रौतहटका बाढीपीडित चार दिनदेखि भोकै

प्रकाशित समय 7:27:00 PM
राकेश यादव
रौतहट, ३२ साउन । रौतहटको देवाहीगोनाहीका बाढीपीडितले भोकभोकै मर्ने अवस्था आएको बताएका छन् । दोहरटोलका करिब ३ सयभन्दा बढी मानिसले खाना नखाएको ४ दिन भइसकेको छ । करिब दुई सय पीडित देवाहीटोलमा गएर बसेका छन्।पीडितलाई गाउलेले केही चिउराहरु सहयोग गरे पनि पर्याप्त नभएको उनीहरूको गुनासो छ ।
दोहरटोलमा रहेका एक सय जनाभन्दा बढीले नुन चिउरा, पानीसमेत  खान पाएका छैनन् । भत्किएको घर कुरेर उनीहरु बसिरहेका छन् । ‘बाढीबाट बाचियो खान नपाउर मरिने भइयो,’स्थानीय राम रतन राय यादवले दुःख पोखे । पीडित शिवदयाल रायले गाउँको बिचमा रहेको रुखमा दुई दिन बसेर ज्यान बचाएको बताए । लालबकैया नदीले बाँध कटान गरेर बस्तिमा छिरेको थियो । पीडितले पानी समेत राम्रोसँग खान नपाएको, घरवार विहिन भएको, बालबच्चा बिरामी पर्न थालेको, घरमा भएका सबै अन्नपात बगाएको र डुवानमा परेकोले खान नपाएर मर्ने अवस्था आउन लागेको उनीहरुको भनाइ छ ।
गाउँमा कोही पनि राहत दिन नआएको पीडितको गुनासो रहेको छ । दोहरटोका एक सय ५० घर सबै क्षति भएको छ । बाढी र डुबानबाट रौतहटमा तीन लाख मानिस विस्थापित भएको छन् । चारलाख मानिसहरू बाढी र डुवानबाट प्रत्यक्ष प्रभावित छन् ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा जिल्लामा करिब ६० हजार घर क्षती भएका छन् । जिल्लाको ८० प्रतिशत भू–भाग डुवानमा परेका छन् । मुख्य राजमार्ग तथा सहायक राजमार्ग भत्किएका कारण आवतजावतमा समस्या भएको छ । लाखौ मानिस खान र बस्न नपाएर समस्यामा छन्। घरमा रहेको खाद्यान्न बगाउँदा तथा डुवानमा पर्दा हजारो मानिस भोकभोकै छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »