मैथिली भाषामा सपथ

प्रकाशित समय 6:51:00 PM
जनकपुर, ९ असोज । जनकपुर उपमहानगरपालिकाको नाममा ‘धाम’ थपिने भएको छ । नवनिर्वाचित पदाधिकारीहरुको सोमवार सम्पन्न पहिलो बैठकले जनकपुरधाम उपमहानगरपालिका नामाकरण गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको हो ।
यसैगरी जनकपुर उपमहानगरपालिका १२ स्थित दूधमती नदीको किनारमा निर्मित सन्त मौनीबाबाको गुफासम्मको बाटो जिर्ण भई सकेकोले मर्मत संभारको लागि अविलम्ब पहल गर्ने निर्णय समेत पहिलो बैठकबाट गरिएको छ ।  ‘जनकपुरको पहिचान धामको रुपमा रहँदै आएको छ । यस पहिचानलाई कायम राख्न जनकपुरधाम नामाकरण गर्न सम्बन्धित निकायमा आजैदेखि पहल सुरु गरेका हौं’ नवनिर्वाचित प्रमुख लालकिशोर साहले सञ्चारकर्मीसंग भने ।
प्रमुख साहले जनकपुर मैथिली भाषा, साहित्य, कला, संस्कृतिको उद्गमस्थल भएको उल्लेख गर्दै मिथिलाको पुरातन भाषा, साहित्य तथा पहिचान रक्षा गर्न हरसंभव प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । यसअघि महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा आयोजित शपथग्रहण समारोहमा प्रमुख लालकिशोर साह, उपप्रमुख रीता देवी मिश्रसहित २५ वडाका वडाध्यक्ष एवं सदस्यहरुले मैथिली भाषामा शपथ लिएका थिए ।
आफ्नो अभिव्यक्तिको क्रममा प्रमुख साह महाकवि विद्यापतिको एक कविता उदृत गर्दै भनेका थिए, ‘विद्यापतिले भनेका छन  देशिल वयना सवजन मिठ्ठा अर्थात् सर्वसाधारणले बोल्ने (मातृ) भाषा मिठो हुन्छ । हामी मैथिलीमा शपथ लिन्छौं ।’ प्रमुख साहको यो अभिव्यक्ति सुनेर निर्वाचित पदाधिकारी, वडासदस्यहरु एवं अन्य सहभागीहरु जोडदार ताली बजाएका थिए  ।
साहले आफ्नो जीतलाई मधेस आन्दोलनको उपलब्धि भएकोसमेत उल्लेख गरे । उनले नगरको विकास निर्माणसंगै मधेस अधिकारको वकालत जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरे । अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर काम थाल्ने उद्घोष गरेका प्रमुख साहले सरसफाई, नगरको फोहर व्यवस्थापन लगायतका काम यथाशिघ्र थाल्ने बताए । यसका अतिरिक्त युवाहरुमा व्याप्त दुव्र्यसन, स्तरीय शिक्षा तथा स्वास्थ्य सेवाका लागि पनि पहल गर्ने उनले बताए । २०५४ सालदेखि ०५९ सालसम्म जनकपुर उपमहानगरपालिकाको उपमेयरको रुपमा काम गरिसकेका नवनिर्वाचित प्रमुख साहले उपमहानगरपालिका परिसरमा प्रवेश गर्नुपूर्व मूलद्वारमा दण्डवत प्रणाम गरेका थिए । परिसर भित्र स्थापित राजदेवी मन्दिरमा पूजा अर्चना गरेपछि उनले उपमहानगरपालिका परिसरमा चन्दनको विरुवा रोपेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »