सिरहाका १७ स्थानीय तहमा साढे ४ हजार बढी उम्मेदवार चुनावी मैदानमा

प्रकाशित समय 8:38:00 AM
मणिलाल विश्वकर्मा
लहान, २५ भदौ । स्थानीय तह तेस्रो चरणअन्तर्गत २ असोजमा हुने निर्वाचनका लागि सिरहाका १७ स्थानीय तहका विभिन्न पदमा ४ हजार ७ सय १९ जना चुनावी मैदानमा छन् । सिरहाको ८ नगरपालिका र ९ गाउँपालिकामा १ हजार ८ सय ९६ महिला र २ हजार ८ सय २३ पुरुष उम्मेदवार दलगत र स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी दौडमा छन् । सिरहा सदरमुकामसमेत रहेको सिरहा नगरपालिकाबाट १८ जना प्रमुख र १० जनाले उपप्रमुखको उम्मेदवारी दिएका छन् ।
कुल २२ वटा वडा रहेको सिरहा नगरपालिकामा कुल पाँच सय ५० जनाले उम्मेवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ । त्यस्तै, मिर्चैया नगरपालिकामा एक महिलासहित २२ जना प्रमुख, ९ जना उपप्रमुखसहित ४ सय ४६ जना उम्मेवारको रुपमा मतदातासँग मत माग्न व्यस्त रहेका छन् । जिल्लाकै मुख्य बजार मानिने लहान नगरपालिकामा ७ स्वतन्त्रसहित १५ जना प्रमुख पदका लागि उम्मेवारीसहित चुनावी अभियानमा छन् भने ८ जना उपप्रमुख पदको दौडमा छन् ।
जिल्लामा सबैभन्दा बढी लहान नगरपालिकाबाट ७ सय २८ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । नवघोषित कल्याणपुर नगरपालिकामा २० जना प्रमुख, १० जना उपप्रमुखसहित ३ सय ६७ जना, गोलबजार नगरपालिकामा एक महिलासहित २६ जना प्रमुख, १० जना उपप्रमुखको उम्मेदवारमध्ये तीनजना पुरुष रहेका छन् । गोलबजारबाट तीन सय ९६ जनाको उम्मेदवारी परेको छ ।
धनगढीमाई नगरपालिकामा १७ जना प्रमुख, ८ जना उपप्रमुखसहित तीन सय ७२ जना, सुखीपुर नगरपालिकामा एक महिलासहित २१ जना प्रमुख, छ जना उपप्रमुखसहित दुई सय २८ जना चुनावी दौडमा छन् भने कर्जन्हा नगरपालिकामा १६ जना प्रमुख, १० जना उपप्रमुखका गरी दुई सय ७६ जना उम्मेवार बनेका छन् । जिलाका नौ गाउँपालिकामध्ये बरियारपट्टीमा १० जना अध्यक्ष र ५ जना उपाध्यक्ष, नवराजपुरमा पनि १० अध्यक्ष र पाँच जना उपाध्यक्ष, सखुवानन्कारकट्टीमा १० अध्यक्ष र पाँच जना उम्मेदवारको रुपमा चुनावी अभियानमा छन् ।
त्यस्तै, विष्णुपुर गाउँपालिकामा १५ अध्यक्ष र ८ जना उपाध्यक्ष, भगवानपुरमा ९ जना अध्यक्ष, ७ जना उपाध्यक्ष, लक्ष्मीपुरपतारी मा १० अध्यक्ष र पाँच उपाध्यक्ष, औरहीमा चार जना अध्यक्ष र चार उपाध्यक्ष, नरहामा ११ अध्यक्ष र सात जना उपाध्यक्ष पदका उम्मेदवार चुनावी दौडमा रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »