दाहाल मध्यरातसम्मै चुनावी प्रचारमा

प्रकाशित समय 6:55:00 PM
राजविराज, २९ भदौ । असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई अत्यन्तै महत्वका साथ लिएका राजनीतिक दलहरुले आफ्ना उम्मेदवार जिताउन शीर्ष नेताहरुको कार्यक्रमलाई तीव्रता दिएका छन् । एकैदिन धेरै कार्यक्रममा सहभागी हुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यो दौडमा अरुलाई उछिनेका छन् ।दाहालले मध्यरातसम्म चुनावी प्रचारलाई निरन्तरता दिएका छन् भने एकाबिहानै राजविराजको सडकमा मर्निङ वाक गर्दै त्यसलाई पनि चुनावी प्रचारकै रुपमा प्रयोग गरेका छन् ।
मंगलबार सप्तरी आएका दाहालले साँझ ५ बजे कञ्चनरुप नगरपालिकामा पार्टीको चुनावी सभालाई सम्बोधन गरे । त्यहाँबाट पूर्व–पश्चिम राजमार्गको रुपनीमा साँझ ७ बजे दाहालले पार्टीको सभामा सहभागिता जनाए । राति ९ बजे राजविराज आइपुगेका दाहाल स्थानीय होटेलमा मुस्लिम समुदायका अगुवाहरुसित भेटघाट गर्दै आफ्ना उम्मेदवारका लागि मत मागे । माओवादीका तर्फबाट राजविराजको मेयरमा अनिस अन्सारीले उम्मेदवारी दिएका छन् । राति १० बजे दाहाल राजविराजको जैन भवनमा माडवाडी समुदायका मतदाताहरुसित भेटघाट गर्दै मत मागे । मध्यरातसम्म दाहालले चुनावी प्रचारलाई निरन्तरता दिए ।
बुधबार एकाबिहानै सुरक्षाकर्मीसहित राजविराजको सडकमा मर्निङ वाकमा निस्केका दाहाल स्थानीय सामान्य चिया पसलमा चिया खाँदै त्यो समय पनि चुनावी प्रचारकै रुपमा उपयोग गरे । बिहानै ७ बजेबाट फेरि दाहालले भेटघाटलाई निरनतरता दिए । बिहान निर्माण व्यवसायी र उद्योगीहरुलाई भेटेका दाहालले ९ बजे नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राखे ।
पत्रकार सम्मेलनमा दाहालले मधेसको समस्याको समाधान कुनै क्षेत्रीय पार्टीबाट सम्भव नरहेको बताए । उनले मधेसी जनताको पहिचानको लडाइँ माओवादी जनयुद्धबाट स्थापित मुद्दा भएको बताए । दाहालले मुलुककै ऐतिहासिक नगरी राजविराजको पछिल्लो अवस्था निक्कै दयनीय र नाजुक भएको बताउँदै राजविराजको विकासका लागि प्याकेजमै कार्यक्रम ल्याउने आश्वासन दिए ।
लगत्तै हनुमाननगर कंकालिनी नगरपालिकाको सभालाई सम्बोधन गर्न पुगेका दाहाल ग्रामीण क्षेत्र लोहजारामा पनि सभामा उपस्थित भए । त्यसपछि सीतापुरको कार्यक्रम सकी राजविराज फर्केर खाना खाई दाहाल पुनः सभा र मत माग्ने कार्यलाई निरन्तरता दिए । दिउँसो खोक्सरमा गोविन्द चौधरीको शालिक अनावरण गरेका दाहालले शम्भुनाथ नगरपालिकाको कठौना, खडक र सुरुङा नगरपालिकामा आयोजित छुट्टाछुट्टै सभामा सहभागी हुँदै माओवादीका उम्मेदवारको पक्षमा मत मागे । मंगलबार साँझदेखि बुधबार साँझसम्म सप्तरीमा निक्कै व्यस्त भएका दाहाल बुधबार साँझ चुनावी प्रचारका लागि सिरहातर्फ लागेका थिए ।
स्थानीय तहको दुई चरणको निर्वाचनमा तेस्रो शक्तिको रुपमा देखिएको माओवादी केन्द्र प्रदेश २ को चुनावका अलि बढी सक्रिय बनेको छ । माओवादी नेताहरुका अनुसार प्रदेश २ मा पार्टीले ३०।३५ तहमा जित्ने आकलन छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »