माओवादीले चुनाव नजिते मधेशले पाएको उपलब्धि गुम्ने खतरा : अध्यक्ष प्रचण्ड

प्रकाशित समय 5:22:00 AM
सिरहा,२८ भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताएको छ । सिरहाको गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका, धनगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता, समावेशीता, धर्मनिरपेक्षता केबल माओवादीको ठूलो त्याग र बलिदानीबाट मात्र प्राप्त भएकोले त्यसलाई संस्थागत माओवादीले मात्र गर्न सक्ने दाबी गरे ।
संघीयता विरोधी, समावेशीता विरोधी र धर्मनिरपेक्षता विरोधी पार्टीलाई मत दिएर ठूलो बनाई नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धिहरु उल्टिने र पुनः ०४६।०४७ फर्किने खतरा रहेकोसमेत बताए । उनले भने , ‘संघीयता, समावेशीता, धर्मनिरपेक्षता ल्याउने परिवर्तनकारी माओवादीलाई मत दिने कि संघीयता विरोधी, समावेशीता विरोधी पार्टीलाई मत दिने हो, त्यसको साँचो अहिले मधेशी जनताको हातमा आएको छ, त्यसले यसलाई सही ढंगबाट सदुपयोग गर्नुहोला ।’ मधेशको सच्चा हिमायती आफ्नो पार्टी मात्र रहेको दाबी गर्दै अध्यक्ष प्रचण्डले माओवादीप्रति आकर्षण बढेकै कारण ठूलो संख्यामा मधेशी नेताहरुले आफ्नो पार्टी प्रवेश गरिरहेको समेत उल्लेख गरे ।
आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेशलाई विश्वासमा लिन र जायज माग सम्बोधन गर्न धेरै मेहनत गरेको बताउँदै अध्यक्ष प्रचण्डले मधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र चुनावमा ल्याउन ठूलो भूमिका निर्वाह गरेको दाबीसमेत गरे ।  तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको ठोकुवा गर्नुहुँदै अध्यक्ष प्रचण्डले मधेशी जनता आफूप्रति संवेदनशील रहेकोसमेत बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »