प्रदेश नम्बर २ ले पायो प्रदेशकै पहिलो महिला मेयर

प्रकाशित समय 6:37:00 PM
रौतहट, ५ असोज । रौतहटको मौलापुर नगरपालिकामा प्रदेश नम्बर २ को पहिलो महिला मेयरको रुपमा ३३ वर्षीया रिनाकुमार साह (कविता) विजयी भएकी छिन् । माओवादी केन्द्रका तर्फबाट साह विजयी भएकी हुन् । उनले ३९१२ मत प्राप्त गरेकी छिन् ।
भारतको बिहार माइती भएकी रिना २०५६ सालमा माओवादी नेता प्रभु साहसित बिवाह भएलगत्तै जनयुद्धमा होमिएकी थिइन् । साह अहिले सहरी विकास मन्त्री छन् । युद्धका बेला रिना जिल्ला कमिटी सदस्यका रुपमा सक्रिय थिइन् । उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेललाई १७०४ मतको अन्तरले पराजित गरिन् । पटेलले २२०८ मत ल्याएका थिए ।
पटेल माओवादी जनयुद्धका बेला जिल्लामा सक्रिय थिए । स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि राजपा प्रवेश गरेका हुन् । जनयुद्धका बेला रिनालाई कविता उपनामले चिनिन्थ्यो । युद्ध लड्दै गर्दा उनले २ छोरालाई जन्म दिएकी थिइन् । नवनिर्वाचित मेयर रिना गाउँमा सक्रिय राजनीतिमा लागेकी मधेसकी महिला हुन् । उनले एसएलसीसम्म पढेकी छिन् । रिना अहिले माओवादी मधेसी मोर्चाको केन्द्रिय सदस्य हुन् । विजयी भए लगत्तै उनले स्थानीय तहको हरेक विकासको काममा सक्रिय हुने बताइन् ।
‘जनताले राम्रो र विकाश प्रेमी जनप्रतिनिधि चुनेका छन,’ उनले भनिन, ‘अब जनताकै सेवामा लाग्छु ।’ मौलापुरको उपमेयर पदमा माओवादी केन्द्रकै गौरिशंकरप्रसाद जयसवाल विजयी भएका छन् । जयसवालले ३९७९ मत पाएका हुन् । रौतहटको मौलापुर नगरपालीकाका महिला मेयर रिनाकुमारी साह ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »