ढुक्क भएर मतदान गर्न गृहमन्त्री शर्माको अपिल

प्रकाशित समय 5:57:00 PM
जनकपुर ,१८ भदौ । गृहमन्त्री जनार्दन शर्माले असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्न प्रदेश नम्बर २ का मतदाताहरुसँग अपील गरेका छन् ।
आइतबार यहाँको एक होटलमा गृह मन्त्रलायलले गरेको सुरक्षा गोष्ठीलाई संबोधन गर्दै उनले भने ‘एक आधा ठाउँमा बाढी पहिरोबाहेक कुनै अवरोध छैन । गृहमन्त्रालय शान्ति सुरक्षाको कडा व्यवस्था गरेको छ । मतदाताहरुसँग ढुक्क भएर मतदान गर्न आग्रह गर्न चाहन्छु ।’
संविधान कार्यान्वयन तथा राजनीतिक स्थायित्वका लागि तीन तहको निर्वाचन आवश्यक भएको उल्लेख गर्दै गृहमन्त्री शर्माले तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउन गृहमन्त्रालय कटिबद्ध रहेको बताए । २०७४ लाई निर्वाचन वर्षको संज्ञा दिँदै उनले भने ‘हाम्रो प्राथमिकता तेस्रो चरणको निर्वाचन भए पनि, मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा पनि जुटेका हौं ।’
गोष्ठीमा सहभागी सुरक्षा निकायका शीर्ष नेतृत्वसँगै आठ जिल्लाका प्रशासकहरुलाई संबोधन गर्दै उनले शान्ति सुरक्षासम्बन्धी कुनै समस्या भए, तत्काल समाधान गर्न अपील गरे । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले उपयुक्त समयमा संविधान संशोधन गरिने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा सहभागी आठ जिल्लाका प्रजिअहरुले आ–आफ्ना जिल्लाको शान्ति सुरक्षाबारे रिपोर्टिङ गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »