राजपा मधेसका सहरमा सिमित, फोरम गाउँमा बलियो

प्रकाशित समय 7:29:00 PM
काठमाडौं, ४ असोज । दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामले राष्ट्रिय जनता पार्टी (राजपा) मधेसका सहरमा मात्रै सिमित देखिएको छ । ६ वटा पार्टी मिलेर राजपा बनेपछि प्रदेश नम्वर दुईको निर्वाचनमा यो पार्टीले राम्रो गर्ने अपेक्षा धेरैले गरेका थिए । यो अपेक्षाका पछि केही कारण थिए । राजपामा मिसिएका ६ वटा पार्टीको मत जोड्दा दोस्रो संविधानसभामा यो पार्टी प्रदेश नम्वर दुईको सबैभन्दा ठूलो पार्टी बन्थ्यो । राजपामा आबद्ध दलहरूले प्राप्त गरेको मत जोड्दा समानुपातिक १८ प्रतिशत मत राजपाको पोल्टामा थियो । प्रदेश नम्बर दुईमा दोस्रो ठूलो पार्टी कांग्रेसको १७ प्रतिशत र तेस्रो ठूलो पार्टी एमालेको १६ प्रतिशत मत थियो । जबकी मधेसको अर्को प्रमुख पार्टी संघीय समाजवादी फोरमको ७ प्रतिशत हाराहारी मात्र मत थियो ।
त्यसमाथि राजपासँग मधेस आन्दोलनको सेन्टीमेन्ट पनि थियो । तर प्रारम्भिक मतपरिणाममा राजपाको उपस्थिति मधेसका केही शहरमा मात्र बलियो देखिएको छ । पहाडे बस्ती पनि बाक्लो भएका पूर्व–पश्चिम राजमार्ग वरिपरिका गाँउ, नगरमा राजपा कमजोर हुने पहिलेनै धेरैको अनुमान थियो । दुई नम्बर प्रदेशको दक्षिणी क्षेत्र हुलाकी राजमार्जको आसपासका क्षेत्रमा भने यो पार्टीले धेरै सिट जित्ने अपेक्षा गरिएको थियो । तर राजपाको प्रभाव दुई नम्वर प्रदेशका केहि शहरमा मात्र सिमित देखिएको छ । यो प्रदेसका सिमावर्ती गाँऊहरुमा राजपाको तुलनामा संघीय समाजवादी फोरम बलियो देखिएको छ ।
दुई नम्बर प्रदेशका सबैभन्दा ठूला सहर वीरगन्ज र जनकपुरमा राजपा बलियो देखिएको छ । राजपा र कांग्रेसबीच वीरगन्जको मेयरमा नेपाली कांग्रेससँग कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्मको मतगणनामा यहाँ  राजपा, कांग्रेस अघिपछि हुने क्रम जारी छ । जनकपुरको मेयरमा भने राजपाले सुरूदेखि नै अग्रता लिइरहेको छ । यहाँ राजपाले कांग्रेससँगको दुरी निरन्तर बढाउदै लगेको छ ।
महोत्तरी सदरमुकाममा पनि राजपा, नेपाली कांग्रेस र संघीय समाजवादीको त्रिकोणात्मक प्रतिस्पर्धा चलिरहेको छ । त्यस्तै रौतहट सदरमुकाममा पनि राजपा र एमाले बिच कडा प्रतिस्पर्धा चलिरहेको छ । मधेस आन्दोलमा महत्वपूर्ण भूमिका खेलेका बलियो देखिएको राजपा सिमावर्ती गाउँमा भने कमजोर देखिएको छ । सहरी क्षेत्रमा मधेस आन्दोलनको ‘सेन्टिमेन्ट’ राजपाले पाए पनि ग्रामिण क्षेत्रमा मधेस कन्द्रित दल मध्ये फोरम मददाताको रोजाईमा परेको छ ।
हुलाकी राजमार्ग आसपासका ३७ स्थानीय तहको प्रारम्भिक मतपरिणाममा राजपाले ७ वटा स्थानीय तहमा मात्रै अग्रता लिइरहेको छ । यो सूचीमा वीरगञ्ज पनि समावेश छ । अहिलेसम्मको मतगणनाअनुसार सिमावर्ती क्षेत्रका यी स्थानीय तहमा राजपा तेस्रो स्थानमा छ । समग्र दुई नम्बर प्रदेसमा जस्तै नेपाली कांग्रेस यी सिमावर्ती गाँउहरुमा पनि सबैभन्दा अगाडि देखिएको छ । कांग्रेसले ३७ मध्ये ११ स्थानमा अग्रता लिइरहेको छ । दोस्रो नम्वरमा रहदै संघीय समाजवादी फोरमले १० स्थानमा अग्रता लिइरहेको छ ।
एमालेले ४, माओवादीले २ र नेपाल लोकतान्त्रिक फोरमले १ स्थानमा अग्रता लिइरहेका छन् । प्रदेश नम्वर दुईको उत्तरी बेल्टमा कमजोर राजपाले दक्षिणी क्षेत्रमा पनि राम्रो गर्न नसकेपछि पछिल्लो संविधानसभामा यो प्रदेसमा सबै भन्दा धेरै भोट ल्याएको राजपा प्रदेशको पाँचौ ठूलो पार्टीमा धकेलिने सम्भावना बढेको छ ।
अहिलेसम्मको मतपरिणाममा प्रदेश नम्वर दुईमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी तेस्रो र संघीय समाजवादी पार्टी चौथो स्थानमा देखिएका छन् । ६ पार्टी एकीकरणको लाभ राजपा उम्मेदवारले पाएको देखिँदैन । बरू उल्टै कतिपय स्थानमा टिकट वितरणमा विवाद हुँदा पार्टीका उम्मेदवारलाई अप्ठ्यारो परेको देखिन्छ । स्थानीय तह निर्वाचनको टिकट वितरणमा कुरा नमिलेकै कारण राजपाका महामन्त्री विमल श्रीवास्ताव पार्टी छोडेर मात्रै गएनन, वीरगञ्जमा फोरम लोकतान्त्रिकबाट मेयरका उम्मेदवार नै बने ।
अर्का महामन्त्री जंगिलाल रायले पनि टिकटकै विषयमा विवाद भएपछि पार्टी परित्याग गरे। महोत्तरी जिल्लाको अध्यक्ष मण्डलका सदस्य नरेन्द्र यादव पनि मेयरको टिकट नपाएपछि पार्टी परित्याग गरे । ६ वटा पार्टीका नेताहरू एक ठाउँ भएपछि सबैले एकिकृत पार्टीको उम्मेदवारलाई पनि सहयोग गरेनन् । त्यसकारण पनि राजपा एकीकरणको अपेक्षित प्रभाव यो निर्वाचनमा परेको देखिएन ।
राजपा कमजोर हुदाँ त्यसको तुलनात्मक लाभ कांग्रेस र समाजवादी फोरमले लिएका छन् । कांग्रेस मधेसको सबै भन्दा ठूलो पार्टी बन्ने तिर अग्रसर देखिन्छ भने फोरम सबै भन्दा शक्तिशाली मधेसी पार्टी बन्ने लक्षण देखिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »