‘टुकीकै भरमा कति बस्नु ?’

प्रकाशित समय 8:03:00 PM
लहान, ३० भदौ । अधिकांश मतदाताले स्थानीय चुनावका लागि भोट माग्दै दैलोमा आएका उम्मेदवारसँग बाटोघाटो, व्यवस्थित सहर, शैक्षिक सुधारको चाहना व्यक्त गर्दै आएका छन् । तर, उत्तरवर्ती विकट चुरे क्षेत्रका मड्यान, महाजनी, अम्बास, हात्तीमुडा, चकमकेलगायत तीन दर्जन गाउँ
का मतदाताको माग भिन्न छ । उनीहरू भन्छन, ‘खोलामा बाढी आउँदा गाउँमै थुनिनुपर्ने बाध्यता हटाइदिनेलाई भोट दिन्छौं ।’ खुट्टी, सर्रे, बेतहा र झिरहरी खोलामा बाढी आउँदा हरेक बर्खामा सदरमुकाम र बजारसँगको सम्बन्ध टुट्ने गर्छ । उम्मेदवारसँग उनीहरूले यी खोलामा पुल हाल्नुपर्ने माग गरेका छन् ।
‘हरेक उम्मेदवारसँग झोलुंगे पुल माग गरेका छौं,’ अम्बासका शंकर राईले भने, ‘यी खोला तर्न नसकेर हामी तीन महिनासम्म बजार र सदरमुकाम जान सक्दैनौं । पुल बनाइदिए हामीलाई अरू विकास चाहिएन ।’
बाटोघाटो, खानेपानीको चरम समस्या रहेको अम्बास, हात्तीमुडालगायत तीन दर्जन गाउँका बासिन्दा अझै टुकीकै भरमा रात काट्छन् । केही घरमा मात्र सोलार जडान छ । विकास र सरकारी पहुँचबाट टाढा रहेका यी बस्ती धनगढीमाई र लहान नगरपालिकामा पर्छन् । अधिकांश स्थानीय खेतीपातीबाट गुजारा गर्छन् । कसैले बाँसजन्य सामग्री बेचेर थोरै रकम आम्दानी गर्छन् । ‘तीन महिना बजारसँग सम्पर्क विच्छेद हुँदा आफ्नो सीप प्रयोग गरी बनाएको सामग्री बिक्री गर्नसम्म पाउँदैनौं,’ सन्तवीर राईले भने, ‘त्यसैले हामीलाई अरू विकासभन्दा खोलामा पुल चाहिएको हो ।’
स्थानीयले व्यावसायिक सीप उपलब्ध गराइदिन पनि माग राखेका छन् । ‘जंगलबाट ल्याएको भोर्लाको पातबाट टपरी बनाएर बिक्री गर्छौं तर बजारमा मेसिनबाट टपरी बनाएर बिक्री हुने गरेको छ,’ देवु आलेले भने, ‘हामीलाई पनि त्यस्तो मेसिन उपलब्ध गराएर सीप सिकाइदिए रोजगारीमा समस्या हुँदैनथ्यो ।’
विद्यार्थीले नजिकै विद्यालय हुनुपर्ने माग गरेका छन् । बालबालिका घण्टौं हिँडेर विद्यालय पुग्न बाध्य छन् । ‘विद्यालय पुग्न र आउन दुई घण्टा हिँड्नुपर्छ,’ कक्षा ९ मा अध्ययनरत हात्तीढुंगाकी सृजना कार्कीले भनिन् ‘बिहान नभ्याएर जहिल्यै पहिलो घण्टी छुट्छ ।’ यो क्षेत्रमा चार विद्यालय छन् । तर एक गाउँबाट अर्को गाउँ पुग्नै एक घण्टा लाग्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »