राजविराजमा राजपा र माओवादीबीच मुख्य प्रतिस्पर्धा

प्रकाशित समय 5:24:00 AM
सन्जिब/भानुभक्त
राजविराज, २८ भदौ । प्रदेश नम्बर २ को पूर्वी सहर राजविराजमा हरेक चार घरपछि बाटो आउँछ । सहरमा पार्क, पोखरी, क्याम्पस, अस्पताल, मन्दिर, पार्किङ, बसपार्क सबैथोक चाहिने ठाउँमा बनाइएका छन् । नेपालमा थोरै सहर छन, जुन यति ब्यवस्थि
त हिसाबले बनाइएका छन् । आधुनिक सहरको अवधारणामा टेकेर ६० वर्षअघि योजनाबद्ध ढंगले स्थापना गरिएको सहर हो राजविराज ।
तर आजका दिनमा नेपालमा थोरै सहर होलान् जो राजविराज जति अस्तव्यस्त छन् । राजविराजका सडकमा खाल्डाखुल्डीका टाटाले भरिएका छन, चोकमा फोहोर थुप्रिएको छ । यहाँका अस्पताल, विद्यालय र क्याम्पसको गुणस्तर खस्केको छ । पूर्व–पश्चिम राजमार्गको रूपनी बजारबाट १० किलोमिटर दक्षिणमा पर्ने राजविराज, जो सप्तरी जिल्लाको सदरमुकाम र पञ्चायत कालमा सगरमाथा अञ्चलकै सदमुकाम थियो, अहिले  यसले आधुनिक सहरको कुनै छनक दिदैन ।
असोज २ गते दुई नम्बर प्रदेशका अरू गाँउ, सहरसँगै राजविराजले पनि योजनाबद्ध र पुरानो नगरको छवी उकास्न २० वर्ष पछि नयाँ मेयर चुन्दैछ । यहाँ राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबीच तीव्र प्रतिष्पर्धा छ भने नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार पनि धेरै पछि छैनन् । राजविराज नगरका १६ वडामध्ये १० वडाका चार दर्जन बढी सर्वसाधारणसँग संचारकर्मीसंग कुराकानी गर्दा राजविराजमा राजपा बलियो देखिएको छ । हामीले कुराकानी गरेकामध्ये २७ प्रतिशतले राजपालाई मत दिने बताए । तीमध्ये धेरैले यसअघि राजपामा एकता भएका छ मधेसी पार्टी मध्ये कुनैलाई भोट हालेका थिए ।
तर २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस, एमालेलगायतका पार्टीलाई भोट हालेका कतिपयले पनि यसपालि राजपालाई भोट हाल्ने बताए । मधेस आन्दोलनमा राजपाको भूमिकाका कारण उसलाई भोट दिन लागेको उनीहरुको तर्क छ । राजविराज–४ का बजरंगप्रसाद साहले मधेस आन्दोलनमा यहाँका जनता सहिद भएकाले राजपालाई नै भोट दिने बताए । ‘मैले पहिला एमालेलाई भोट दिन्थेँ, तर संविधान संशोधनको माग राखेर राजपाले आन्दोलन ग¥यो त्यतिबेला सरकारमा रहेको एमालेले त्यो आन्दोलनलाई सुनेन, त्यही भएर म यो पालि राजपालाई भोट हाल्छु’, उनले भने ।
यसअघि कांग्रेसलाई भोट हालेका राजविराज ८ का सुरेशकुमार रंगटाले यसपालि राजपालाई भोट दिने बताए । ‘यहाँ कांग्रेसले सही उम्मेदवार छान्न सकेन । कांग्रेसभन्दा मलाई राजपा उम्मेदवार व्यक्तिगत रूपमा मन परेको छ । पार्टीभन्दा पनि व्यक्ति हेरेर भोट हाल्दैछु,’ उनले भने । राजपाको कडा टक्कर माओवादी केन्द्रसँग देखिन्छ । हामीले कुराकानी गरेकामध्ये १७ प्रतिशतले मेयरमा माओवादी केन्द्रका उम्मेदवार अनिश अन्सारीलाई मत दिने बताए ।
यहाँ माओवादीको उपस्थिति पनि बलियो हुनुका पछाडि दुई कारण छन् । पहिलो, गत संविधान सभा चुनावमा राजविराज नगर पनि पर्ने सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट माओवादीका उमेश यादव विजयी भएका थिए । यादवलाई भोट हालेका धेरै मतदाता यसपालि माओवादीलाई नै भोट हाल्ने बताए । सिँचाइ मन्त्री हुँदा यादवले यो क्षेत्रमा प्रशस्त बजेट ल्याएको यहाँका स्थानीयको भनाइ छ । नगरमा पनि माओवादी नेतृत्व आए केन्द्रदेखि नगरसम्म काम गर्न सजिलो हुने केहीको तर्क छ ।
दोस्रो, मुस्लिम समुदायको मत हो । कुल ३५ हजार मतदाता रहेको राजविराजमा १० प्रतिशत भन्दा बढी मुस्लिम मतदाता छन् । माओवादी केन्द्रका उम्मेदवार अन्सारी मेयरमा मुस्लिम समुदायका एक्ला उम्मेदवार हुन् । मुस्लिम उमेद्वारका पक्षमा प्रायः एकलौटी भोट हाल्ने मुस्लिम समुदायले अन्सारीलाई नै भोट दिए प्रवल सम्भावना रहन्छ । माओवादीको पार्टीगत भोट र मुस्लिम समुदायको एकलौटी भोट पाए भने अन्सारी पनि राजविराजमा मेयरको बलियो दावेदार बन्छन् ।
राजविराज ४ का आलम अन्सारीले माओवादी उम्मेदवारलाई दिएको मत खेर नजाने बताए । ‘अनिश अन्सारी राम्रो मान्छे छ, उसलाई दिएको भोट खेर जान्न त्यही भएर म उसैलाई भोट हाल्छु,’ उनले भने ।
राजविराजमा संघीय समाजवादी फोरमको पनि उपस्थिति बलियो छ । फोरमले व्यापारिक पृष्ठभूमिका भीमराज यादवलाई मेयरमा उठाएको छ । उनी साधन श्रोतका हिसाबले बलिया उम्मेद्वार हुन् । उनलाई राजविराजमा यादवहरुको उल्लेख्य उपस्थितिको पनि फाईदा हुनेछ । फोरमको नेतृत्व गरिरहेका उपेन्द्र यादवका कारण पनि यहाँका धेरै यादव मतदाता फोरम तर्फ आकर्षित छन् । राजविराज नगरका लगभग २० प्रतिशत मतदाता यादव छन् । हामीले कुराकानी गरेकामध्ये १५ प्रतिशतले मेयरमा फोरमका यादवलाई मत दिने बताए ।
राजविराज नगरको सबैभन्दा बढी ३११० मतदाता रहेको वडा नम्बर ९का स्थानीय हुन् यादव । यसको पनि केही लाभ उनलाई मिल्नेछ । मलेठका रामअवतार मण्डलले वडाअध्यक्षमा कांग्रेसलाई मत दिए पनि मेयरमा भिमराज यादवलाई मत दिने बताए । ‘हामीले वडामा कांग्रेसलाई र मेयरमा भीम दाइलाई मत दिने सल्लाह गरेका छौं । आफ्नै वडाको मान्छे मेयर भयो भने पछि राम्रो हुन्छ,’ उनले भने । त्यसो त राजविराजमा कांग्रेसको पनि परम्परागत उपस्थिति छ । हामीले कुराकानी गरेकामध्ये १२ प्रतिशतले कांग्रेसलाई मत दिने बताए । आफूले पहिलादेखि नै मत हालेको पार्टी भएकाले यसपालि पनि कांग्रेसलाई नै मत दिने उनीहरु तर्क राख्छन् ।
‘हामी त पहिलादेखि नै कांग्रेस हो । जितोस् कि हारोस् त्यो मलाई मतलब छैन,’ राजविराज–१५ का महिनारायण साहले भने । कांग्रेसका लागि चुनौतीचाहिँ आफ्ना पुराना मतदाता जोगाइ राख्नु हो । हामीले कुराकानी गरेकामध्ये धेरैले यसअघि कांग्रेसलाई मत दिए पनि यसपालि राजपालाई मत दिने बताए । आफ्ना मतदातालाई जोगाएर अरू थप भोट बटुल्यो भने मात्र राजविराजमा कांग्रेस प्रतिष्पर्धी बन्नेछ ।
नेकपा एमालेको उपस्थिति भने राजविराजमा कमजोर छ । उसको प्रचारप्रसार पनि अरू पार्टीको तुलनामा कमै छ । हुनत राजविराजको सबैभन्दा धेरै मतदाता भएको मलेठ एमालेको प्रभाव क्षेत्र हो । तर एमालेको आभसभामा मलेठमै पाँच जनाको मृत्यु भएकोले एमाले अहिले रक्षात्मक अवस्थामा छ । हामीले कुरकानी गरेका मध्ये ६ प्रतिशतले मात्र एमालेलाई मत दिन्छु भने । आफू बिगतदेखि नै एमाले भएकोले एमालेलाई मत दिने राजविराज ७ का शिवनारायण यादवले बताए ।
‘एमाले मधेस विरोधी पार्टी होइन । यसलाई आरोप मात्रै लगाइएको हो । एमालेले नै देशको विकास गर्छ,’ उनले भने । नेपाल लोकतान्त्रिक फोरमका उमेदवार शैलेशकुमार चौधरीको पक्षमा जनमत धेरै नभए पनि उनी राजविराजका परिचित अनुहार हुन् । उनले पाउने मत जितका लागि निर्णायक हुन नसके पनि उनको मतले नतिजा बदलिन सक्छ । किनकि उनी यसअघिका मेयर समेत हुन् । सप्तरीको चुनावमा मत विभाजन प्रायः यादव र गैरयादवबीच विभाजित हुन्छ ।
हामीले कुराकानी गरेका मध्ये बीस प्रतिशत मतदाता खुल्न चाहेनन् । यहीं मत नगरपालिकोको मेयरको जितका लागि निर्णायक हुन सक्छ । राजविराज ७ का जुगेश्वर यादवले भोट दिने खालको उम्मेदवार आफूले नदेखेकोले कसलाई दिने भनेर निर्णय नगरेको बताए । ‘राजविराजको राजनीतिमा इमान्दारिता भन्ने कुरै भएन, नत सिद्धान्त नै बाँकी रह्यो,’ उनले भने,‘मधेस आन्दोलनमा ज्यानको बाजी राखेर होमिएको व्यक्ति एमालेमा गएको छ ।’ आफूले यसअघि कांग्रेस एमाले सबैलाई मत दिइसकेको उनले बताए ।
राजविराज ७ का अर्का मतदाता सन्तोष गुप्ताले पनि कसलाई मत दिने भनेर निर्णय गरिसकेका छैनन् । ‘भोट हाल्ने दिनसम्म जुन पार्टीले जित्ला जस्तो लाग्छ त्यसलाई भोट दिन्छु । यसअघि त मैले माओवादी केन्द्र भोट हालेको हो । यसपाली कुन पार्टीलाई भोट दिन्छु थाहा छैन,’ उनले भने । राजविराजको चुनावमा यहाँको जातिय फ्याक्टर महत्वपूर्ण हुने गर्छ । यादव जातीको बाहुल्यता रहेको राजविराजमा राजपा, संघीय समाजवादी फोरम र एमालेबाट यादव समुदायकै व्यक्ति उम्मेदवार बनेका छन् । मुस्लिम समुदायको मत तान्नका लागि माओवादी उम्मेदवार रहेका छन् । विशेष गरी थोरै थोरै संख्यामा रहेका र यादव बाहेकका अन्य समुदायको मत कसलाई जान्छ भन्ने कुरा पनि महत्वपूर्ण छ ।
कुल ३५ हजार मतदाता रहेको राजविराजमा दलहरुबीचको तिब्र प्रतिश्पर्धा देखिएकोले मत बाँढिने छ । जसले ६ देखि ८ हजार मत ल्याउँछ, त्यही विजयी हुने आंकलन धेरैको छ । अहिलेसम्मको मतदाताको मनस्थिति र चुनावी माहोल हेर्दा भने राजपा र माओवादी केन्द्र बिचनै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »