उम्मेदवारका लागि नेताका सन्तानको छिनाझम्टी, नवप्रवेशीहरु अगाडी

प्रकाशित समय 6:21:00 PM
राजविराज, १६ भदौ । संघीय समाजवादी फोरमले तीन दिनअघि यहाँका १८ मध्ये १५ स्थानीय तहमा उम्मेदवार चयन ग¥यो । अरू तीन तहमा अझै उम्मेदवार छान्न सकेको छैन । फोरमका तर्फबाट बोदेवरसाइन नगरपालिकाको मेयर पदमा दुई नेताका छोरा आकांक्षी भएपछि छान्न सकस भएको हो ।
फोरम उपाध्यक्ष तथा तराई मधेस प्रदेश संयोजक रेणुकुमारी यादवका छोरा अभिषेक र केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अनिरुद्रप्रसाद सिंह यादवका छोरा आतिषकुमार मेयरका आकांक्षी छन् । ‘अभिभावक संसदको चुनाव लड्ने, छोराछोरी स्थानीय तहमा । कार्यकर्ता जीवनभर भोट मात्रै हाल्ने ?,’  फोरमका एक नेताको आक्रोश छ,  ‘नेताहरूको परिवार मोहका कारण राम्रा मान्छे टिकटबाट वञ्चित हुनुपरेको छ ।’
फोरमका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले नेताका छोराछोरीका कारण टिकट वितरणमा ढिलाइ भएको अस्वीकार गरे । ‘नेताका छोरा भएर होइन, पार्टी कार्यकर्ता भएका कारणले र पार्टीमा योगदान गरेकाले उहाँहरूको नाम उम्मेदवारका रूपमा आएको हो । जित्न सक्नेलाई चाँडै पार्टीले उम्मेदवारका रूपमा अघि सार्नेछ,’ उनले भने । यी दुई नेताका छोरा पार्टीको जिम्मेवारीमा पनि छन् ।
अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा) भित्र पनि यस्तै किचलो छ । राजपाका उपाध्यक्षद्वय नवलकिशोर साह र शेखरकुमार सिंहका छोरा टिकटका आकांक्षी छन् । साहका छोरा शैलेशकुमार हनुमाननगर कंकालिनी नगरपालिकाबाट मेयर पदका दाबेदार छन् । सिंहका छोरा सतिषकुमार तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुख पदका आकांक्षी हुन् ।
राजपा बन्नुअघि शैलेश सद्भावना पार्टीका जिल्ला कोषाध्यक्ष थिए । सतिष शरदसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष थिए । राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले चुनाव युद्धजस्तै भएकाले जित्ने कार्यकर्तालाई उम्मेदवार बनाउने बताए । ‘नेताका छोराछोरी हुन् वा सामान्य कार्यकर्ता, जो चुनाव जित्छन् उनीहरूलाई नै उम्मेदवार बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘टिकट वितरण गर्दा मधेस आन्दोलनमा खेलेको भूमिका र पार्टीमा गरेको कामलाई मूल्यांकन गरिनेछ ।’  एमाले र संघीय फोरमले अधिकांश तहमा उम्मेदवार छनोट गरिसकेका छन् । मुख्य सतारुढ दल कांग्रेस र माओवादी केन्द्र अझै उम्मेदवार चयनको रस्साकस्सीमै छन् ।
नवप्रवेशी नै अगाडि
स्थानीय चुनावमा नयाँ पार्टीमा प्रवेश गरेकाहरू नै टिकटको दौडमा अघि छन् । पूर्वसहायक मन्त्री अनिश अन्सारी पाँच दिनअघि मात्र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबाट टीका लगाई पार्टी प्रवेश गरे । उनी अहिले माओवादीका तर्फबाट राजविराजको मेयर उम्मेदवारको लाइनमा छन् । यसको औपचारिक घोषणा भइसकेको छैन । दोस्रो चरणको निर्वाचनताका संघीय समाजवादी फोरम परित्याग गरेर एमाले प्रवेश गरेका सुखराम यादव राजविराज नगरपालिकाको घोषित उम्मेदवार हुन् ।
लामो समय सद्भावना पार्टीमा रहेका राजपाका भीमराज यादव संघीय फोरममा प्रवेश गरे । भीमराजलाई फोरमले राजविराज नगरपालिकाको मेयरका लागि उम्मेदवारका रूपमा घोषणा गरेको छ । यस्तै माओवादी केन्द्र परित्याग गरी फोरममा प्रवेश गरेकी सियावतीदेवी यादव हनुमाननगर कंकालिनी नगरपालिकाबाट उपमेयरकी उम्मेदवार भएकी छन् । अन्य पार्टीले अहिलेसम्म उम्मेदवार निक्र्याेल गर्न सकेका छैन ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »