चेलीहरु तीज मान्न नेपाल माइृती आएको देखियो । उनीहरुले हिजो दर खाएको र आज विधिपूर्वक कमला नदीमा स्नान गरी शिव पुजन गरेका छन् । नाँच गानमा पनि भाग लिएका छन् ।

भनिन्छ विविधता नै सुन्दरता हो । जातिय र साँस्कृतिक विविधताले भरिएको नेपालमा मधेसी र पाहाडे समुदाय विचको यो सामाजिक अन्तरघुलनले राष्ट्रमा मनभेद हटाउने अनुपम सांस्कृतिक उदाहरण दिएको छ । दुषित राजनीतिले समाजलाई हुँडलहाँडल नपार्ने हो भने नेपाली समाज एक अर्का प्रति सहिष्णु छ भन्ने प्रमाण कमला किनारमा आज प्रष्ट देखियो ।
