काठमाडा,ै १९ भदौ । गाडीको अगाडिको नम्बर प्लेट भन्दा थोरै माथि सुनौलो रंगको सुन्दर बुट्टादार लोगोको बीचमा कालो प्लेटमा अंग्रेजी र चिनियाँ अक्षरमा ‘भीआईपी‘ लेखेको गाडी । त्यो ‘भीआईपी‘ गाडी सोमबार बिहान साढे १० बजे अपराध अनुसन्धान महाशाखा, टेकुमा वरपर ‘सावधान !‘ लेखिएको फिताको बीचमा राखिएको थियो ।
गाडीलाई महाशाखामा ल्याएर चेकजाँच गर्दा उक्त गाडीको विभिन्न पाटपूर्जामा कालो टेपले बेरेर राखेको १ किलो तौलका ८८ वटा सुनका पाता (बिस्कुट) भेटिएको प्रमुख लोहनीले बताए । उक्त सुन केरुङ नाका हुँदै रसुवाबाट नेपाल भित्र्याइएको उनले बताए ।
यो सुन काठमाडौंमा भेटिएको तस्करीको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दको भनाइ थियो । उक्त सुनको मूल्य सोमबारको सुनको बजार भाउ अनुसार ४३ करोड, १ लाख ८८ हजार, ६ सय ७९ रुपैयाँ २४ पैसाको हो ।
मनोजलाई लिएर ‘भीआईपी‘को खोजीमा प्रहरी केरुङ नाका हुँदै काठमाडौंसम्म सहज रुपमा ल्याउन ‘भिआईपी‘ को लोगोले ठूलो काम गरेको थियो । उक्त गाडीलाई रसुवादेखि काठमाडौं आउँदासम्म पार गर्नुपर्ने दर्जन बढी चेकपोष्टमा त्यही लोगोले काम गरेको थियो। भीआईपी लोगो देखेपछि प्रहरीले राम्रोसँग चेक नगरेको हुनसक्ने अनुमान प्रहरीको छ ।
अब प्रहरी ती ‘भीआईपी‘ को खोजीमा जुटेको छ । जसका लागि सहयोगी बनाएको छ चालक मनोज अधिकारीलाई। एक प्रहरी अधिकृतका अनुसार डीएसपीको टोली मनोजलाई लिएर भीआईपीको खोजीमा बिहानैदेखि जुटेको छ । काठमाडौंका सम्भावित स्थानहरुमा मनोजलाई लिएर प्रहरी खोजीमा जुटेको हो ।
सुन तस्करीको नाइके चिनियाँ नागरिक हुनसक्ने प्रहरीको अनुमान रहेको छ । मनोजको बयानले पनि सोही कुरालाई बल दिएको प्रहरीको भनाइ छ । पत्रकार सम्मेलनमा महाशाखा प्रमुख लोहनीले चिनियाँ नागरिकको संलग्नतालाई पुष्टी गरेका छन् । ‘अनुसन्धानको क्रममा बुझ्दै जाँदाखेरि पक्राउ परेका मनोज अधिकारीको बयानअनुसार उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै आयो भन्ने बुझियो‘, सुन तस्करीबारे जानकारी दिँदै उनले भने, ‘त्यसमा चाइनिज नागरिक संलग्न छ भन्ने बुझियो तर को हो? कहाँ छन? र कुन अवस्थामा छन? भन्ने थाहा भएन ।‘
प्रहरीले ‘ती चाइनिजबारे थाहा पाउन‘ मनोज अधिकारीलाई नै अगुवा बनाएको छ । त्यसो त प्रहरीले मनोजले अनुसन्धानमा सहयोग नगरेको बताएको छ । सुन तस्करका नाइकेबारे चालक मनोजलाई थाहा भएको हुनसक्ने प्रहरीले अनुमान गरे पनि खासै सहयोग भने पाएको छैन । मनोजसँग बिहान लिएको बयानबारे लोहनीले भने, ‘अगाडिका कुनै कुरा उसले केही पनि बोलेको छैन, ऊ को–अपरेटिभ छैन । धेरै कुरा लुकाउन खोजिरहेकै अवस्था छ ।
तैपनि संगठित तस्करको अनुमान लगाएको प्रहरीले ८८ किलो सुन तस्करीमा एक दुई जनामात्रै संलग्न भएर ठूलै समूह सक्रिय रहेको भन्दै मनोजलाई नै फिल्डमा लिएर अनुसन्धानमा जुटेको छ ।
जालो पहिल्याउदै एकतिर प्रहरी सुन तस्कर भीआईपीको खोजिमा जुटेको छ भने अर्काेतिर यो सुन तस्करीको ‘नेक्सस‘, अर्थात् जालो पहिल्याउने अनुसन्धानमा लागेको दावी गरिरहेको छ । यो घटनासँग पुराना सुन तस्करीको नेक्सस छ कि छैन भन्नेबारे पनि खोजी गरिरहेको लोहनीले बताए । उनले भने, ‘हामी त्यसको नेक्ससहरु पहिल्याइरहेका छौं । योभन्दा अगाडि कहाँबाट आएको हो र कहाँ जादैछ भन्नेबारे खोज्न अनुसन्धान थालिसकेका छौं ।‘ भदौ १५ गते मात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २२ किलो सुन तस्करीका नाइके पेम्बा दोर्जे शेर्पा लगायत सात जना १४ किलो सुनसहित पक्राउ गरेको थियो । जसको जालो चीन र भारतसँग जोडिएको थियो ।
