सिरहाको धनगडीमाई र मिर्चैयामा माओवादी, कल्याणपुरमा कांग्रेस र सुखीपुरमा एमाले विजय

प्रकाशित समय 6:55:00 PM
गोलबजार, ६ असोज । सिरहाको धनगडीमाई नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । मेयर(प्रमुख) पदमा हरिनारायण चौधरी र उपमेयर(उपप्रमुख) मा फूलकुमारी श्रेष्ठ विजयी भएका हुन । हरिनारायाणले ५६ सय ८३ र श्रेष्ठले ५६ सय १३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
एमालेबाट मेयरका प्रतिस्पर्धी शिवशंकर महतो ४४ सय २९ मत प्राप्त गरेका छन भने एमालेबाटै उपमेयर उम्मेदवार निर्मला बास्तोलाले ४५ सय २७ मत ल्याएकी छिन् । धनगडीमाई नगरपालिकामा जितसंगै नेकपा माओवादीले सिरहाको १७ स्थानीय तहमध्ये ५ स्थानीय तह जितेको छ ।
त्यस्तै सिरहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयर उम्मेदवार श्रवण यादवले निकटमत प्रतिस्पर्धी कांग्रेसका सिताराम यादवलाई १४ सय १९ मतको फराकिलो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् । श्रवणले ४७ सय ३८ मत प्राप्त गरेका छन् भने सितारामले ३३ सय १७ मत हासिल गरेका छन् ।
यसैगरी, उपमेयरमा माओवादी केन्द्रकी जिवछी देवीले ४९ सय ३९ मत प्राप्त गरी विजय भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी निर्जला कुमारी सिंहले ३२ सय९९ मत ल्याएकी छन्। योसँगै १७ स्थानीय तहमा माओवदी केन्द्र चार तहमा जित हासिल गरेका छन्।
त्यस्तै  सिरहाको कल्याणपुर नगरपालिकामा नेपाली कांगेसका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । कांग्रेसका सूर्यनाथ मण्डलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका रामबाबु यादवलाई २ सय ७ मतअन्तरले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मण्डलले ४८ सय ४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी राजपाका मेयर उम्मेदवार यादवले ४५ सय ९७ मत हासिल गरे । यसैगरी, उपमेयरमा कांग्रेसकी रोहिणी कुमारी यादवले राजपाकी मसुदा खातुनलाई २ सय २६ मतअन्तरले पराजित गरेकी छन् । यादवले ४६ सय ६४ मत प्राप्त गरेकी छन भने खातुनले ४४ सय ३८ मत हासिल गरिन् । कल्याणपुर जितसँगै कांग्रेसले सिरहामा दुई स्थानीय तह जितेका छन् ।
त्यस्तै  नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ । केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी भएका हुन्। यादवले छ हजार १११ र उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका लक्ष्मण चौधरीले चार हजार १८६ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा एमालेकै साहले छ हजार ८६ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीपनारायण यादवले तीन हजार ३५४ मत प्राप्त गरे। यससँगै एमालेले सिरहाको तीन स्थानीय तहमा विजयी हासिल गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »