महोत्तरीको मनरा गाउँपालिका घर भै हाल नेपाल बिद्युत् प्राधिकरण क्षेत्रिय कार्यालय बिराटनगरमा उपप्रबन्धक पदमा कार्यरत ग्राहक प्रकाशनारायण सिंहले खातामा जम्मा गरेको ४० लाख रुपैया कर्मचारीकै मिलेमतोमा गायब परिएको खुलिसक्दा पनि बैंकले क्षतिपुर्ति नदिएपछि उनी पर्नु मारमा परेका हुन ।
उनका अनुसार पहिले क्षतिपुर्ति दिन्छु भनेर कतै उजुर नगर्न र मिडियामा नजान आग्रह गर्ने बैंकका अधिकारीहरु अहिले आरोपित कर्मचारीहरुलाई जोगाएर पिडित ग्राहकलाई क्षतिपुर्ति दिन नपर्ने योजनामा लागिपरेका छन ।
ग्राहक सिंहले राष्ट्रिय बाणिज्य बैंकको बचत हिसाव खाता नम्बर ८०३९४ मा जम्मा गरेको चालिस लाख रुपैया कर्मचारीको मिलेमतोमा नक्कली चेक र सही प्रयोग गरेर सर्लाहीको बर्दीबास ,लालबन्दि अनि सिरहाको मिर्चैया शाखाबाट १० भदौ २०७१ मा एकै दिन निकालेर गायब पारिएको थियो । ८ भदौ २०७१ म ग्राहक सिंहले महोत्तरीको जलेश्वर शाखाबाट २६ लाख रुपैया आफैले सक्कली हस्ताक्षर गरेर निकालेका थिए । त्यसपछि उनले रकम निकालेका थिएनन । खातामा चालिस लाख रुपैया मौज्दात बचत रहेको थियो ।
२०३७ सालदेखी खाता खोली रकम जम्मा गर्दै आएको बैंकमा आफनो बचत सुरक्षित रहेको ठानिरहेका ग्राहक सिंहले हरेक बर्ष सरकारलाई सम्पत्ती बिबरण बुझाउने क्रमममा बैंकमा रकमको बिबरण बुझन जाँदा मात्र १६ भदौ २०७२ मा आफनो खाताबाट रकम गायब भएको जानकारी पाएका थिए । ग्राहक सिंह आफनो खाताको रकम बुझन बिराटनगर ट्राफिक चौक स्थित राष्ट्रिय बाणिज्य बैंकको शाखामा जाँदा मौज्दात २२ हजार मात्र भएको जानकारी पाएका थिए ।
बैंकको खातामा जम्मा गरेको रकम एक्कसी गायब भएपछि आफनो हराएको रकम दिलाइदिन आग्रह गर्दै ग्राहक सिंहले राष्ट्रिय बैंकको केन्द्रिय कार्यालय सम्म हारगुहार गरेका थिए । उनका अनुसार बैंकका उच्च अधिकारीहरुले हराएको पैसा व्याज सहित फिर्ता दिलाउने बिश्वास दिलाउँदै कतै उजुर नगर्न र मिडियामा नजान आग्रह गरेका थिए । जग्गा बिक्री गरेर अनि नोकरीबाट बचाएर कमाएको पैसा सुरक्षित बचतकालागि बिश्वासिलो बैंकमा राखेको तर सबै रकम बैंकबाटै गायब भएपछि ईन्तु न चिन्तु बनेका सिंह बैंकले पैसा फीर्ता दिने भनेपछि आश्वस्त बनेका थिए ।

आफुले ईस्यु नगरेको चेक प्रयोग गरेको र सही पनि बिल्कुल फरक गरेर लाखौ रकम निकालिनुमा कर्मचारीको मिलेमतो प्रस्ट भएकोले गायब रकमको जिम्मा बैंकले नै लिनुपर्ने र आफुलाई बिगो अनुसारको व्याज सहित क्षतिपुर्ति दिनुपर्ने माग ग्राहक सिंहको छ । तर बैंकले आफुलाई क्षतिपुर्ति दिनुको साटो उल्टै कर्मचारीलाई निर्दोष बनाउन बैंक लागिपरिरहेको उनले बताए । मिलेमतोमा कसुर गर्ने कर्मचारीले अदालतबाट सफाई पाए भने बैंकबाट उनले क्षतिपुर्ति पाउने छैनन । पिडित ग्राहक सिंहले भने, ‘जीवन भरको कमाई बैंकमा बिश्वास गरेर जम्मा गर्दै गइयो तर बैंकबाटै लाखौ रकम हराएपछि अब बैंकमा पनि बिश्वास गर्न नसकिने भो ।’ २०३७ सालमा राष्ट्रिय बाणिज्य बंक जलेश्वर शाखामा खाता खोलेर ग्राहक सिंहले कारोवार गर्न थालेका थिए ।
बैंकमा दुखले बचत गरेको चालीस लाख रुपैयाले छोराछोरीलाई उच्च शिक्षा पढाउने, बिहेदान गर्ने र घर बनाउने आफनो सपना सबै चकनाचुर भएको सिंहले बताए । उनले अपराधको अनुसन्धान गरेर दोषी कर्मचारीलाई कार्वाही गराउन र आफुलाई क्षतिपुर्ति दिलाउन बाणिज्य बैंक केन्द्रिय कार्यालय, राष्ट्र बैँक, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आग्रह गरेका छन ।
