नगरलाई नमुना बनाउने प्रतिबद्धता पूरा गर्ने : मेयर

प्रकाशित समय 7:11:00 PM
सिरहा, १० असोज । माटोले लिपेको, खर र टायलले छाएका घरले भरिएको झुरुप्प बस्ती । गाउँ ब्लक जग्गामा बसेको यो बस्तीमा पुग्दा बालबालिका यत्रतत्र दौडिरहेका थिए । महिला र युवा झुम्मिएर भलाकुसारी गरिरहेका थिए । बस्तीमा खुसीको सीमै थिएन ।
यो खुसी मधेसको दलित ‘पासवान’ बस्ती बेतहाका ३५ वर्षीय गंगा पासवान माओवादी केन्द्रबाट कर्जन्हा नगरपालिकाको मेयरमा निर्वाचित भए पछिको थियो । दलित पासवान समुदायबाट अहिलेसम्मकै कार्यकारी राजनीतिक पदमा पुग्ने भाग्यमानी गंगालाई सबैले घेरेर बधाइ दिइरहेका थिए ।
अभावै अभावमा दैनिक मजदुरी गरी स्कुल पढेका गंगा २०५८ तिर ‘जनयुद्ध’ मा होमिए । चार दाजुभाइमध्ये गंगा माहिला हुन् । जेठा राजाराम मजदुरी गर्छन् । कान्छा श्रीप्रसाद १२ कक्षा पढदै विद्यालयमा न्यून तलबमा काम गर्छन् । साहिँला बलि पासवान मजदुरी गर्छन् । अहिलेसम्म सगोलमै रहेको उनको परिवारका गंगा ‘जनयुद्ध’ मा होमिएपछि परिवारैले दुःख भोग्नुप¥यो ।
१ वर्षीय काखे छोरा राजलाई च्यापेकी गंगाकी पत्नी पवित्रीले भनिन् ‘गरिब जनताको मुक्तिका लागि लडाइँको मोर्चामा लागे भनेर हिँड्ेपछि घरमा रुवावासी नै चल्यो ।’ त्यसपछि पासवान परिवारमा कहिल्यै चैन भएन । ‘तत्कालीन सुरक्षा निकायले साह्रै दुस्ख दियो,’ उनले विगत सम्झिन, ‘कति रात भोकै, नसुतिकनै बितायौं, दिन–रात रुन्थ्यौं, चैनले घरमा बसेनौं ।’
जनमुक्ति सेनाको प्लाटुन कमान्डरसम्म भएका गंगा उदयपुरको खुर्सानीटार, महोत्तरीको जलेश्वरमा तत्कालीन शाही सेनासँगको जम्काभेटमा भिडेर जोगिए । २०५९ मा सेनाको बन्दीपुर ब्यारेक आक्रमणमा खुट्टामा चोट लागेर लामो समय थलिए । पछि भूमिगतरूपमा उपचार गराएर उनी फेरि पार्टीमै होमिए ।
शान्ति प्रक्रियापछि सेना समायोजनको क्रममा स्वेच्छिक बहिर्गमन रोजेर पूर्णकालीन राजनीतिमा लागेका थिए, गंगा । माओवादी केन्द्रका जिल्ला सदस्य, विघटित महाधिवेशन आयोजक समिति सदस्य र वाईसीएलको केन्द्रीय सदस्य भइसकेका पासवानले गरिब जनताको पक्षमा सदैव काम गरिरहेकाले अहिले मतदाताले पत्याएर भोट दिएको बताए ।
उनको टोलमा गाउँ ब्लक जग्गामा सय घरभन्दा बढी भूमिहीन सुकुम्बासी दलित पासवान समुदायको बसोबास छ । बस्तीका अधिकांश ज्याला मजदुरी गरी गुजारा चलाउँछन् । गंगासँगै आमा ५८ वर्षीया बिल्टी पासवान दिनहँु विजय जुलुसमा सहभागी हुन्छिन् । गंगाका बुबाको तीन वर्षअघि निधन भयो । ‘बुबा बाँचेको भए मेयर भएको देख्दा कति खुसी हुन्थे होला,’ गंगाका साहिँला भाइ बलिले भने, ‘जनयुद्धको दुस्ख मात्र भोगे, खुसी हुने बेला हेर्न पाएनन् ।’
संघर्षको मैदानमा धेरै दुस्ख, पीडा भए पनि पार्टीले मूल्यांकन गरेर पतिलाई ठूलो पदमा पु¥याएकोमा सावित्रीले विगतको पीडा भुलेको सुनाइन् । उनले भनिन, ‘पहिले दुस्ख थियो, अहिले खुसी छु ।’ सावित्रीमात्र होइन गरिबको छोराले मेयर पाउँदा बस्ती नै खुसी छ । ‘नसोचेको कुरा भयो,’ गंगाका दांैतरी आशाराम पासवानले भने, ‘गरिबका दिन पनि फिर्दा रहेछन् ।’
गंगालाई जिताउन बस्तीका सबैजना घरमै बिहानको खाना खाएर भोट माग्न निस्कने र साँझ फेरि घरमै खाना खाएर खटेको आशारामले सुनाए । ‘कार्यकर्तालाई खाना खुवाउने रकमसमेत थिएन,’ उनले भने । विजय जुलुसका क्रममा बस्तीपुर बगाहामा भेटिएका मेयर गंगाले चुनाव प्रचारप्रसारका लागि न्यूनतम खर्चको व्यवस्थापन पार्टीले नै गरिदिएको सुनाए ।
पार्टी शान्ति प्रक्रियामा आएपछि एसएलसी उत्तीर्ण गरेका उनले चुनावका बेला मतदातासामु गरेका गास, बास, कपाससहित स्थानीयस्तरमै रोजगारी सिर्जना गरी नगरलाई नमुना बनाउने प्रतिबद्धता पूरा गर्ने बताए ।
‘गोलबजारलाई जिल्लामै नमुना बनाउँछौं’
गोलबजारलाई पूर्व–पश्चिम राजमार्गले दुई भागमा छुट्टयाएको छ । यो जिल्लामै व्यवस्थित र बढदो सहरीकरण उन्मुख नगर हो । स्थानीय देवनाथ साहले यहाका सबै व्यापारीलाई संगठित गरी २०४७ मा गोलबजार उद्योग व्यापार संघ गठन गरेका थिए । संस्थागत अध्यक्ष रहेका उनले बजारसँगै व्यापार विस्तारको कामलाई २०६४ सम्मै निरन्तरता दिए । उनै देवनाथ साह माओवादी केन्द्रका तर्फबाट अहिले गोलबजार नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।
२०२९ मा अग्रिम ज्याला अभियान चलाएर वामपन्थी राजनीतिमा प्रवेश गरेका साहले असोज २ गते भएको स्थानीय तह निर्वाचनमा जित हासिल गरेर नगरमा वामपन्थी प्रभाव कायमै रहेको प्रमाणित गरेका छन् । उनले व्यापार संघको पहलमा २०५२ मा पहिलो पटक भीएचएफ टेलिफोन जडान गरी गोलबजारवासीलाई सञ्चार सुविधाको पहुँचमा पु¥याएका थिए । टेलिफोनबाट त्यतिखेर ८० हजार रुपैयाँ आम्दानी गरेपछि त्यो रकम गोलबजारमा क्याम्पस स्थापनाका लागि विद्यालयलाई हस्तान्तरण गरिदिए । उनी विद्यालयको व्यवस्थापन समिति सदस्य भए । २० वर्षसम्म समितिमा रहेर काम गरे । उनी पछि क्याम्पस सञ्चालक समिति सदस्य बने । यो नगरको जनसंख्या ५२ हजार १ सय ३७ छ । पहिलोपटक नगरको नेतृत्व लिएपछि साहले यो ठाउँलाई खेलकुद विकासको थलो बनाउन स्टेडियम निर्माण, हरित पार्क र एक घर एक बिरुवा अभियान चलाउने बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »