चुरे विनाशको असर : मरुभूमि बन्यो अन्नभण्डार

प्रकाशित समय 5:56:00 PM
सिरहा, १८ भदौ । मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघवा’ को अस्तित्व नाम मात्रैमा सीमित छ । गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सिमानामा पुगेको छ । यसको कारण हो  बलान नदीले फेर्दै आएको धार ।
एकताका गिरहत (जमिनदार) को गाउँ भनेर कहलिन्थ्यो यो गाउँ । एक हजारभन्दा बढी घरपरिवार अटाएको यो गाउँमा किसानको घना बस्ती थियो । अन्न उत्पादनका हिसाबले यस क्षेत्रमै उम्दा रहेको यो गाउँ अहिले भने खाद्य संकटको मारमा छ । विगतमा धान र गहँुको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा परिणत भएका छन् ।
गाउँको अस्तित्व बचाइराख्न बाँध बनाइएको छ । स्थानीय राजलाल यादवले बाँधतर्फ औंल्याउँदै भने, ‘यहाँ हाम्रो गहिरो र फराकिलो पोखरी थियो । यो बाँधजत्तिकै उचाइमा अहिले बालुवाले पुरेर मरुभूमि बनेको ठाउँमा दिघवा गाउँ थियो । यो नदीले हामीलाई रित्तो बनाइदियो ।’ गाउँको पश्चिमउत्तरबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो । छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ ग
र्थे यहाँका मानिस । तर, २०४६ ताका बलान अचानक गाउँतर्फ सोझिएर बस्ती डुबायो । त्यसपछि गाउँ त्यहाँबाट पूर्वतर्फ विस्थापित भयो । तर नदीले गाउँतर्फ कटान गर्न रोकेन । पाँच वर्षपछि फेरि बलानले बस्ती डुबायो । गाउँलेसँग अन्यत्र जाने विकल्प थिएन । कारण भएजत्ति जमिन यहीं थियो । डुबान र कटानबाट जोगिन बस्ती फेरि दुई किलोमिटर पूर्व चनहीतिर स¥यो । बाढीको वितण्डाका कारण एक दशकअघि त्यहाँबाट पनि यो गाउँ चनही गाउँको सीमामा सरेको छ ।
‘गाउँलाई झन्डै सात फिट गहिराइबाटै नदीले काटेर बढारिदियो,’ स्थानीय इन्द्रदेव यादव भन्छन, ‘गाउँको नामबाहेक सबैथोक मेटिए ।’ बस्ती बचाउन बाँधिएको बाँधमाथिबाट मरुभूमितर्फ औंल्याउँदै उनी भन्छन, ‘यो ठाउँसँग बाल्यकालको गहिरो सम्झना जोडिएको छ । आमाबुवा मिलेर खेती गर्नुहुन्थ्यो, मनग्य उब्जनी हुन्थ्यो । कृषि कर्मबाटै हामीलाई आमाबुवाले उच्च शिक्षा पढाउनुभयो । हेर्दाहेर्दै खेतसँग परिवारको हरियाली पनि ओइलियो ।’
गाउँको छेवैमा बग्ने बलान खोलाको पानीले दिघवा मात्र नभई चनही, मलहनियाका करिब पाँच सय बिघा खेतमा सिँचाइ पुग्थ्यो । तर नदीले धार परिवर्तन गरेसँगै सबै बगर बन्यो । ‘जैदिन स खेतमे बलान (नदी) पैसल ओही दिन स हमसब लल भ गेली (जुन दिन खेतमा नदी पस्यो त्यसै दिनदेखि हाम्रो सर्वस्व भयो),’ राजलालले भने, ‘हमसब किनहेरी किनहेरी घुस्कैत बैसैत एली (हामी किनारकिनार सर्दै बस्दैछौं) ।’ नदीले अन्तिम किनारा पनि च्याप्दै लगेको छ । गाउँ कच्ची बाँधको टेकोमा अडिएको छ ।
दुई दशकअघिसम्म बलान नदी एकतर्फबाट मात्र बग्थ्यो । ‘त्यतिबेला बढीमा २० फिट थियो,’ उनी भन्छन, ‘अहिले त गाउँ नै निल्योे, कति चौडा भयो अन्दाज गर्नुस् ।’ बलान नदीमा झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ ।  दस वर्षमा बलान नदीको पुरानो बहावको बीचमा पूर्वपट्टि अर्को धार बनाइदियो ।
पछिल्लोपटक शनिबार आएको बाढीले नदीको पूर्वी किनार कटान सुरु गरेको छ । यो गाउँको अर्को रोचक पक्ष छ ।  गाउँका कसैको पनि जग्गाजमिन अर्को गाउँमा थिएन । अर्को कुनै गाउँलेको जग्गा जमिन पनि यो गाउँमा थिएन । स्थानीय कुन्ता यादव भन्छन, ‘यहाँ सबैजना आफैं सम्पन्न भएकाले कसैले जमिन बेचेनन् । अर्को गाउँका कोही आउन पाएनन् । तर अहिले सबै किसान एकसाथ बिल्लीबाठमा परेका छौं  ।’ मरुभूमि बनेको ३८८ बिघा जमिनमा धान फलाउने सपना पछिल्लो पटकको बाढीले चकनाचुर बनाएको यादवले बताए ।चुरे मूल भएको बलान नदी त्यतिकै विनाशकारी बनेको होइन । चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको  दिघवाका वृद्धवृद्धा बताउँछन् ।
सिरहा, सप्तरी र उदयपुरको संगमस्थल हो सप्तरीको बाहुना गाउँ । केही महिनाअघि गाउँको परिचय फेरिएको छ । यो गाउँ सुरुङ्गा नगरपालिका–२ अन्तर्गत परेको छ । ३५० घरधुरी रहेको यो गाउँ पछिल्लो समय बाढीका कारण अस्तित्व जोगाउन संघर्ष गर्दैछ ।
चुरेको फेदमै अवस्थित बाहुना गाउँको पश्चिमबाट चुरे मूल भएर खहरे (बलान खोला) बग्थ्यो । यो खहरे खोला बाँधेर कमलपुर, बाहुनालगायतका किसान खेतमा सिँचाइ गरी प्रशस्त धान फलाउँथे । ०६४ सालमा सप्तरीको मधुपट्टी गाविस (तत्कालीन) कदमहामा बिएस एन्ड सिएनसी जेभी नामक क्रसर कम्पनी स्थापना भयो । कम्पनीले भारतको राष्ट्रिय राजमार्ग निर्माणका लागि निर्माण सामग्री (तयारी गिट्टी, बालुवा, ग्राभेल) आपूर्तिको जिम्मेवारी पाएको थियो । त्यसपछि चुरे उत्खनन सुरु भयो ।
    सप्तरीका धेरै स्थानमा भएका उत्खननमध्ये बाहुना क्षेत्र (चुरे संरक्षित क्षेत्र) पनि एक हो । यहाँका केही टाठाबाठालाई मुठ्ठीमा लिएर सो कम्पनीले खहरेमा दर्जनौं मेसिन (जेसिबी) जडान गरी ढुंगा उत्खनन ग¥यो । स्थानीय यमबहादुर खपाङ्की भन्छन, ‘खहरेमा उत्खनन गर्दा यस्तो खतरनाक परिणाम निस्कन्छ भन्ने बुझेको भए अनुमति नै दिँदैनथ्यौं ।’
    ०६६ सालसम्म त्यो क्रसर कम्पनीले यस क्षेत्रको ढुंगा खोसे्रपछि बलान नदी बस्तीतर्फ सोझियो । त्यसएपछि स्थानीयले बलान नदी नियन्त्रणका लागि समिति गठन गरेको समितिका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
    जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लहानका इन्जिनियर अरुण झाका अनुसार डाउनस्ट्रिममा नदी सतह बस्तीभन्दा उँचो हुनुको प्रमुख कारण चुरेबाट बगेर आएको ग्रेगान नै हो । झाले भने, ‘अपस्टिमबाट बगाउँदै ल्याएको गेग्रान डाउनस्ट्रिममा थुप्रिएर बस्ती, खेत, बाँध धरापमा परेको छ ।’
    अर्का इन्जिनियर शशि साह भन्छन, ‘चुरेबाट निस्केका खहरेको संख्या बढ्दै छ, जसले मानवीय, भौतिक र खाद्यान्न संकट थप्दैछ ।’ चुरे विनाश रोकेर संरक्षणलाई तीव्र नबनाएसम्म खतराबाट पार पाउन कठिन हुने उनले बताए ।
चुरे संरक्षणका लागि यहाँ जिल्ला वन कार्यालय, भूसंरक्षण कार्यालय, कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजनले काम गरिरहेकै छन् । ‘तर, जुन मात्रामा चुरेले विनाश भोगिरहेको छ, त्यस अनुपातमा संरक्षण प्रयास झिनो हो,’ लहानका वन तथा वातावरण विज्ञ दिनेश यादवले भने ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »