सिरहामा ६५ प्रतिशत मतदान

प्रकाशित समय 7:52:00 PM
लहान, २ असोज । स्थानीय तह निर्वाचनअन्तर्गत २ नं प्रदेशको सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्लामा सत्र स्थानीय तह छन् । केही ठाउँमा खसेको मतको विवरण आउन अझै बाँकी रहेकाले मत प्रतिशत केही बढ्ने सक्ने मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार सबैभन्दा बढी भगवानपुर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय गैरसा मतदान केन्द्रमा ८३ दशमलव ५५ प्रतिशत मत खसेको छ ।
सबै मतदानस्थलको मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि दलीय प्रतिनिधिसँगको छलफलपछि आजै रातिदेखि मतगणना सुरु गरिने बताइएको छ ।
२८३ सवारी साधन नियन्त्रित
प्रहरीले जिल्ला निर्वाचन कार्यालयसँग अनुमति नलिई मतदानका समयमा चलाएका २८३ सवारी साधन नियन्त्रण लिएको छ । त्यस्तै फर्जी मत खसाल्न खोज्ने १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए । आठ नगरपालिका र नौ गाउँपालिका रहेको सिरहामा २२१ मतदानस्थल र ४३१ मतदान केन्द्र निर्धारण गरिएको थियो । सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता  थिए ।
धनुषामा ७५ प्रतिशत मतदान
धनुषा जिल्लाका अठार वटै स्थानीय तहमा ७५ प्रतिशत मतदान भएको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । ीन लाख ८९ हजार ३९१ मतदाता रहेकामा दुई लाख ९० हजारभन्दा बढी मतदाताले मतदान गरेका थिए । मतदान सम्पन्न भएसँगै  मतपेटिका संकलन गर्ने काम भइरहेको छ । सम्बन्धित स्थानीय तहको केन्द्रमा मतपेटिका ल्याइएपछि दलीय सहमति जुटाएर मंगलबार बिहानदेखि मतगणना शुरु गरिने बताइएको छ ।
महोत्तरीमा ७२ प्रतिशत मतदान
महोत्तरी जिल्लामा ७२ प्रतिशत मतदान भएको छ । मतदानमा तीन लाख आठ हजार ४०४ मतदातामध्ये ७२ प्रतिशतले मताधिकार प्रयोग गरेको  मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा २५८ मतदानस्थल थिए । यसअघि जिल्लाका २५८ मध्ये २३२ मतदानस्थल संवेदनशील भएका आँकलन गरिए पनि सबै ठाउँमा शान्तिपूर्ण मतदान भएको प्रजिअ बाबुराम श्रेष्ठले बताए ।
७६ प्रतिशत मतदान
स्थानीय तहको नौ नगरपालिका र नौ गाउँपालिकाअन्तर्गत ४५९ मतदान केन्द्रमा ७६ प्रतिशत मतदान भएको छ । एक सय ३५ वडामा ८६५ जनप्रनिधिका लागि निर्वाचन भएको हो । जिल्लामा तीन लाख ३१ हजार ७९ जना मतदाता र पाँच हजार ५२७ उम्मेदवार छन् । राजविराज–१५ मा राजपाका उम्मेदवार महन्थी यादवको मृत्युका कारण यही असोज ५ गते दुई मतदान केन्द्रमा निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले बताए ।
यसैबीच फर्जी मतदान गर्न खोज्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । शम्भुनाथ–४ स्थित रियालाल प्रावि मतदान केन्द्रमा फर्जी मतपत्र खसाल्ने स्थानीयवासी दुगृनन्द चौधरीलाई पक्राउ गरिएको बताइएको छ । त्यस्तै खडक नगरपालिका–५ अन्तर्गत पातो मावि मतदान केन्द्रमा फर्जी मतदान गर्ने अप्रोज आलमलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ । छिन्नमस्ता गाउँपालिकामा भने मतदानको विषयलाई लिएर झडप भएको बुझिएको छ । मतदान केन्द्रबाट मतपेटिका आउने क्रम शुरु भइसकेको बताइएको छ ।
७३ प्रतिशत मतदान
यहाँ भएको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ । पर्साका प्रमुख निर्वाचन अधिकृतले  साँझ  ५ बजेसम्म्म ७३ प्रतिशत मतदान भएको जानकारी दिए । अहिले मतपेटिका संकलन कार्य भइरहेको र सर्वदलीय बैठकपछि मतगणना शुरु गरिने बताइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »