मुलुकको समस्या समाधानमा एक हुन प्रमुख दललाई राष्ट्रपतिको आग्रह

प्रकाशित समय 5:43:00 PM
काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणका लागि दीर्घकालिन समाधान खोज्न प्रमुख दलका शीर्ष नेताहरुलाई आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतालाई शनिबार शितल निवास बोलाएर राष्ट्रपति भण्डारीले प्रभावित जनताको समस्या तत्काल समाधान गर्दै दीर्घकालिन उपायको खोजी गर्न सुझाएको हो ।
तराई–मधेसका डुबान, पहिरो, व्यवस्थापिका–संसद प्रस्तुत संविधान संशोधन विधेयक तथा परराष्ट्र नीतिका विषयमा चासो लिई राष्ट्रपति भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताको ध्यानाकर्षण गराए । डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनस्स्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन शीर्ष नेतालाई उनको सामूहिक आग्रह थियो ।
राष्ट्रपति भण्डारीको भनाई उद्धृत गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ’वर्षेनी उत्पन्न हुने बाढीपहिरोजस्ता प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु प¥यो ।  बैठकमा प्रधानमन्त्री देउवाले तराई–मधेसका डुबान, पहिरो र बाढीमा बेपत्ताको खोजी, उद्धार तथा राहत वितरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै संकट समाधानका लागि सरकार गम्भीर रहेको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बैठकमा उपस्थित सवै शीर्ष नेताले तराई–मधेसको डुबान, बेपत्ताको खोजी, उद्धार तथा राहत वितरण कार्यमा राजनीतिक दल एक भएर लागिपरेको बताएका थिए । २ नम्बर प्रदेशमा आगामी असोज २ गते हुने निर्वाचनमा सबै पार्टीको सहभागिताका लागि वार्ता र संवाद कार्यसमेत जारी राखेको राष्ट्रपति भण्डारीलाई उनीहरुको जानकारी थियो ।
राष्ट्रपति भण्डारीले सरकार परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने अवस्थाले राष्ट्रहित नहुने भन्दै साझा परराष्ट्र नीति ल्याउन शीर्ष नेतालाई आग्रह गरेको छलफलपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेपालका दक्षिणी भूभाग वर्षेनी डुबानमा पर्ने हुँदा मैत्रीपूर्ण कूटनीतिका माध्यमबाट समाधान खोज्न, प्राकृतिक विपद्सँग जुध्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनासमेत ल्याउन राष्ट्रपति भण्डारीको आग्रह रहेको श्रेष्ठको भनाई छ ।
तराई–मधेसमा बाढी र डुबानका कारण हालसम्म १ सय ३५ जनाको मृत्यु भएको छ । हजारौं घर डुबानमा परेको, ती क्षेत्रका ८० प्रतिशत भूभाग जलमग्न भएको तथा  बाढीपहिरोको खोज, उद्धार तथा राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिएको सरकारको भनाई छ । राष्ट्रपति भण्डारीसँगको भेटमा प्रधानमन्त्री देउवाले बाढीका कारण मृत्यु भएकाका परिवारलाई प्रति मृतक दुई लाख, विपन्न परिवारलाई १५ हजार र दैनिक खानाका लागि ७० रुपैयाँ वितरण कार्य दु्रत रुपमा जारी राखेको जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्री देउवाले हालै बाढीपहिरो पीडितको क्षेत्रको स्थलगत रुपमा भ्रमण तथा अवलोकन गरी खोज, उद्धार तथा राहत वितरणमा उच्च प्राथमिकता दिन निर्देशन दिईएको छ ।  भेटमा राष्ट्रपति भण्डारीले संविधान संशोधनका विषयमा सहमति जुटाउन आग्रह गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग नेता गौतमले संविधान संशोधनका विषयमा सहमति जुटाउन आफ्नो पार्टीसँग सत्तारुढ दलका नेताले वार्ता संवाद नगरेको बारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएको बताए । राष्ट्रपति भण्डारी र तीन दलका शीर्ष नेताका बीच झण्डै दुई घण्टा छलफल भएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »