सेटीका अनुसार आशिषको साथबाट चन्दले लगाएको चार आना बराबरको सुनको मुन्द्रा समेत बरामद भएको छ । यही घटनामा संलग्न रहेको भन्दै प्रहरीले आशिषसहित कक्षा ८ मै अध्ययनरत तीन जना साथीलाई समेत पक्राउ गरी अनुसन्धान गरेको छ । आशिषले चन्दको हत्या गरेको स्वीकार गरे पनि अन्य तीन जनाले भने सुन राख्न र बेच्न सहयोग गरेको देखिएको प्रहरी नायव निरीक्षक सेटीले बताए । गत भदौ २५ गते स्कूलबाटै बेपत्ता भएका चन्दको बुधबार राति हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उनको स्कूलबाट झण्डै चार सय मिटर दक्षिणतर्फ खोलाको छेउमा झाडीमा शव फेला परेको प्रहरीले जनाएको छ । चन्दको त्यसै दिन हत्या गरिएको प्रहरीको भनाइ छ । स्कूलको खाजा समयमा हराएका चन्दको प्रहरी, विद्यालय प्रशासन र स्थानीयले खोजी गरिरहेका थिए । कञ्चनपुरमा पछिल्लो हत्याका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षमा २ जना बालबालिका सहित ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।
