एमाले सांसद मतगणनास्थल पस्न खोज्दा झडप, उम्मेदवारसहित दुई जना घाइते

प्रकाशित समय 8:00:00 PM
रौतहट, ३ असोज । रौतहटमा नेपाली कांग्रेसका कार्यकर्ताले मतगणनास्थलमै एमालेका उम्मेदवारसहित दुई जनालाई आक्रमण गरी घाइते बनाएका छन् । वृन्दावन नगरपालिकाको मतगणना भइरहेका बेला काग्रेस–एमालेबिच झडप भएका होे । घटना विवरणअनुसार मतगणना भइरहेको अवस्थामा आफ्नो पार्टीका उम्मेदवार भेट गर्न एमाले सांसद रामकुमार भट्टराई पुगेका थिए । कांग्रेस कार्यकर्ताले मतगणनास्थलमा पस्न नपाउने भन्दै अवरोध गरेपछि दुवै पक्षबिच विवाद भएको थियो । विवादपछि झडप हुँदा कांग्रेस कार्यकर्ताको कुटाईबाट एमाले वृन्दावन नगरपालिका वडा नं. ६ का उम्मेवदार धर्मेन्द्र पटेल र एमाले कार्यकर्ता सुनिल पटेलको टाउको फुटेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मत गणनास्थल बाहिर होहल्ला भएपछि मतगणना गरिरहेका कांग्रेस, एमालेका प्रतिनिधिहरु बाहिर आएका थिए । बुथ प्रतिनिधिले मतगणनास्थ छोडेर बाहिर आउँदा केहीबेर मतगणना कार्य रोकिएको वृन्दावन नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले बताए ।
‘‘म आफ्ना उम्मेदवारलाई भेट्न जाँदा कांग्रेस कार्यकर्ताले अवरोध गरी आक्रमण गरेका दुई जना कार्यकर्ताको टाउको फुटाइदिएका छन’ सांसद भट्टराईले भने । उम्मेदवार पटेल र सुनिललाई कुट्न थालेपछि प्रहरीले सांसद भट्टराईलाई सुरक्षित स्थानमा लगेर जोगाएको थियो । निर्वाचन अधिकृत उपाध्याय घिमिरेले मतगणना बाहिर होहल्ला हुँदा अवरुद्ध भएको मतगणना अहिले सञ्चालन भइसकेको जानकारी दिए ।
सुरक्षा प्रमुखहरु घटनास्थलतर्फ
जिल्लाका सुरक्षा प्रमुखहरु घटनास्थलतर्फ लागेका छन् । प्रमुख जिल्ला अधिकारी उद्धबहादुर थापा, एसपी यज्ञविनोद पोखरेल, सशस्त्रका एसपी प्रेमराज पोखरेल, राष्ट्रिय अनुसन्धानका एसपी नवीन अधिकारी वृन्दावन नगरपालिकाको मत गणनास्थल गइरहेको स्रोतले बतायो । घटनास्थल रौतहट सदरमुकाम गौरबाट झण्डै ४२ किलोमिटर टाढा पर्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »