सभामुखको निर्लज्ज निरंकुशता : कोरम नपु¥याई जबर्जस्ती विधेयक पारित

प्रकाशित समय 6:39:00 PM
काठमाडौं, ९ असोज । सोमबारको संसद बैठकको कार्यसूचिमा देवानी संहिता विधेयक २०७१ माथिको छलफल तोकिएको थियो । पूर्व निर्धारित कार्यक्रमअनुसार संसदको दोस्रो बैठकमा सभामुख ओनसारी घर्तीले सो विधेयकमाथि छलफलमा भाग लिन सांसदहरुलाई समय दिइन् । एक दर्जनभन्दा बढी सांसदले तीन मिनेटको निर्धारित समयमा आ–आफ्नो मन्तव्य राखे ।
दोस्रो बैठक सुरु भएको १ घन्टा २५ मिनेटसम्म सांसदहरुले विधेयकमाथि आ–आफ्नो राय प्रस्तुत गरे। बोल्ने अधिकांश सांसदहरुले देवानी संहिता विधेयक बौद्धिकता र अनुभवहरुबाट हाँसिल निचोडहरुको दस्तावेज भएको भन्दै प्रशंसा गरे । सांसदहरुको बोल्ने क्रम सकिएपछि सभामुख घर्तीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिन समय दिइन् । उनले करिब ६ मिनेटमा आफ्नो जवाफ सक्काउँदै भने, ’देवानी संहिता एउटा अन्तर्राष्ट्रिय स्तरको कानुन हुनेछ ।’ उनले विधेयक पारित गरिदिन आग्रह गर्छन् ।
मन्त्रीको जवाफ सकिएपछि सभामुखले भनिन, ’अब म देवानी कार्यविधि संहिता विधेयक २०७१ का सम्बन्धमा विधायन समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ४३६ देखि पूरक प्रतिवेदनको क्रम संख्या १ देखि १२ सम्म उल्लिखित संशोधनहरुलाई निर्णार्थ प्रस्तुत गर्दछु ।’ टाउको तल हेरेर पढ्दै बोलिरहेकी उनले टाउको ठाडो पारेर हलतर्फ हेरिन् । त्यहाँ बायाँ कुना एक जना सांसद हात उठाएर केही भन्न खोजिरहेका हुन्छन् । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा गणपूरक संख्या नपुगेकाले यस्तो अवस्थामा विधेयक पारित हुन सक्दैन भनिरहेका थिए ।
’के भो माननीय सदस्य?’, सभामुखले भनिन् ।
’विधेयक निर्णयार्थ प्रस्तुत गर्नु अगाडि गणपूरक संख्या यकिन गर्न आग्रह गर्दछु’, उनले जवाफ दिए । विधेयकमाथिको छलफल सुरु भएको करिब एक घन्टा ३० मिनेटमा सुवालले गणपूरक संख्यामा शंका जनाउँछन् । त्यतिबेला संसदको हल लगभग खाली नै हुन्छ । अझ सत्ता पक्षको कुर्सीमा पातलो संख्यामा मात्र सांसद उपस्थित हुन्छन् ।
सांसद सुवालको माग बमोजिम सभामुख ओनसारी घर्तीले संविधानको धारा ९४ अनुसार तीन मिनेटसम्म घन्टी बजाएर सांसदहरुको उपस्थिति संख्या गणना गर्न आदेश दिन्छिन् । लगातार तीन मिनेटको घन्टी सुनेर बाहिर भएका केही सांसदहरु भित्र फर्किन्छन् । अन्तिम परिणाम आउँछ संसद हलमा १५१ जना सांसद छन् । यो तथ्यांक त्यतिबेलाको हो जतिबेला संसदको दोस्रो बैठक सुरु भएको एक घन्टा ३५ मिनेट बितेको हुन्छ । गणपूरक संख्या १४८ हुनुपर्नेमा १५१ जना देखिएपछि सभामुखले मुलुकी देवानी संहिता विधेयक २०७४ निर्णयार्थ सदनमा पेश गर्छिन् । करिब ७ मिनेटमा विधेयक बहुमतले पारित हुन्छ ।
त्यसपछि उनले विधेयकका दफामा छलफलका लागि आह्वान गर्छिन् । यही बेला केही सांसदहरु हल छोडेर बाहिर निस्किन थाल्छन् । त्यो दृश्य सभामुखले पनि देखिरहेकी हुन्छिन् । दोस्रो बैठक सञ्चालन भएको एक घन्टा ५५ मिनेटसम्म दुई दर्जनभन्दा बढी सांसद संसदको हल छोडेर बाहिर जान्छन् । विधेयक पारितकै क्रममा सभामुखले  देवानी कार्यविधि संहिता २०७१ विधयान समितिको प्रतिवेदन क्रम संख्या १ देखि १८२ सम्म र पूरक प्रतिवेदनको क्रम संख्या १ देखि १० सम्म संशोधनहरुलाई निर्णार्थ प्रस्तुत गर्छिन् । दोस्रो बैठकको १ घन्टा ५८ मिनेटमा बितेको हुन्छ भने सांसद गणना गरेको २८ मिनेट बितेको हुन्छ ।
सो समयमा संसदको हलमा सांसदहरुको उपस्थिति संख्या जम्मा १२१ मात्र हुन्छ । संसदले गणपूरक संख्या (१४८) गुमाएको थाहा पाएका नेमकिपाका सांसदहरु प्रेम सुवाल र अनुराधा थापा मगरले सो अलोकतान्त्रिक पद्धति रोक्न प्रयास गर्छन् । उनीहरु केही बोल्न खोज्छन् तर सभामुख ओनसारी घर्ती त्यसलाई बेवास्ता गर्दै निरंकुश रुपमा संसद बैठक अगाडि बढाउँछिन् । र गणपूरक संख्या गुमाएको संसद बैठकले ती संशोधनहरुलाई पारित भएको घोषणा गर्छिन् । जानी–जानी संसदमा गणपूरक संख्या नभएको अवस्थामा सभामुखले विधेयक पारित गराएको नेपालको इतिहासमा यो पहिलो घटना हो । नागरिकन्यूज अनलाइनबाट

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »