विराटनगरमा धाराको पानी छोडेर ट्यूवेलको पानी खाँदै उपभोक्ता

प्रकाशित समय 5:08:00 PM
विराटनगर, ६ भदौ ।  विराटनगर ८ मधुमाराकी इन्दु निरौलाको आगनमा खानेपानी संस्था शाखा विराटनगरको धारा छ तर त्यसमा आएको पानी खाँदैन । उनी नजिकै रहेको आफ्न्तको ट्यूवेलको पानी खान बाध्यछिन् । धारामा आएको पानी गाई वस्तुलाई समेत बिरामी हुने डरले खुवाउँदैनन् ।  ‘धारामा आएको पानी भाँडाकुँडा र लुगा धुन मात्रै प्रयोग गरिरहेका छौं,’ उनले भनिन, ‘केही दिन अगाडीसम्म आइरहेको धमिलो पानी गाईवस्तुलाई खुवाइरहेका थियौं तर अहिले धारामा लेदो आउन थालेपछि बिरामी हुने डरले खुवाउँन छाडेर भाडाबर्तन र लुगा धुन मात्रै प्रयोग गर्छौं, आखिर बिल तिर्नै पर्छ ।’ धारामा १।२ दिन सफा पानी आएपनि पूनः धमिलो र लेदो आउन थालेपछि खान मनै नमानेको उनी भन्छिन् ।
विराटनगर ७ का लक्ष्मि प्रसाद मैनालीलाई धाराको पानी खाएर परिवारका सबै सदस्य रुघाखोकी लागेर बिरामी भएको गुनासो पोखे । ‘धारामा बाढी आएदेखि कहिले धमिलो त कालो लेदो मिसिएको पानी आउने गर्छ,’ उनले भने, ‘आफूहरु उमालेर खाए पनि बच्चाहरु धारामा पानी आएको बेला खाइदिने गरेकोले सबै बिरामी भएका छन् ।’ उनले धारामा शुद्ध पानी मात्रै पठाउन माग गरे ।
उनीहरु जस्तै यहाँका अधिकांश परिवारको अवस्था रहेको छ । अधिकांशको धारामा धमिलो र लेदो मिसिएको पानी जान्छ ।  खानेपानी संस्थान शाखा विराटनगरका निमित प्रमुख रत्न प्रसाद राजवंशीले धारामा धमिलो र लेदो गइरहेको स्वीकारे । लेदो र धमिलो पानी गइरहेको क्षेत्रको पाइप सफाई गर्न निर्देशन दिइसकेको उनले बताए । विराटनगरस्थित १० ठाउँबाट पानीको नमूना संकलन गरेर परीक्षणको लागि पठाएको र त्यसको रिपोर्ट नआउञ्जेल धारा र ट्यूवेल जुनसुकैको पानी उमालेर मात्रै खान महानगरबासीलाई उनले आग्रह गरे । ‘संस्थानको अहिले प्रमुख प्राथमिकता खानेपानीको गुणस्तर र आपुर्ति रहेको छ,’ उनले भने, ‘संस्थानले अर्को सूचना नगरेसम्म विराटनगरबासीलाई उमालेर पानी खान आग्रह छ ।’ विराटनगर महानगरपालिकामा खानेपानी संस्थान स्थापना भएदेखि कै ५० वर्षभन्दा पुरानो संरचना जिर्ण भइसकेको कर्मचारीहरु बताउँछन् । विराटनगरमा ३ सय किलोमिटर लामो पाइपलाइनिङ्क गरेर खानेपानी संस्थानले १२ हजार ५ सय ग्राहकको घरघरमा दैनिक १ करोड २० लाख लिटर खानेपानी आपुर्ति गर्दै आएको खानेपानी संस्थान शाखा विराटनगरका प्रशासन फाँटका वरिष्ठ सहायक लक्ष्मी रेग्मीले बताए । उनले दैनिक १ करोड ५० हजार लिटर खानेपानीको माग रहेको तर त्यति आपुर्ति गर्न नसकेको स्वीकार गरे । विराटनगरस्थित देवकोटा चौक, मुनालपथ, तीनपैनी, कञ्चनबारी, बिएफएम र जनपथ पिचरास्थित ओभरहेड ट्यांकबाट खानेपानी आपुर्ति भइरहेको छ ।  ‘जिर्ण संरचना भएकोले पाइप लिकेज हुने समस्या छँदैछ अर्को प्रत्येक घरघरमा ढल हुँदै धारा गएको र ढलमा रहेको धाराको पाइपको अवस्था उपभोक्ताले थानकारी नराख्ने गरेकोले फुटेर त्यसैबाट फोहोर पानी धारामा गइरहेको हुन्छ,’ उनले भने, ‘आ आफ्नो धाराको पाइपलगायतको खानेपानीको पाइपमा कही कतै लिकेज हेर्न जोसुकैलाई खानेपानी संस्थानमा जानकारी गराइदिए तत्काल मर्मत गर्छौं ।’  खानेपानी संस्थान शाखा विराटनगरका प्रशासन फाँटका वरिष्ठ सहायक रेग्मीले आफूहरुले पठाएको पानी शुद्ध हुन्छ तर उपभोक्ताको धारासम्म जाँदाजाँदै लिकेजे भएको ठाउँहरुमा पानी द्रुषित हुँदै उपभोक्ताको धारामा फोहोर पानी निस्किने गरेको सुनाए । बाढी आएपछि माटो कमसल भएको र त्यस्तो अबस्थामा सडकमा गुड्ने अत्यधिक भार क्षमताका सवारी साधनले खानेपानीको पाइपहरु भत्केर यस्तोस्थित आउने गरेको खानेपानी संस्थान शाखा विराटनगरका प्रशासन फाँटका वरिष्ठ सहायक रेग्मीको भनाई थियो ।
उनले धरान रोड लगायतको सडकमा शुरुमा खानेपानीको पाइप सडकको किनारमा भएपनि सडक विस्तारसँगै पाइपबीच भागमा परेको र वर्षेनी सडकको उचाई बढदै गएर पाइप यति तल गइसकेको छ की आफूहरुलाई पनी जानकारी नभएको अबस्थामा पानी लिकेज हुन्छ जुन मर्मत हुनै नसकिने अबस्था पनि आउने गरेको बताए । यहाँको जिर्ण संरचनाको पूनस्संरचना निर्माण नभएसम्म उपभोक्तालाई शुद्ध खानेपानी आपुर्ति हुनु चुनौती पूर्ण नै रहेको रेग्मीको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »