सुरक्षामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

प्रकाशित समय 7:49:00 PM
सप्तरी, १ असोज । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सोमबार हुने प्रदेश नं २ अन्तर्गत तराई मधेशका आठ जिल्लामा हुन गइरहेको स्थानीय तह निर्वाचनमा शन्तिसुरक्षाको अवस्थालाई थप कडा, सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएको छ  ।
राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा आइतबार साँझ आयोजित जिल्ला शान्तिसुरक्षा बैठकमा मुख्य निर्वाचन कार्यालय र स्थानीय प्रशासनसँगको छलफलमा उहाँले मतदान केन्द्र, मतपेटिका र मतदाताको सुरक्षामा कुनै कमी आउन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिए ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त डा यादवले कुनै पनि डर, त्रास र धाक–धम्कीले सुरक्षा निकाय पछिपर्न नहुने बताउँदै निर्वाचनको अनुगमन र सुरक्षाको कार्यलाई प्रभावकारी बनाउन पनि आग्रह गरे । सप्तरी जिल्ला सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील जिल्लाका रुपमा रहेको बताउँदै उनले सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकाय एकआपसमा समन्वय गरी सुरक्षाको काम गर्नुपर्नेसमेत निर्देशन दिए ।
नेपाल–भारत सीमाक्षेत्रमा अवैध आवागमन रोक्न र सुरक्षा जाँचको कार्यलाई व्यवस्थित गर्नुपर्ने बताउँदै जिल्लाका सुरक्षा निकायसँग सप्तरीको सुरक्षा अवस्थाबारे जानकारीसमेत लिए । बैठकमा सप्तरीका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका अध्यक्ष भगिरथ पाण्डेले सप्तरीको सुरक्षा अवस्था राम्रो रहेको र निर्वाचनमा मतदान गर्नका लागि स्थानीयवासी उत्साहित रहेको उल्लेख गरे ।
सो बैठकमा सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइराला, निर्वाचन आयोगबाट अनुगमनमा खट्नुभएका सहसचिवद्वय सञ्जीवराज रेग्मी, छवीन्द्र पराजुली र सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले निर्वाचनको गतिविधिबारे जानकारी गराए ।
उम्मेदवारको मृत्युले राजविराज वडा नं १५ को निर्वाचन स¥यो
राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि सोमबार हुने सो वडाको मतदानको कार्यलाई स्थगित गरी यही असोज ५ गते गर्ने निर्णय भएको छ  । साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्यक्ष पदका उम्मेदवार ६५ वर्षीय यादव केही दिनयता रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो र शनिबार साँझ घरमै उनको निधन भएको थियो ।
यादवको निधनका कारण राजविराज नगरपालिका वडा नं १५ को निर्वाचन सारेर यही असोज ५ गते मतदान हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए । यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरी जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि उनले राजविराज नगरपालिका वडा नं १५ बाट राजपा नेपालका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »