
उनले केही बेरमा विज्ञप्ति निकालेर राजीनामा घोषणा गर्ने उनी निकट स्रोतले जानकारी दियो । साढे २९ वर्ष प्रहरी सेवामा रहेर संगठनलाई उचाइँ दिने काम गरे पनि सरकारले उचित मूल्यांकन नगरेका कारण प्रहरी सेवामा बसिरहन उत्तम नभएको उनको बुझाइ छ ।
‘जीवनभर कानुनको परिपालना गरेँ, म कानुनको रक्षक हुँ,’ सिलवालले भने, ‘ममाथि योजनाबद्ध रुपमा आक्रमण भइरह्यो ।’ वरियता क्रम मिचेर जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि उनी अदालत गएका थिए। अदालतले चन्दलाई आइजिपी बनाउने सरकारी निर्णय खारेज गरेपछि प्रकाश अर्याल आइजिपी नियुक्त भएका थिए ।
अर्याललाई आइजिपी बनाएको भन्दै सिलवाल फेरि अदालत गएका थिए। उनले २०७३ चैत ३० गते अदालतमा रिट दायर गरेका थिए । उक्त रिट प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्वमा न्यायधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी समेत गरी सात न्यायाधीश सम्मिलित बृहत पूर्ण इजलासले खारेज गरिदिएको छ ।
डिआइजी सिलवाललाई सरकारले एआइजी बढुवाबाट समेत वञ्चित गरेको छ । चार महिनाअघि बहालवाला डिआइजी उनलाई प्रहरीले किर्ते गरेको आरोपमा पक्राउसमेत गरेको थियो । राजीनामापछि नयाँ कामको थालनी गर्ने उनले बताएका छन् ।
