प्रदेश २ को निर्वाचन सुरक्षा योजना तयार

प्रकाशित समय 7:12:00 PM
देवबहादुर कुँवर
काठमाडौँ, २७ भदौ । सरकारले असोज २ गते सम्पन्न हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने योजना तयार गरेको छ । निर्वाचन सुरक्षाका लागि केन्द्रीय र जिल्लास्तरीय सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा समेत ल्याइसकेको गृहमन्त्रालयले जनाएको छ । गृह प्रवक्ता रामकुमार सुवेदी निर्वाचन शान्तिपूर्ण मात्र नभई उल्लासमय जनसहभागितामा सम्पन्न हुने गरी सुुरक्षा योजना तयार गरेको जानकारी दिए ।
उम्मेदवारी दर्तादेखि चुनावी चहलपहल शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्मरण गराउँदै प्रवक्ता सुवेदीले भने, ‘प्रदेश–२ मा निर्वाचन शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न राज्यको सम्पूर्ण निकाय सक्रिय छन् ।’ प्रदेश–२ को सम्पूर्ण जिल्ला छिमेकी देश भारतसँंग जोडिएकाले सम्भावित अपराधका घटना नियन्त्रण गर्न सीमाक्षेत्रमा तैनाथ दुई देशका उच्च पदाधिकारीहरूबीच छलफल भइसकेको छ । निर्वाचन सुरक्षाका लागि असोज १, २ र ३ गते नेपाल–भारत नाका बन्द गर्ने तयारी भइरहेको छ ।
उनले तीन दिन (७२ घण्टा) बोर्डर सिल गर्ने निर्णय भएको जानकारी दिए ।  निर्वाचन सुरक्षाका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको गरी करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश–२ को स्थानीय निर्वाचनमा बाक्लो सुरक्षा उपस्थितिसँगै नियमित चेकजाँच, गस्ती, उम्मेदवारको सुरक्षाव्यवस्था र भूमिगत शैलीमा राजनीति गर्दै आएका केही राजनीतिक पार्टीमाथिको निगरानीसँगै सुरक्षा व्यवस्था प्रभावकारी रहेको गृह प्रशासनले जनाएको छ ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । तीमध्ये सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन चरणमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।
प्रत्येक मतदान स्थलमा प्रहरी नायव निरीक्षक (सई) को कमान्डमा मतदान सुरक्षाव्यवस्था मिलाइएको छ । त्यसको बाहिर घेरामा प्रहरी निरीक्षक, त्यस बाहिर सशस्त्र प्रहरी र सेनाको गस्ती छ । मतदाता तथा उम्मेदवारहरूको सुरक्षाका लागि मतदानस्थलमा मात्र नभई गाउँबस्ती, सार्वजनिक स्थल, सवारी साधनका नियमित सुरक्षाजाँच र गस्ती बढाइएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले बताए ।
नेपाल–भारत नाकामा सुरक्षा जाँच कडा पार्नुका साथै सीमाक्षेत्रमा २४औँ घन्टा नियमित पैदल तथा सवारी गस्ती बढाइएको छ । प्रहरीका अनुसार शंकास्पद व्यक्ति तथा विगतमा आपराधिक गतिविधिमा संलग्न रही जेलबाट छुटेकाहरूलाई पनि उच्च निगरानीमा राखिएको छ । राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी चुनावी द्वन्द्व तथा झगडा हुन नदिन स्थानीय नेता, उम्मेदवार र कार्यकर्ताबीच छलफल चलाइएको जनाइएको छ ।
गृह प्रशासनले वैशाख ३१ गते सम्पन्न पहिलो, असार १४ मा सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनजस्तै तेस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण र सर्वसाधारणको पूर्ण सहभागितामा सम्पन्न हुने अपेक्षा गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »