औद्योगिक क्षेत्र बाहेक सबै स्थान लोडसेडिङ मुक्त : घिसिङ

प्रकाशित समय 6:49:00 PM
काठमाडौं, २९ भदौ । नेपाल विद्युत प्राधिकरणले आगामी १० वर्षभित्र १२ हजार मेगावाटसम्मको विद्युत खपत गर्न सक्ने गरी वितरण प्रणाली विस्तार ंगर्ने तयारी गरेको छ । राजधानीमा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अधिकतम रुपमा देशभित्रै विजुली खपतको वातावरण बनाउन प्रमुख शहरी तथा औद्योगिक क्षेत्रहरुमा १२ हजार मेगावाट विजुली वितरण गर्न सकिने सञ्जाल र संरचना बनाउने जानकारी दिए ।
देशलाई उर्जामा आत्मनिर्भर बनाई जनताको समेत लगानीमा जलविद्युत आयोजनाहरुको दु्रत गतिमा विकास गर्ने उल्लेख गर्दै उनले जलाशययुक्त र पिकिङ आयोजना निर्माणमा विशेष पहल गर्ने बताए । विशेषगरी पूर्वी तराई क्षेत्रमा विद्युत चुहावट बढी रहेको भन्दै घिसिङले यो वर्षमा विद्युत चुहावट ३ प्रतिशतले घटाउने योजना रहेको जानकारी दिए ।
त आर्थिक वर्षसम्म विद्युत चुहावट २५ दशमलव ७९ रहेकोमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त भएपछि ३ प्रतिशत घटेर अहिले २२ दशमलव ९ मा झरेको छ ।  देशभित्र पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने र छिमेकी देशसँग अन्तरदेशीय उच्च भोल्टेजका प्रसारण लाईनहरु निर्माणको कार्यलाई प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ । पिकको समयमा हुने मागलाई सन्तुलन गर्न रुपा बेगनास पम्प स्टोरेज आयोजना निर्माण गर्ने योजना रहेको पनि घिसिङले बताए ।
यसका लागि प्राधिकरणले अहिले सम्भाव्यत्ता अध्ययनको काम गरीरहेको छ । स्मार्ट ग्रीड र स्मार्ट मिटर प्रणालीलाई अघि बढाउनुका साथै विद्युत गाडीको प्रयोगलाई प्रोत्साहन गरी पेट्रोलियम आयातलाई कम गर्न विभिन्न ठाउँमा ब्याट्री चार्जिङ स्टेसन स्थापना गर्ने योजना प्राधिकरणले बनाएको छ । विद्युत माग व्यवस्थापन गर्न ऊर्जा दक्षता भएका लीड चिम, पंखा, क्यापासिटर बैंक, पानी तान्ने मोटर लगायतका उपकरणको प्रयोगमा बृद्धि गरी माग व्यवस्थापन गर्ने प्राधिकरणको तयारी छ ।
आफ्नो १ बर्षे कार्यकालको समिक्षा गर्दै घिसिङले अलपत्र अवस्थामा रहेका निर्माणाधिन आयोजनाको कामलाई तीव्रता दिएको, भूकम्पपछि बन्द भएका १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी लगायतका कामलाई पुनः सञ्चालनमा ल्याएको उल्लेख गरे ।
आर्थिक वर्ष २०७२।७३ मा ८ अर्ब ८९ करोड नोक्सानीमा रहेको प्राधिकरण गत आर्थिक वर्षमा ९७ करोड ८९ लाखमा सिमित भएको पनि उनले बताए । आफु नियुक्त हुनुअघि दैनिक १२ घण्टा लोडसेडिङ हुने गरेकोमा अहिले औद्योगिक क्षेत्रमा बेलुकाको समय २ देखि ३ घण्टा बाहेक देशैभर लोडसेडिङ अन्त्य भएको घिसिङको दाबी थियो । भैरहवा लगायत केही स्थानमा भने सवस्टेसन, ट्रान्ष्फामर तथा वितरण लाइन ओभरलोडका कारण केही घण्टा लोडसेडिङ गर्नु पर्ने बाध्यात्मक स्थिति रहेको उनको भनाई छ । घिसिङले आगामी ३ वर्षभित्रमा मुलुक स्वदेशी उर्जामै आत्मनिर्भर बन्ने विश्वास समेत व्यक्त गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »