पूर्वाञ्चल विश्वविद्यालयमा डिनबीच झगडा

प्रकाशित समय 7:19:00 PM

प्राज्ञीक सदस्य सचिव र परीक्षा सदस्यवाट राजीनामा

विराटनगर, २७ भदौ । पूर्वाञ्चल विश्वविद्यालयका डिनको आपसी द्वन्द्वले विश्वविद्यालयले कार्यकारी परिषद्लाई पूर्णता दिन नसक्दा त्यसको भूमिका छाँयामा परेको छ । परिषद्ले विश्वविद्यालयको नीति नियम र कार्यक्रम तयार गेरर सभामा लैजाने र सभाले पारित गरेका कार्यक्रमको कार्यान्वयन गराउँछ ।
आफुलाई परिषद् सदस्य नबनाएको भन्दै विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठकले प्राज्ञीक परिषद्को सदस्य सचिव र परीक्षा नियन्त्रण सदस्यबाट राजीनामा दिएका छन् । उनको राजीनामा विश्वविद्यालयले स्वीकृत गरेको छ ।
डिनहरुका तर्फबाट कार्यकारी परिषद्रुमा दुईजना सदस्य नियुक्ति गर्नुपर्ने विश्वविद्यालयको प्रावधान छ । त्यसमध्ये व्यवस्थापन संकायका डिन प्रा डा खगेन्द्र आचार्य यसअघि नै नियुक्त भइसकेका छन् । बाँकी रहेको एक सिटका लागि विज्ञान तथा प्रविधि संकायमा डिन शुभनारायण पाठक, शिक्षा, कला तथा कानुन संकायमा डिन शम्भु कोइराला र चिकित्साशास्त्र संकायका डिन सिद्धार्थ कोइरालाबीचको द्वन्द्वले कार्यकारी परिषद्लाई पूर्णता दिन नसकेको स्रोतको दाबी छ ।
पाँचदिन अघि बसेको विश्वविद्यालयको २५ औं सभाले रित्त रहेको कार्यकारी परिषद् सदस्य नियुक्त गर्ने कार्यक्रम तय गरेको थियो । तर, प्रतिस्पर्धी तीन डिनको आपसी द्वन्द्वका कारण सभामा कार्यकारी सदस्य नियुक्त गर्ने विषयले प्रवेश नै नपाएको स्रोतको दाबी छ ।
दबाबका लागि तालाबन्दी
विश्वविद्यालयको २५ औं सभा बस्नु पहिला कार्यकारी परिषद्रुमा आफू सदस्य बन्न दबाबका लागि डिनद्वय पाठक र कोइरालाले विश्वविद्यालयमा तालाबन्दीको प्रतिस्पर्धा गरेका थिए । विश्वविद्यालय स्रोतका अनुसार सुरुमा शिक्षा, कला तथा कानुन संकायका डिन कोइरालाले आफना नजिकका विद्यार्थी संगठनलाई उक्साएर विश्वविद्यालयको केन्द्रीय कार्यालय, डिन र परीक्षा कार्यालयमा ताल लगाउन लगाएका थिए । विश्वविद्यालय पदाधिकारीले अनौपचारिक रुपमा उनलाई कार्यकारी परिषद्रुमा लैजना मौखिक सहमती गरेपछि कोइरालाले ताला खोल्न लगाएका थिए ।
पदाधिकारीले कोइरालालाई कार्यकारी परिषद्रुमा लैजाने मोखिक सहमति गरेको सुइँको पाठकले पाएपछि कोइरालाले ताला खोल्न लगाएलगत्तै उनले पनि आफू निकटका विद्यार्थी संगठनलाई साथमा लिएर केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको स्रोतको दाबी छ । पदाधिकारीहरुले उनलाई पनि परिषद् सदस्यमा लैजाने मौखिक सहमति गरेपछि ताला खोलिएको थियो ।  ’दुई डिनको हर्कत देखेपछि सभामा परिषद् सदस्य नियुक्ति गर्ने विषयले प्रवेश नै पाएन ।
पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकका सहोदर भाइ हुन’ स्रोतले भन्यो, ’गतवर्ष उनको कार्यकाल सकिन एकसाता बाँकी रहँदा आयुक्त राजनारायणको ठाडो आदेशमा विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले उनलाई विज्ञान तथा प्रविधि संकायको डिनमा पुन नियुक्त गरेका थिए ।’
पदाधिकारीको स्वार्थमा तालाबन्दी
पूर्वाञ्चल विश्वविद्यालयमा हुने अधिकांश तालाबन्दीमा पदाधिकारीको स्वार्थ लुक्ने गरेको स्रोतको दाबी छ । पदाधिकारीकै इशारामा विश्वविद्यालयमा तालाबन्दी हुने परम्परा नै बस्यो । आफू अनुकूल नभए पदाधिकारी नै आफू निकटका विद्यार्थी र कर्मचारीलाई रकम दिएर तालाबन्दी गर्न उक्साउँछन् । विश्वविद्यालय स्रोतले भन्यो, ’हरेक पदाधिकारीका आआफना विद्यार्थी र कर्मचारीको गुट छ । उनीहरुले विश्वविद्यालयमा आफूलाई लाभ नहुने स्थिति सिर्जनमा नहुने देखिएमा त्यही गुटलाई आर्थिक प्रलोभनमा पारेर तालाबन्दी गर्न लगाउने गरेको छ ।’
दुईवर्ष पहिला पूर्वाञ्चल विश्वविद्यालको केन्द्रीय कार्यालयमा एकैदिन दर्जन बढी विद्यार्थी र कर्मचारीका समूहले तालाबन्दी गरेका थिए । विश्वविद्यालयका एक प्राध्यापकका अनुसार पदाधिकारीले आफ्नो स्वार्थका लागि विद्यार्थीलाई तालाबन्दी गर्नु उक्साउन यो विश्वविद्यालयको परम्परा जस्तै बन्यो ।
आफ्नो आन्तरिक समस्याले विश्वविद्यालयको कार्यकारी परिषद्लाई पूर्णता दिन नसकेको उपकुलपति घनश्यामलाल दासको प्रतिक्रिया छ । कार्यकारी परिषद्को रिक्त सदस्य पदमा कुनै पनि डिनबीच द्वन्द्व नरहेको दाबी गर्दै दासले भने, ’आफ्नै समस्याका कारण सभामा सदस्य नियुक्तिको विषयलाई प्रवेश गराइन् ।’ उनले विश्वविद्यालयमा हुने गरेको तालाबन्दीमा कुनै पनि पदाधिकारीको हात नभएको दाबी गर्दै तालाबन्दीमा विद्यार्थी संगठनको मात्र संलग्नता रहेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »