
खोला किनारमा रहेको यो वस्तीमा कसैको घरमा शौचालय छैन । माटोको भित्ता र खरको छानोबाट बनेका ससाना झुुप्रा घर छन् । घाम पानी छेक्ने राम्रो घर र शौचालय बनाउने प्रतिबद्धता गर्ने उम्मेदवारलाई भोट दिने उनीहरु बताउँछन् ।
शौचालय नभएकै कारण नागरिकता बनाउन नसकेको स्थानीय ४५ वर्षीया फूलकुमारी सदायले गुनासो गरे । उनले भने, ‘हामी सधैंभरी मजदुरी गर्ने समुदायको मानिस हौं, हामीलाई नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो, अरुबेला उहाँहरुको अनुहारै देख्न पाईंदैन, यो चुनावमा हाम्रो राम्रो वासको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिने हो ।’
उनी मात्र हैन गाउँका अरु पनि महिलाले शौचालय नभएकै कारण नागरिकता बनाउन नपाएको गुनासो गरे । घरमा शौचालय नभएकालाई गाउँपालिकाले नागरिकताको लागि सिफारिस नगर्ने नियम बसालेको छ । शौचालय नभएकाले २५ वर्षीया तारादेवी सदा र ४० वर्षीया रामवत्ती सदाले पनि नागरिकता बनाउन पाएको छ । आर्थिक अभावकै कारण शौचालय बनाउन नसकेको रामवत्ती सदायले सुनाए । उनले, ‘हामीलाई शौचालय बनाउन मन नभएर नबनाएको हो र ? कमाईले खान लाउनै पुग्दैन केले घर र शौचालय बनाउनु ।’
जसले आफ्नो घर र शौचालय बनाउँछ उसैलाई भोट दिने उनीहरुले बताए । ५० वर्षीय झौला सदायले जसले बस्ने घर र शौचालय बनाई दिन्छ, उसैलाई मत दिने बताए । उनले भने, ‘वर्षौंदेखि हामीले भोट हालेर सबैलाई जिताएकै हो, पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दहाललाई नै जितायौं, तर हाम्रो अवस्था भने जस्ताको तस्तै रहने ? अब जसले बस्ने घर र शौचालय दिन्छ उसैलाई मत दिन्छु ।’
दैनिक ज्याला मजदुरी र दाउरा बेचेर गुजारा गर्दै आएका उनीहरुको बस्ने ठाउँ समेत आफ्नो छैन । वर्षौं पहिले ऐलानी जमिनमा बसेका उनीहरुको जमिन अहिलेसम्म दर्ता भएको छैन । स्थानीय अगुवा ५५ वर्षीय कृष्णकुमार लामाले आफू बुझ्ने भएदेखि नै देखेको योे बस्ती अझै पनि ऐलानी नै रहेको बताए ।
‘गाउँकै टाठाबाठाहरुले सदाहरु बसेको वरपरको जमिन नम्बरी गराए, सदायहरुको अझै नम्बरी भएको छैन् । उनीहरु बसेको सवै जमिन ऐलानी नै हो’ उनले भने । पहिला जोसुकैलाई मत दिएको भएपनि यो पटक आफ्नो बस्ने वास र शौचालय बनाउनेलाई नै मत दिने स्थानीय बासिन्दाले अठोट गरिसकेका छन् ।
