सबैभन्दा कम साक्षरता भएको प्रदेश २ मा किन भएन मत बदर ?

प्रकाशित समय 6:35:00 PM
काठमाडौं, ४ असोज । स्थानीय तहको पहिलो चरण र दोस्रो चरणको निर्वाचनमा ठूलो मात्रामा मत बदर भयो । काठमाडौं महानगरपालिकामा उपमेयरले प्राप्त गरेको मत भन्दा धेरै मत बदर भयो । दोस्रो चरणमा निर्वाचन भएको विराटनगरमा झण्डै विजयी मेयरले प्राप्त गरेको बराबर
मत बदर हुन पुग्यो ।
तर तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने बदर मत कम देखिएका छन् । साक्षरताका हिसाबले रौतहट, सर्लाही र महोत्तरी देशकै कम साक्षरता भएका जिल्ला हुन् । यी तीनै जिल्ला प्रदेश २ मा छन् । प्रदेश नं २ मा मात्र ५० प्रतिशत सक्षारता छ । जबकि विराटनगर रहेको प्रदेश नं १ मा ७१ प्रतिशत साक्षरता छ भने काठमाडौँ रहेको प्रदेश नं ३ मा ६८ प्रतिशत । तर काठमाडौँ र विराटनगरमा ठूलो संख्यामा मत बदर भए ।
सिरहाको कल्याणपुरका निर्वाचन अधिकृत दीर्घराज उपाध्याय प्रदेश नं २ को निर्वाचनमा मत बदर कम देखेर चकित परेका छन् । ‘मत खसाल्न जाँदा धेरैले ल्याप्चे लगाएका थिए । मलाई पनि डर थियो साक्षरता कम भएकाले मत बदर हुन्छ भन्ने’, उपाध्याय भन्छन, ‘तर अचम्म मत बदर भएन ।’ मत बदर नहुनुमा मतदाता साक्षरता भन्दा भिन्न कारण देख्छन् उपाध्याय । उनका अनुसार पहिलो चरण र दोस्रो चरणको निर्वाचनमा भन्दा यसपटक ‘क्रस’ भोट कम छन् । अर्थात् मतदाताले सिधै दलका सबै उम्मेद्वारलाई मत दिएका छन् । प्यानल भोट बढी र क्रस भोट कम भएका कारण मत बदर कम देखिएको उपाध्यायले बताए ।
यसअघि बझाङमा समेत निर्वाचन गराउन खटिएका उपाध्यायले यसपटक मतपत्रमा समेत ल्याप्चे लगाउने मतदाता निकै कम भेट्टाए । ‘हामीले मत हाल्ने व्यक्तिको औँठाको मसी पुछिदियौँ’, उपाध्यायले भने, ‘त्यसलै ल्याप्चे लगाउने भन्दा भोट हाल्ने धेरै भए । त्यसकारण पनि मत बदर भएन ।’ धनुषाको विदेह नगरपालिका निर्वाचन अधिकृत चन्द्रपसाद लुँइटेल पनि यसपटक कमै मात्रामा मत बदर भएको बताउँछन् । प्यानल भोट खस्नु र तेश्रो चरणमा मतदाता शिक्षामा दलहरुले पनि ध्यान दिएकै कारण बदर मत कम भएको उनले उल्लेख गरे ।
‘यहाँ धेरै दल छन, थोरै मत अन्तरले जित हार हुने अवस्था छ,’ लुँइटेल भन्छन, ‘त्यसैले दलहरुले प्यानलै भोट हाल्न सिकाएका छन् ।’
त्यसो त निर्वाचन आयोगले यसपटक मतदाता शिक्षाका लागि खटाएका स्वयमसेवकलाई मतदाताको परिवारको हस्ताक्षर ल्याउन निर्देशन दिएको थियो । पहिलो र दोश्रो चरणको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको आरोप आयोगलाई लागेको थियो । त्यस्तै आयोगले स्वयमसेवकहरुलाई खटाए पनि उनीहरु मतदाताको घरमा नपुगी घरबाटै शिक्षा दिएको फारम भरेको आरोप लागेको थियो । जसका कारण आयोगले यसपटक घरघरमा पुगेर हस्ताक्षर गराएर ल्याउन निर्देशन जारी गरेको थियो ।
सर्लाहीको हरिपुर नगरपालिकाका निर्वाचन अधिकृत अविकेश्वर पोखरेलले यसपटक धेरै मत बदर नहुनुको कारण मतदाताको डर देख्छन् । चिन्ह छानेर मत दिदाँ बिग्रने डरले मतदाताले सोझो लाइनमा भोट हालेको देखिएको उनले बताए । मतदाताले यसपटकको निर्वाचनमा क्रस भोट नगर्दा वडाहरुमा समेत दलका प्यानल नै विजयी भैरहेका छन् । यसअघि पहिलो चरण र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा शिक्षित मतदाताले भने व्यक्ति हेरेर मत दिएका थिए । तर यो निर्वाचनमा मतदाताले दललाई प्राथमिकता दिएका छन् ।
पहिलो चरणमा इलाममा खटिएका पोखरेलका अनुसार मतदाताले कसैको चित्त दुखाउन नचाहेको कारण धेरै छाप लगाएका थिए । तर यसपटक दलीय भोट बढी देखिएको पोखरेलले बताए । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका निर्वाचन अधिकृत कमलराज पन्थी भने पहिलो, दोश्रो हुँदै तेश्रो चरणमा आइपुग्दा कुन अवस्थामा मत बदर हुन्छ भन्नेमा मतदाता जानकार बनेको दावी गर्छन् । ‘प्यानल भोट छन, पार्टी प्रतिनिधिले पनि अन्त नहाल्नुस् एकै लाइनमा हाल्नुस् भनेको हुनुपर्छ’, पन्थी गणनास्थलबाटै मतपत्रको अवस्था वर्णन गर्छन् ।
त्यसो त तेश्रो चरणको स्थानीय निर्वाचनमा दलहरुबीच गठबन्धन भएको छैन । गठबन्धन नभएकै कारण क्रस भोटको अवस्था देखिदैँन । गठबन्धन भएका स्थानमा मतदाताले प्यानल भोट दिदाँ अधिकाशं उपमेयर र मेयर पदका मत बदर भएका थिए । दलहरुले तालमेल बुझाउन नसक्दा उम्मेद्वार नभएको चिन्हमा समेत धेरै मत आएका थिए । ठूलो मात्रामा पहिलो र दोश्रो चरणमा गठबन्धन गरेका सत्तारुढ कांग्रेस र माओवादीले यसपटक भने खासै गठबन्धन गरेनन् । बाराको निजगढ र धनुषाको मिथिलामा नगरपालिकामा मात्र दुई दलले गठबन्धन गरेका थिए ।
निजगढमा गठबन्धन भएकै कारण बदर मत समेत बढी छ । निजगढका निर्वाचन अधिकृत गोविन्दराज गौली उम्मेद्वार नभएको चिन्हमा समेत मत आइरहेको उल्लेख गर्छन् । ‘उपमेयरमा पनि प्यानल भोट जस्तै लाइनमा भोट हालेका छन’, गौली भन्छन, ‘तर पहिलो चरणको भन्दा कम मत बदर छ । गौली अघिल्लोपटक काभ्रेको तिमालमा खटिएका थिए । ‘मतदाता पनि बदर मतबारे देखेर, सुनेर अलिक जानकार भएको जस्तो देखिन्छ’, गौलीले भने । स्थानीय तहको तेश्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म राजपाले धनुषाको हंसपुर गाउँपालिका र नेकपा माओवादीले सिरहाको कर्जन्हामा जीत हात पारेका छ । उम्मेद्वारले प्राप्त गर्ने मत भन्दा ठूलो आकारमा यसपटक बदर मत आउने सम्भावना कम देखिन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »