‘बल्ल पीडा सुन्ने मुखिया पायौं’

प्रकाशित समय 7:05:00 PM
सिरहा,१० असोज । पूर्व गल्थो, दक्षिण गागन र पश्चिम सहजा नदीले घेरिएको छ औरही गाउँपालिका । यादव बाहुल्य यो गाउँपालिकामा साह, सिंह (दनुवार), मुसहर, चमार र डोम जातिको मिश्रित बसोवास छ । दुई दशकदेखि थेग्रिएर बसेको पीडाको भारी गाउँका ‘मुखिया’ (अध्यक्ष) समक्ष बिसाउन जनता अतुर छन् ।
‘अब त जनताको लागि काम गर्छौं भनेर भोट मागेका नेता मुखिया (अध्यक्ष) भएका छन् । अलिकति भएपनि हाम्रो पीडा सुनुवाइ हुन्छ कि भन्ने आशा पलाएको छ ।’ रामविनय सिंह, औरही गाउँपालिका–४।
गागन नदीले प्रत्येक वर्ष खेतीयोग्य जमिन कटान गर्दैछ । सिडिओदेखि नदी नियन्त्रणका हाकिमसम्म गुहार्दा पनि समाधान निस्केको छैन । ‘यसपालि पनि हरकट्टीनजिक बाँध भत्काएर गागनको बाढी गाउँ पस्दा थुप्रै बिघा खेत बालुवाले पुरियो’, हरकट्टीका वीरेन्द्र शर्माले भने, ‘हाम्रो दुःखमा मलम लगाइदिने कोही भएन ।’ यहाँका बासिन्दालाई बर्सेनि सताउने बाढी र कटानको पीडाले नै हो ।
यहाँ मेडिकल अधिकृतको दरबन्दीसहितको प्राथमिक स्वास्थ्यकेन्द्र छ तर न दरबन्दीका चिकित्सक छन् न भौतिक संरचना नै गतिलो । सरकारी लगानीमा बन्न थालेको प्राथमिक स्वास्थ्यकेन्द्र भवन पनि वर्षौंदेखि अलपत्र छ । यसमा सोधीखोजी गर्ने, निर्माण कार्य अघि बढाउन ताकेता गर्ने कोही भएन ।
स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि आएपछि भने यहाँका जनतामा आशा पलाएको छ । ‘अब त जनताको लागि काम गर्छौं भनेर भोट मागेका नेता मुखिया (अध्यक्ष) भएका छन,’ औरही गाउँपालिका–४ का रामविनय सिंहले भने, ‘अलिकति भए पनि हाम्रो पीडा सुनुवाइ हुन्छ कि भन्ने आशा पलाएको छ ।’
निर्वाचनबाट जनप्रतिनिधि चुनिएपछि शर्मा र सिंहजस्ता थुप्रैको अनुहारमा भरोसाको उज्यालो छाएको छ । भारतीय सीमासँग जोडिएको बरियारपट्टी गाउँपालिकाको जिझौल टोलका सदायर र चमार सुकुमवासी जीवन बिताइरहेका छन् । कागजी झन्झटका कारण यो बस्तीका अधिकांश सुकुमवासीले नागरिकता प्राप्त गर्न सकेका छैनन् । नागरिकता नभएपछि रोजगारका लागि विदेश जान समस्या परेको उनीहरु सुनाउँछन् । ‘पहिला कर्मचारी हाकिम थिए, अहिले मुखिया हाकिम बनेको छ’, स्थानीय अञ्जली सदायले भनिन, ‘मुखियाले हाम्रो पीडा पक्कै बुझ्नेछ ।’ यो भरोसो अञ्जलीको मात्र नभएर यहाँका अधिकांश बासिन्दाको हो ।
४५ वर्षीय बहुरी सदाय परिवारका आठजना सदस्यसहित झुपडीमा बस्छन् । विगतमा सानोतिनो कामका लागिसमेत गाविस सचिवले निकै तनाव दिएको उनको भोगाइ छ । ‘कर्मचारीले त हामीलाई मान्छे नै गन्दैनन,’ उनले भने, ‘हामीले पीडा पोख्ने ठाउँ नै कहाँ पो थियो र ?’ सरकारले हामी दलित गरिबका लागि दिने सुविधा (सामाजिक सुरक्षा भत्ता, बालपोषण भत्ता) पनि कर्मचारीले नदिएको उनले गुनासो गरे । ‘चुनावका बेला भोट माग्न आउने नेताजीसँग आफ्नो समस्या सुनाएपछि जित्न दिनुस्, नआत्तिनुस् भन्नुभएको छ,’ उनले भने, ‘हेरौं, मुखले मात्र हो कि काम पनि गर्नुहुन्छ ।’
वर्षौंदेखि गुम्सिरहेको समस्या जनप्रतिनिधिले सम्बन्धित ठाउँमा पु¥याएर समाधानको पहल गर्लान् भन्ने जनताको अपेक्षा छ । जनताका प्रतिनिधि भएकाले माग पूरा गराउन केन्द्रीय सरकारसँग ‘पौंठेजोरी’ खेल्छन् भन्ने विश्वास पनि उत्तिकै छ । ‘हाम्रो समस्या बोकेर नेता अघि लागेपछि हामी पनि पछिपछि लाइन लाग्न तयार भइहाल्छौं,’ वर्षौंदेखि धुलाम्य सडकको समस्याबाट आजित भगवानपुर गाउँपालिका, ठाढीका दिलीप गुप्ताले भने, ‘हामीलाई भरोसा चाहिएको थियो, अहिले त्यो पाएका छौं ।’
सरकारसँग भगवानपुर गाउँपालिका क्षेत्रका बासिन्दाको धेरै ठूलो माग पनि छैन ।  लहान–भगवानपुर–ठाढी सडक कालोपत्रेको काम द्रुतगतिमा सम्पन्न होस्, विकास र व्यापारमुखी वातावरण निर्माण होस्, यति भए पुग्ने बताउँछन् यहाँका जनता । ‘चुनावमा त सबैले ‘सम्पन्न र समृद्ध सहर बनाउँछु’ भनेकै हुन,’ भगवानपुरका बासिन्दा भन्छन, ‘हामीले पनि पार्टी नभनी काम गर्नसक्ने विश्वासिलो मान्छेलाई भोट दिएर जितायौं, अब हेरौं, कसरी काम गर्छन् ।’ ‘समस्या सुनाउन गाविस कार्यालय जाँदा सचिवले सुन्दैनसुन्ने, सुनिहाले पनि हकारेर पठाउने गर्दा मन निकै दुख्थ्यो,’ स्थानीय सरकार नहुँदाको पीडा सुनाउँदै जिझौलका विनाथ सदायले भने, ‘जागिर खाने मान्छेलाई जनताको पीडा थाहा नहुँदोरैछ ।’ कर्मचारीसँग झगडा गर्दा उल्टै काम बिग्रिने डरले चुपचाप बस्नुपरेको उनले बताए । भोट हालेर जिताएका जनप्रतिधिसँग भने छाती पिटेर आफ्नो पीडा बिसाउने उनको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »