गाउँदेखि नगरसम्म ‘ढेउवावाल’ उम्मेदवारकै हालीमुहाली

प्रकाशित समय 7:57:00 PM
गोलबजार, ३० भदौ ।  पूर्व ‘गल्थो’ दक्षिण ‘गागन’ र पश्चिम ‘सहजा’ नदीले घेरिएको छ ’औरही गाउँपालिका’ । यादव बाहूल्य यो गाउँपालिकामा साह, सिंह (दनुवार), मुसहर, चमार, डोम समुदायको मिश्रीत बसोबास छ । यहाँ मेडिकल अधिकृतको दरबन्दीसहितको प्राथमिक स्वास्थ्य केन्द्र छ । तर, न यहाँ दरबन्दीका चिकित्सक छन, न भौतिक संरचना नै । भौतिक पूर्वाधार र जनशक्ति अभावले स्वास्थ्य केन्द्र प्रभावकारी हुन सकेको छैन । सेवा प्रभावकारी नहुँदा यस क्षेत्रका बिरामीहरु भारतीय सहर दरभंगामा उपचारा गराउन जानुपर्ने बाध्यता छ । यहँ कलेज पनि छैन । उच्च शिक्षा पढ्न चाहनेहरु लहान, गोलबजार, मिर्चैयालगयतका सहर धाउन बाध्य छन् ।  
यहाँ वर्षौंदेखि प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणको काम अलपत्र छ । ‘जनप्रतिनिधि चुनिएर आए भवन निर्माणको कामले गति लिने स्थानीयको विश्वास छ । जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुन्छन, जनताको पीरमर्का बुझ्छन,’ स्थानीय वीरेन्द्र शर्माले भने, ‘दुई दशकदेखि रोकिएके विकासलाई गति दिने जनप्रतिनिधि छान्दै छौं ।’
‘दुई दशकदेखि रोकिएको सामाजिक, शैक्षिक, साँस्कृतिक तथा भौतिक विकासलाई गति दिने प्रतिनिधि छान्ने अवसरले हामी मतदातालाई उत्साहित बनाएको छ,’ औरही ४ इटाटारका जेष्ठ नागरिक रामविनय सिंहले भने, ‘विकासप्रेमी, युवालाई गाउँको मुखिया छान्ने सोच छ ।’
गाउँपालिकालाई बाढीको जोखिमबाट बचाउने योजना बनाउन सक्ने, ढल, नाला, सडक, धारा, बिजुली, सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि, प्रभावकारी स्वास्थ्य सेवाप्रति प्रतिवद्ध उम्मेदवारलाई यसपाली ‘मुखिया’ चुन्ने सोचमा औरहीबासी छन् । यहाँको चुनावी परिणाम उलटपुलटमा औरही ‘स्टेट’ अर्थात् धनाढ्य घरानाको भूमिका प्रमुख रहेको स्थानीय बुद्धिजीबीहरु बताउँछन् । घरानाबाट यस गाउँपालिकामा प्रमुख पदका उम्मेदवार चुनावी मैदानमा छन, उनी हुन सिद्धार्थ यादव ।
नेपाली कांग्रेसबाट प्रमुख पदका आकांक्षी उनले सो पार्टीबाट टिकट नपाएपछि  नेकपा माओवादी केन्द्रबाट टिकट लिएर उम्मेदवार बनेका छन् । कांग्रेसले प्रमुख पदमा सुभाष यादवलाई उम्मेदवार बनाएको छ । संघीय समाजवादी पार्टीबाट शिवजी यादव उम्मेदवार छन् ।
‘यहाँ सिद्धार्थ बागवत नगरेको भए पल्ला भारी थियो,’ औरही–४ इटाटारका शिक्षक रामसिपैत यादवले भने, ‘कांग्रेसबाट बागीका कारण यहाँ अहिले त्रिपक्षीय प्रतिस्पर्धा छ ।’ ’संघीय समाजवादी फोरम, माओवादी केन्द्र र कांग्रेसबीच त्रिपक्षीय भिडन्त हुन्छ,’ उनले भने । स्थानीय बुद्धिजीबीहरुका अनुसार पहिलो बन्ने प्रतिस्पर्धा फोरम र माओवादीका उम्मेदवारबीच नै हुने देखिन्छ ।
सिरहाको धनगडीमाई नगरपालिका, जहाँ पहाडी र मधेसी समुदायको मिश्रित बसोबास छ । यो नगरपालिका प्रमुख पदको दौडमा नयाँ अनुहारबीच प्रतिस्पर्धा छ । नेपाली कांग्रेसबाट पञ्चलाल महतो, एमालेबाट शिवशंकर महतो र माओवादी केन्द्रबाट हरिनारायण चौधरीबीच त्रिकोणात्मक प्रतिस्पर्धा रहेको स्थानीय बताउँछन् । स्थानीय गंगाराम यादव भन्छन, ‘अहिलेसम्म तीनवटै उम्मेदवार एकअर्कालाई उछिन्ने कसरत गर्दैछन् ।’
तीनवटै उम्मेदवारमध्ये चौधरी पूर्णकालीन राजनीतिक कार्यकर्ता हुन् । बाँकी दुईजना व्यपारी र व्यवसायी । ‘आफ्नो सांगठनिक मतले कोही जित्ने छाँट देखिन्न,’ एक स्थानीयले भने, ‘ढेउवा (पैसा)ले मत उलटपुलट गर्नसक्नेले बाजी मार्ने देखिन्छ ।’
धनगडीमाई नगरपालिका–४ निमचोकका मतदाता श्रीदेव चौधरीको धारणा फरक छ । उनी भन्छन, ‘विकासप्रेमी, जनसेवी भाव राख्नेलाई मत दिन्छौं ।’ उम्मेदवारको आर्थिक हैसियतभन्दा उनको व्यक्तित्व र चरित्रको आधारमा भोट हाल्ने उनले बताए ।
‘व्यक्तित्व र चरित्रको आधारमा मत खसाल्ने त छन् तर, निर्णायक मतका लागि पैसा त खन्याउनैपर्छ,’ उनले भने । उम्मेदवारजति पैसावाल छन् । ‘पहिलादेखि नै पैसा खन्याएर मतदाताको बानी बिगारससकेका छन,’ उनले भने, ‘पैसा खर्च गर्न नसक्नेले चुनाव लड्नै नसक्ने भयो ।’

तलबभत्ता नलिने प्रतिबद्धता 
सिरहाके उदयमान व्यपारिक नगर गोलबजार नगरपालिकाका उम्मेदवारहरु चुनावी नतिजा आफ्नो पक्षमा पार्न लोकप्रिय नारा भजाउँदैछन् । कोही तलबभत्ता त्यागको घोषणा गरेका छन् । कोही इँटा भट्टालाई प्रदुषणरहित बनाउने घोषणा गर्दैछन् । संयोग यो नगर हाक्ने दौडमा इँटा भट्टा सञ्चालकको बाहुल्य छ ।
माओवादी केन्द्रबाट मेयरका उम्मेदवार देवनाथ साहको यो नगरमा दुईवटा इँट्टा भट्टी छ । उनी निर्माण व्यवसायी पनि हुन । वृद्ध उनी पहिलोपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । उनको प्रतिबद्धतामध्ये एक हो इँट्टा भट्टीबाट निस्कने धुवाँको मुस्लोबाट नगरवासीलाई मुक्त गराउने । आफू चुनाव जितेपछि नगरमा धुवाँरहित आधुनिक चिम्नीमार्फत् इँट्टा उत्पादन सुरु गर्ने बताए । ’अन्य विकास त नगर्ने कुरै भएन,’ उनले भने ।
चुनावी दौडमा प्रतिस्पर्धी संघीय समाजवादी फोरमबाट मेयर उम्मेदवार कृष्ण सिंहले आफू जितेपछि नगरापलिकाको तलबभत्ता नलिने प्रतिबद्धता जनाएका छन् । नगरभित्र रहेका सार्वजनिक तथा गुठीका जग्गाहरु व्यवस्थित गरी मठमन्दिर, ताल पोखरी तथा पर्यटकीयस्थल निर्माण तथा संरक्षण गर्ने सिंहले बताए । पहाडी मधेसीको सौहाद्रपूर्ण बसोबास रहेको यो नगरमा कोईरी, मगर, लामा, बाहुन, क्षेत्री, साह, यादव, मुसहर को मिश्रित बसोबास छ ।यो नगरको मेयर पदका अर्का प्रतिस्पर्धी हुन श्यामलाल श्रेष्ठ । उनी एमालेबाट मेयर उम्मेदवार छन् । यसअघि उनी चन्द्रलालपुर गाविस (हालः गोलबजार नगरपालिका ७, ८ नम्बर वडा) बाट दुई पटक गाविस अध्यक्ष भइसकेका छन् । उनी ०४९ र ०५४ मा यो गाविस अध्यक्षमा एमालेबाट विजयी भएका थिए ।
त्यो बेला बजेट र प्रायोजित सीमित अधिकारका कारण गर्न नसकेको विकासका कामलाई अगाडि बढाउने लालसासहित मेयर उम्मेदवार बनेको श्रेष्ठको भनाई छ । नगरलाई स्वच्छ, हराभरा र सम्बृद्ध बनाउने योजना साथ मेयरको दौडमा होमिएको उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »