तस्करले मारे हात्ती

प्रकाशित समय 6:52:00 PM
उदयपुर, ९ असोज । चार दिनअघि उदयपुरको वन क्षेत्रमा मृत अवस्थामा फेला परेको हात्ती पेशेवर तस्करले मारेको खुलेको छ । क्षेत्रीय वन विराटनगरका निर्देशकसहितको चिकित्सक टोलीले घटनास्थलमा गई हात्तीको पोष्टमार्टम गर्दा तस्करले योजनाबद्ध रुपमा हात्ती मारेको खुलेको हो ।
सुनसरी र उदयपुरमा पर्ने कोसी टप्पु वन्यजन्तु आरक्षणको सिमानामा उदयपुरको बेलका नगरपालिका–८ को नूनचट्टा भन्ने जंगलमा शुक्रबार बेलुका भाले हात्ती मृत भेटिएको थियो । स्थानीय बासिन्दा जंगल जाने क्रममा फेला परेको मृत हात्तीको पुच्छर र दारा थिएन ।
पुच्छर र दारा निकालिएकोले तस्करको समूहले हात्ती मारेको जिल्ला पशु सेवा कार्यालयका डाक्टर पुष्प बुढाथोकीले जानकारी दिए । डा बुढाथोकीका अनुसार घटनास्थल वरपर हात्तीको हिँडाई र गोबरबाट कुनै रोग र कालगतिले नमरेको र हात्तीको मृत्यु गोलीको कारण भएको हो । उदयपुरमा हात्ती मारिएको घटना यो दोस्रो रहेको जिल्ला वन कार्यालय उदयपुरले जानकारी दिएको छ । जिल्ला वन कार्यालय उदयपुरका विष्णुप्रसाद भण्डारीले दारा र पुच्छर गायव भएकाले चोरी तस्करीमा परेकोले त्यसतर्फ अनुसन्धान सुरु गरेको जानकारी दिए । भण्डारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक, नेपाली सेना, वन्यजन्तु संरक्षण विभाग सवै लागेर अनुसन्धान गर्ने बताए ।
अपराधि पक्राउ परे राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार ५० हजारदेखि एकलाख सम्म रुपैयाँसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । मृत हात्तीलाई पशु चिकित्सकको टोलीले पोष्टमाटको लागि आवाश्यक अंगहरु लिइसकेपछि स्काभेटर लगाएर खाल्डो खनी पुरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »