सप्तरीमा चुनावी सरगर्मी बढ्यो

प्रकाशित समय 6:39:00 PM
सप्तरी, १७ भदौ । तेश्रो चरण अन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनको माहौलले सप्तरीमा राजनीतिक सरगर्मी बढेको छ । दल र उम्मेद्वारको चुनावी प्रचार ब्यापक रुपमा सुरु हुनु, उमेद्वार बन्न एकबाट अर्को पार्टीमा प्रवेश गर्नेको लर्को तथा उम्मेद्वार छनोटका लागि भईरहेको रस्साकस्सीले मौसमसँगै सप्तरी तातिएको छ ।
बाढीको पीडा र विकासको मुलप्रबाहवाट निकै पछाडी रहेको सप्तरीमा चुनावी रौनक छाएपनि परिणाम एकतर्फी रुपमा जान सक्ने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् । मतदातालाई आफ्नो पक्षमा पार्ने अभियानमा दलहरु जुटेकाले अहिले गाउँसहरको माहौल तातेको छ । बिजुलीका पोलदेखी सार्वजनिक स्थलहरुका पार्टीको चुनाव चिन्ह अंकित झण्डा लगाउने होडबाजी छ ।
चियापसल देखी चौतारो सम्म चुनावी चर्चाले स्थान पाएको छ । संघीय समाजवादी फोरम नेपाल, एमाले र नेपाल लोकतान्त्रिक फोरमले जिल्लाको अधिकांस स्थानीय तहको उम्मेद्वार चयन गरिसकेको छ । सतारुढ दल नेपाली कांग्रेसका नेताहरु उम्मेद्वारको अन्तिम टुंगो लगाउन राजधानीमा नेताको घरदैलौमा दौडधुपमा छन् । माओवादी केन्द्रले नव प्रवेशी समेतलाई स्थान दिँदै उम्मेदवारको चयनको अन्तिम चरणमा रहेका छन् । ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी राजपा नेपाल भित्र उम्मेद्वार छनोट गर्न निक्कै रस्साकस्सी छ ।
हरेक स्थानीय तहमा आकांक्षी अत्यधिक भएकाले छनोट गर्न नेताहरुलाई समस्या परेको छ ।  उम्मेद्वार छनोटकाबीच केन्द्रीय नेताहरुको जिल्ला दौडहा पनि सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सप्तरीको भारदह र बिसनपुरमा चुनाव लक्षित कार्यकर्ता भेटघाट गरिसकेको छ । राजपा नेपालको अध्यक्ष मण्डलका नेताद्धय सरदसिंह भण्डारी र महेन्द्र यादबले पत्थरगाडामा चुनावी सभा गर्दे अन्य पार्टीका केही कार्यकर्ता भित्र्याए ।
यस पटकको निर्वाचनमा सप्तरीमा मुख्य दलहरुबाट नवप्रवेशीहरुले टिकट पाउने सम्भावना बढी छ भने नेताका परिवारबाट पनि टिकटका आकांक्षी बढी छन् ।  सहर र ग्रामिण क्षेत्रमा अहिले चुनावी रणनीति सहितको भेला, कोठे बैठकहरुले मध्यरात सम्म निरन्तरता पाउन थालेको छ । बिगतमा जनप्रतिनिधि रहिसकेका देखी लिएर नयाँ अनुहार र पुर्वमन्त्रीहरु समेत प्रमुख, उपप्रमुख पदका लागि दावेदार देखिएका छन् ।
हरेक राजनैतिक दलका उम्मेद्वार बन्ने आकाक्षी अत्यधिक भएपछि उम्मेद्वारको अन्तिम छनोट गर्न नेतृत्वलाई हाम्मै हाम्मै परेको छ ।  जिल्लामा पछिल्लो समय राजनैतिक धु्रवीकरण बदलिएसँगै कुनै एक राजनैतिक दलले जित्ने दावी गर्न सक्ने अबस्था नरहँदा बिभिन्न दलबीच गठबन्धनको सम्भावना पनि उतिकै छ । खासगरी मधेशवादी दलहरु, मधेशवादी माओवादी र मधेशीवादी कांग्रेसबीच छुटाछुटै स्थानीय तहमा गठबन्धनको सम्भावना जिवितै छ ।
दुई चरण सम्मको स्थानीय तहको निर्वाचन हेर्न र सुन्न मात्र भ्याएका सप्तरीका आम मतदाता असोज २ गते आफनो स्थानीय तहले समेत जनप्रतिनिधि पाउने सुनिश्चित भएपछि उत्साही भएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतपत्र लगायत सियोधागो समेत ६७ प्रकारको निर्वाचनमा प्रयोग हुने सामाग्री मतदान केन्द्रमा पठाउन तयारी अवस्थामा राखिएको जनाएको छ । यस्तै जिल्लामा मतदाता शिक्षा कार्यक्रम समेत संचालन भइसहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »